७ वैशाख २०८१ शुक्रबार
अर्थ

पेट्रोल नबेच्ने व्यवसायीको चेतावनी

काठमाडौं- नेपाल आयल निगमले बिक्रेतालाई कम परिमाण पेट्रोलियम पदार्थ दिएको भन्दै व्यवसायीले बिरोध जनाएका छन्। निगमका डिपोबाट लोड गरेर ल्याई पम्पमा खनाएर बिक्री गर्दा खरिदभन्दा कम तेल भई व्यवसायीलाई घाटा पुगेको उनीहरुको दाबी छ।

कम भएको तेलबापतको रकम निगमले व्यहोर्नु पर्ने पेट्रोल व्यवसायीको माग छ । माग सम्बोधन नभए असार २० गतेबाट उपत्यकामा पेट्रोल बिक्री नगर्ने पेट्रोलियम डिलर्स एसोसिएसन, बागमतीले शनिवार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चेतावनी दिएको हो।

लामो समयदेखि पटक–पटक ध्यानाकर्षण गराउँदा निगमले माग सुनुवाई नभएकाले बाध्य भएर बिक्री बन्द गर्ने घोषणा गरेको पेट्रोलियम डिलर्स एसोसिएसन, बागमतीका अध्यक्ष अच्युत बहादुर खड्काले बताए। ‘निगमकै रोबहरमा नापतौल तथा गुणस्तर विभागले गरेको अनुगमनमा चार हजार लिटरमा ९९ लिटरसम्म कम तेल भएको थियो,’ खड्काले भने, ‘माग सम्बोधन गरेकाले बाध्य भएर आन्दोलन गर्नु परेको हो ।’ संयुक्त अनुगमनको क्रममा चार हजार पेट्रोलियम पदार्थमा ८४ देखि ९९ लिटरसम्म कम भएको व्यवसायीको दाबी छ । प्रति चार हजार लिटरमा निगमले ३५ लिटर लसबापतको क्षतिपूर्ति दिए पनि अरु तेलको घाटा व्यवसायीले व्यहोर्दै आएको अध्यक्ष खड्काले बताए । २० गतेदेखि पेट्रोल बिक्री बन्द गर्ने र २३ गतेबाट सबै पम्प बन्द गर्ने व्यवसायीले चेतावनी दिएका छन् । राजधानीमा अहिले दैनिक करिब छ लाख लिटर पेट्रोल बिक्री हुने गरेको छ। व्यवसायीको आन्दोलनको बारेमा औपचारिक जानकारी नआएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए।

 

प्रकाशित: १० असार २०७४ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App