coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालगन्ज उपमहानगरमा तीन 'क्लस्टर' को गठजोड

नेपालगन्ज- २०६८ को जनसंख्यालाई आधार मान्ने हो भने नेपालगन्ज उपमहानगरपालिकामा तीनवटा महत्वपूर्ण समुदायगत 'क्लस्टर' (समूह) छन्– मधेसी, मुस्लिम र पहाडी। करिब ३१.९२ प्रतिशत मधेसी, २८.६१ प्रतिशत मुस्लिम र २८.२७ प्रतिशत पहाडी समुदायको बसोबास छ।

राजनीतिक विश्लेकषक डा. जनार्दन आचार्य मतदाताको अनुपात जनसंख्याकै आधारमा निर्धारण हुने हुँदा आगामी निर्वाचनमा तीनवटै क्लस्टरको 'गठजोड' निर्णायक हुने बताउँछन्। 'यी तीनमध्ये कुनै एक क्लस्टर एउटा उम्मेदवारप्रति बढी प्रभावित भइदियो भने परिणाम त्यतै ढल्किन सक्छ,' उनी भन्छन्, 'दलप्रति प्रतिबद्ध नभएका (नन–पोलिटिकल) मतदाता धेरै रहेको नेपालगन्जमा यस्तो नहोला भन्न पनि सकिन्न।'

नेपालगन्जको चुनावी मैदानमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। संघीय समाजवादी फोरम पाँचौं महŒवपूर्ण शक्ति हो, जसले यहाँको परिणामलाई केही हदसम्म प्रभावित पार्ने ठानिएको छ। डा. आचार्यका अनुसार मतदाताले मेयर उम्मेदवारलाई साम्प्रदायिक आँखाबाट हेरेमा त्यसको प्रभाव परिणाममा पर्नेछ।

विगतका चुनावमा प्रायः निर्णायक हुने गरेको मुस्लिम मत यसपटक विभाजित हुने आकलन गरिएको छ। एमालेबाट समसुद्धिन सिद्धिकी र संघीय समाजवादी फोरमबाट कमरुद्धिन राई उक्त समुदायका प्रभावशाली उम्मेदवार हुन्। मुस्लिम समुदायको बाक्लो बसोबास रहेको त्रिभुवनचोक–एकलैनी क्षेत्रका समसुद्धिनका लागि कमरुद्धिन 'प्रतिकूल' साबित हुने ठानिएको छ। मुस्लिम बहुल जयसपुर, भवानियापुर र हिरमिनियामा कमरुद्धिनको प्रभाव राम्रो छ। कमरुद्धिन स्वयं र पूर्वमन्त्री एवं संघीय समाजवादी फोरमका नेता इस्तियाक राई सोही क्षेत्रको हुनुले फोरमलाई यसको फाइदा पुग्ने राजनीतिक विश्लेषक एवं महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गणेश रेग्मी बताउँछन्। 'तुलनात्मक रूपमा 'एक ढिक्का' हुने भनेको मुस्लिम भोट नै हो,' उनी भन्छन्, 'तर यसपटक आफ्नो समुदायमा राम्रै प्रभाव रहेका दुईजना उम्मेदवार भएपछि यसले मतदातालाई दोधारमा पार्न सक्छ, उनीहरू विभाजित हुन सक्छन्।'

समसुद्धिन नेपालगन्जका पूर्वउपमेयर र २०६४ को निर्वाचनमा सभासद् उम्मेदवार हुन्। कमरुद्धिन पार्टीका जिल्ला अध्यक्ष हुन्। मुस्लिम समुदायका अगुवा मुस्तफा अहसन कुरैसी भने अहिले मुस्लिम समुदाय पनि राजनीतिक रूपमा प्रतिबद्ध हुन थालेको बताउँछन्। 'पहिलेजस्तो व्यक्तिगत प्रभावमा परेर भोट खस्छजस्तो मलाई लाग्दैन,' उनी भन्छन्, 'अहिले त धेरै मान्छे पार्टी चिन्ने भइसकेका छन्।'

पहाडी समुदायका पनि मेयरमा दुई उम्मेदवार छन्। नेपालगन्जका पूर्वमेयरसमेत रहेका राप्रपाका डा. धवलशमशेर राणा र माओवादी केन्द्रका दामोदर आचार्य दुवै बलिया दाबेदार हुन्। तुलनात्मक रूपमा पहाडी समुदायका मतदाता बढी कट्टर मानिन्छन्। उनीहरू राजनीतिक विचार र उम्मेदवारको व्यक्तित्वलाई बढी प्राथमिकता दिन्छन्। 'पहाडी समुदायको भएकै कारण कसैले पनि अस्वाभाविक रूपमा आफ्नो पक्षमा मत आकर्षित गर्ने सम्भावना देखिँदैन,' नेपालगन्जको राजनीतिलाई नजिकबाट नियालेका पत्रकार तुला अधिकारी भन्छन्, 'नेपालगन्जको राजनीतिमा पहाडी समुदाय निर्णायक होइन, बरु स्थिर राजनीतिको पर्याय हो।'

