८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी अझै बेपत्ता

चितवन- निर्माणधीन नाराययणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा आएको पहिरोमा पुरिएर हराइरहेका दुई प्रहरी अझै बेपत्ता छन्। चितवन प्रहरीका अनुसार बिहीबार मध्यरातपछि सो सडक खण्डको कालीखोलामा पहिरो जाँदा चारजना प्रहरी रहेको गाडी  पुरिएको थियो। दुईजनाको शव शुक्रबार बिहान फेला परेको थियो।

'गाडी र बाँकी प्रहरी त्रिशूलीमा पुगेको आशंकामा हामीले शनिबार दिनभर नदीमा खोज्यौं। तर साँझसम्म पनि केही पत्ता लागेन,' इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले भने। बिहीबार राति ११ बजे कालीखोलाभन्दा केही पर गएको पहिरो खुलाएर फर्कने क्रममा राति एक बजे प्रहरीको गाडी अर्को पहिरोमा परेको थियो।

चितवनका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार टोलीको नेतृत्व गरेका प्रहरी सहायक निरीक्षक (असई) निश्चलकुमार तमाङ र जवान दीपककुमार मास्केको शव शुक्रबार बिहान फेला परेको हो। पिकअप भ्यानसँगै त्यसमा रहेका अन्य दुईजना प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको अवस्था अज्ञात छ।

 भ्यानमा एउटा हतकडी र दुईवटा सञ्चारसेट पनि थिए। प्रहरीको भ्यानसँगै ना ५ ख ७८२७ नम्बरको मालबहाक ट्रक पनि पहिरोमा परेको थियो। सो ट्रक त्रिशूली नदी किनारमा पुगेको छ। चालक रामकुमार लामाको अवस्था सामान्य छ। सहचालक सानु ब्लोन घाइते छन्।

सडक खण्डको चार किलो भन्ने ठाउँमा  बिहीबार राति ११ बजे पहिरो गएको सूचना आएपछि इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको महेन्द्र पिकअप भ्यानमा चढेर प्रहरीहरू पहिरो खुलाउन गएका थिए। पहिरो सफा गरेर एक बजे मुग्लिन फर्कंदै गर्दा अर्कै पहिरोमा परेर उनीहरू चढेको गाडी बेपत्ता भएको हो।

राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाउने काम सुरु भएको छ। सम्झौता भएको दुई वर्षभित्र काम सक्ने गरेर सन् २०१५ अप्रिलमा विस्तार कार्य सुरु भएको हो। अहिलेसम्म निर्माण कार्य आधा मात्रै पूरा भएको छ।

यसअघि गत चैत २१ गते सोही सडक खण्डको घुमाउनेमा सुक्खा पहिरो खस्दा दुईजनाको ज्यान गएको थियो। वर्षायाम सुरु भएसँगै पहिरोको समस्या थपिएकोे छ। सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काटिएको छ। त्यही पहाड काटेको ठाउँमा पहिरो खस्थ थालेको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर शिव खनालका अनुसार पहिरोको समस्या गत वर्षको वर्षायाममा पनि थियो। पहिरोका कारण दिनभर गाडी रोकिएर यात्रुले हैरानी बेहोरे पनि गत वर्षको वर्षायाममा ज्यानै जाने घटना नभएको इन्जिनियर खनालले बताए। 

प्रकाशित: ११ असार २०७४ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App