१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल-भारत सीमा ७२ घन्टा बन्द हुने

दार्चुला- दार्चुलामा बसेको  नेपाल भारत सीमा समन्वय बैठकले स्थानीय तह निर्वाचन अवधिमा ७२ घन्टा  सीमानाका बन्द गर्ने निर्णय गरेको छ। नेपालका दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको बैठक शुक्रबार दार्चुलाको खलंगामा भएको हो।

बैठकले नेपालमा आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको समयमा भारतको पिथौरागढ जिल्लासित दार्चुला र बैतडी जिल्लाका सिमाना जोडिएका सबै नाका असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म बन्द गर्ने निर्णय भएको बैतडीका प्रमुख  जिल्ला अधिकारी तुलसीराम पौडेलले  बताए। 'बैठकमा सीमापार अपराध, अवैध वस्तुको व्यापार, मानव बेचबिखन, अवैध सिकार, पारस्परिक सुरक्षा, जाली नोट प्रचलन र  सीमा क्षेत्रमा हुने आतंककारी क्रियाकलाप आदि रोक्नेबारे छलफल भएको छ’, प्रजिअ पौडेलले भने। बैठकमा भन्सार नाकाबाहेक अन्य मार्गबाट व्यापारिक प्रयोजनका सामान ओसारपसार पूर्ण रुपमा बन्द गर्न दुवै देशका अधिकारी सहमत भएका छन्। मानव बेचबिखन उल्लेख्य रूपमा नभए पनि दुवै देशका अधिकारीले यसबारे चनाखो हुनुपर्ने पनि बैठकमा औंल्याइएको छ।

बैठकमा भारतका तर्फबाट  पिथौरागढ जिल्लाका जिला अधिकारी (डिएम) सी रवीशंकर, धारचुला तहसिलका एसडिएम राजकुमार पाण्डे, पिथौरागढका एसपी अञ्जय जोशीलगायत सुरक्षा अधिकारीको सहभागिता थियो। नेपालका तर्फबाट प्रजिअ पौडेलसँगै दुर्गा दल गुल्मका गुल्मपति अर्जुन अधिकारी, प्रहरीका डिएसपी केदार खनाल, सशस्त्र प्रहरीका डिएसपी दिपेन्द्र कँुवर, बैतडी जिल्लाका सुरक्षा अधिकारीको समेत सहभागिता  थियो।

प्रकाशित: ११ असार २०७४ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App