२०५४ मा एमालेका तर्फबाट मेयर बनेका धवलशमशेर नेपालगन्जमा राजनीतिक 'ब्रान्ड' का रूपमा स्थापित छन्। उनले यसअघि चारवटा चुनाव लडे, तर फरक–फरक पार्टीबाट। उनको व्यक्तित्वलाई हेरेर दलले पत्याउने र मतदाताले पनि रुचाउने भएकाले नेपालगन्जमा राप्रपाको सांगठनिक अवस्था कस्तो छ भन्नेले अर्थ नराख्ने उनका समकर्थक बताउँछन्। माओवादीबाट २०७० को संविधानसभा निर्वाचन लडेका आचार्य चलाख र रणनीति निर्माणमा दख्खल भएका नेता मानिन्छन्। उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन्। नयाँ शक्ति पार्टीबाट मेयर उम्मेदवार बनेकी पहाडी समुदायकै जयकुमारी खड्का केही दिनअघि माओवादी केन्द्र प्रवेश गरेपछि यसले आचार्यलाई थप उत्साहित बनाएको छ।

साबिकका ११ गाविस गाभिएपछि बनेको नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा ठूलो क्लस्टर हो– मधेसी समुदाय। अन्य प्रमुख चार दलमा यो समुदायबाट मेयर उम्मेदवार नहुनु कांग्रेसका डा. सुरेशकुमार कनोडियाका लागि उत्साहपूर्ण अवस्था हो। डा. आचार्य मधेसी समुदाय साम्प्रदायिक भावनाबाट बढी प्रभावित भयो भने यसले कनोडियालाई फाइदा पुग्ने बताउँछन्। 'नेपालगन्जको राजनीतिमा तुलनात्मक रूपमा प्रभावशाली पार्टीको उम्मेदवार हुनु र मधेसी समुदायबाट अर्को बलियो प्रतिस्पर्धी नहुनुको फाइदा उनलाई हुने देखिन्छ,' डा. आचार्य भन्छन्, 'तैपनि मधेसी मत कसरी प्रभावित हुन्छ, अहिल्यै अनुमान गर्न सकिँदैन।'

२०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक सभासद् उम्मेदवार रहेका कनोडिया नेपालगन्ज मेडिकल कलेजका प्रबन्धनिर्देशक हुन्।

'राजपा' मतमा आँखा

राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी नभए पनि नेपालगन्ज उपमहानगरपालिकामा उक्त दलका समर्थकको मतमा सबै उम्मेदवारका आँखा गडेका छन्। नेपालगन्जमा पार्टीका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता र सहमहामन्त्री पशुपतिदयाल मिश्र छन्। दुवैजना निर्वाचनको विरोधमा खरो उत्रिए पनि अन्तिम अवस्थामा मतदानको लाइनमा लागेका आफ्ना समर्थकलाई 'संकेत' दिन बाध्य हुने उनी निकटको भनाइ छ।

२०४९ मा कांग्रेसबाट नेपालगन्जको मेयर बनेका उपाध्यक्ष गुप्ता नेपालगन्ज मेडिकल कलेजका कानुनी सल्लाहकार र डा. कनोडियाका पुराना मित्र हुन्। उनका छोरा मेडिकल कलेजमै कार्यरत छन्। 'यस्तो अवस्थामा डा. कनोडियाले गुप्तालाई धर्मसंकटमा पार्न सक्छन्,' राजनीतिक विश्लेषक रेग्मी भन्छन्, 'राजपाको तर्फबाट उम्मेदवार नभएको अवस्थामा यसले उनलाई गम्भीर भएर सोच्न पनि बाध्य बनाउनेछ।'

यस्तो अवस्थामा पार्टीको राजनीतिक वृत्तमा पकड बनाएका मिश्रको 'संकेत' कता जान्छ भन्ने चासोको विषय हो। कांग्रेस पृष्ठभूमिका हिरिमिनिया निवासी मिश्र राप्रपा हुँदै राजपा राजनीतिमा आइपुगेका हुन्। 'हाम्रा नेताहरूलाई उम्मेदवारले पुरानो नाता–सम्बन्ध पहिल्याउँदै सहयोगका लागि आग्रह गरिरहेका छन्,' नेपालगन्जका एक राजपा कार्यकर्ताले भने, 'आखिर भोट हाल्नैपर्ने भयो भने नेताको आदेश मागेर कसै न कसैलाई त हाल्नैपर्ला।'

प्रकाशित: ११ असार २०७४ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App