८ वैशाख २०८१ शनिबार
राजनीति

डडेलधुरामा कांग्रेसलाई आफ्नैबाट चुनौती

जोगबुढा (डडेलधुरा)- पार्टीको आन्तरिक कलहका कारण नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तह निर्वाचनमा आफ्नै क्षेत्रमा अप्ठेरोमा परेका छन्। मतदानको दिन आउनै लाग्दा गृहजिल्ला डडेलधुराका साथै कैलाली र कञ्चनपुरमा समेत टिकट वितरणमा देखिएको असन्तुष्टि साम्य हुन सकेको छैन।

आन्तरिक विवाद समाधान हुन नसक्दा देउवालाई निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न चुनौतीपूर्ण बन्दै गएको छ।

संसद्मा ठूलो दल भए पनि पहिलो चरणको निर्वाचनमा दोस्रो बनेको कांग्रेसले असार १४ गते हुने दोस्रो चरण निर्वाचनबाट परिणाम आफ्नो पक्षमा बढी आउने आकलन गरेको छ। टिकट विरणप्रति असन्तुष्टि जनाउँदै स्थानीय नेताहरू नै प्रचारमा लागेका छैनन्।

डडेलधुरामा जिल्ला सभापति कर्ण मल्ल र सभापति देउवा पत्नी आरजु राणाबीच दूरी बढ्दै जाँदा त्यसको असर टिकट वितरणमा परेको देखिएको छ। जिल्ला सभापति मल्लको विरुद्धमा रहेकी आरजु स्थानीय तह निर्वाचनमा टिकट वितरणमा उनै हाबी हुँदा पार्टीमा लामो समय बिताएका कार्यकर्ता पाखा लागेको गुनासो छ। बाहिर देखिँदा जिल्ला सभापति कर्ण र नेता लोकराज भट्टबीच विवाद रहेजस्तो देखिएको छ।

पार्टीको प्रभाव क्षेत्र रहेका नगर र गाउँपालिकामा प्रभावशालीभन्दा नवआगन्तुकलाई उम्मेदवार बनाइएको कार्यकर्ताको गुनासो छ। टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै तारीसिंह बोहराले पार्टी नै छाडेका छन्। उनलाई देउवाको विश्वासपात्रका रुपमा हेर्ने गरिएको थियो। दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेलधुराको भागेश्वर गाउँपालिकामा कौशिला भट्टलाई प्रमुखमा अघि सारेपछि केहीले पार्टी नै छाडिसकेका छन्।

अजयमेरु गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका कमलसिंह भाटलाई उम्मेदवार बनाएपछि उपसभापति करुणाकर भट्ट र नेता किश्वर बिष्टले प्रमुख र उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन्। कांग्रेस नेताकार्यकर्ता उनीहरूको प्रचारमा बढी जुटेको स्थानीय बताउँछन्। तर टिकट वितरणमा असन्तुष्टि जनाउँदै परेका अधिकांश बागीको उम्मेदवारी भने फिर्ता भएको छ। जिल्लामा अम्मरगढी, पर्शुराम नगरपालिका र आलीताल, अजयमेरु, गन्यामधुरा, नवदुर्गा, भागेश्वरी गाउँपालिका छन्।

२०४८ सालदेखि देउवाले डडेलधुराबाट निरन्तर चुनाव जित्दै आए पनि स्थानीय निर्वाचनमा देखिएको आन्तरिक कलहले परिणाम उल्टो आउनसक्ने नेताहरू नै बताउँछन्। आन्तरिक विवादका कारण आफ्नो प्रभाव क्षेत्रमा असर पर्ने देखिएपछि देउवा शुक्रबारदेखि कैलालीको धनगढीमा छन्। देउवा कैलाली, कञ्चनपुरका विभिन्न चुनावी सभालाई सम्बोधन गरी आइतबार गृहनगर डलेलधुरा पुग्नेछन्। उनले यहींबाट मतदान गर्नेछन्। गृहजिल्लामा रहँदा उनले पार्टी विवाद मिलाउन पहल गर्नेछन्। आन्तरिक विवाद बढ्दै गएपछि देउवाले काठमाडौं रहेका जिल्ला सभापति कर्णलाई शुक्रबारसँगै लिएर आएका हुन्।

कैलाली पनि उम्मेदवारी वितरणलाई लिएर कांग्रेसभित्र तीव्र असन्तुष्टि छ। धनगढी उपमहानगरपालिकामा २८ हजार मतदाता रहेको थारु समुदायलाई कांग्रेसले नसमेटेको गुनासो छ। प्रमुखका दावेदार कृष्ण महरा टिक नपाएपछि चुनावी प्रचारमा निस्केका छैनन्।  थारु बाहुल्य भजनीमा पहाडी समुदायबाट उम्मेदवार बनाएपछि क्षेत्रीय सभापति, पूर्वक्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधिहरूले राजीनामा दिएका छन्। गगांराम चौधरी र रुद्र जोशीले प्रमुख र उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन्। कांग्रेसका पुराना नेताउनीहरूको पक्षमा देखिएका छन्। घोडाघोडीमा पनि असन्तुष्टि छ। गोदावरी नागरपालिकामा पनि उम्मेदवारी छनोटलाई लिएर असन्तुष्टि बढेको छ। कञ्चनपुरमा पनि कांग्रेसभित्र असन्तुष्टि छ। नेता एनपी साउद र रमेश लेखकबीच जिल्लामा रहेको आन्तरिक विवादको प्रभाव टिकट वितरण र प्रचारमा पनि देखिएको छ। साउदको क्षेत्रमा लेखकनिकट र लेखकको क्षेत्रमा साउद निकट नेतालाई कांग्रेसले अघि सारेको छ।  

देउवाले डडेलधुराबाहेक कञ्चनपुर र कैलालीलाई पनि आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आएका छन्। देउवा पहिलो संविधानसभा निर्वाचनमा डडेलधुरा र कञ्चनपुर तथा दोस्रो संविधानसभा निर्वाचनमा डडेलधुरा र कैलालीबाट निर्वाचित भएका थिए।

यसैबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै संविधान कार्यान्वयन सम्भव भएको बताएका छन्। डोटी कांग्रेसद्वारा शनिबार जोरायल गाउँपालिका–२ बुडरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान निर्माण र जारी गर्दाको नेतृत्व कांग्रेसले गरेको र संविधान कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै काँधमा रहेको भन्दै  कांग्रेसले जिते जनताका सबै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सडक, बिजुली, विद्यालय, खानेपानीजस्ता सबै संरचना बनाइने पनि बताए।

प्रधानमन्त्री देउवा कञ्चनपुरका कार्यक्रमपछि शनिबार अपराह्न बुडर आएका थिए। बुडरको चुनावी सभापछि उनी शनिबारै डडेल्धुराको परशुराम नगरपालिकाको जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गन त्यसतर्फ लागेका छन्। 

प्रकाशित: ११ असार २०७४ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App