coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरो हटाइयो, नारायणगढ मुग्लिन सडकमा गाडी चल्न थाले

चितवन- निर्माणधीन नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार राति ठाउँ ठाउँमा आएको पहिरो हटाएका कारण अहिले गाडी चल्न सुरु भएको छ। नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बिहान आठ बजेपछि सो सडकमा पहिरो हटाएर गाडी चल्न सुरु भएको हो। नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला, टोपो खोला र चार किलोमा हिजो राति आठ बजे पहिरो गएको उनले जानकारी दिए।

'पहिरो हटाएपछि गाडी चल्न सुरु भएको छ। हिजोबाटै रोकिएका कारण गाडी धेरै नै छन्। विस्तारै चली रहेका छन्' खनालले भने। पहिरोले दुख दिन थालेपछि पुर्वबाट आउने गाडीहरु हेटोंडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं जान थालेका छन्। मझौला गाडीहरु मात्रै चल्न सक्ने सो सडकमा पनि गाडीको अत्याधिक चापले जाम हुने गरेको खनालले बताए।

सो क्षेत्रममा बिहीबार राति मात्रै पहिरो गएर प्रहरीको भ्यानसमेत पुरिएको थियो। प्रहरीको भ्यान र त्यसमा रहेका चारजनामध्ये दुईजना प्रहरी हराइ रहेका छन्। दुईजना प्रहरीको शब फेला परेको थियो। त्यो दिन बन्द यातायात २० घण्टापछि मात्रै खुलेको थियो। यसअघि असार ३ गते शनिबार सोही क्षेत्रमा पहिरो जाँदा नौ घण्टा बाटो बन्द भएको थियो। असार सात गते पनि पहिरो खसेर दुख दिएको थियो।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ। सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा नै पहिरो गएर दुख दिने गरेको हो। राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको सो सडक खण्डमा दिनहु १० हजारसम्म गाडीहरु ओहर दोहर गर्छन्।

पहिरोले पटक पटक दुख्ख दिदा यात्रुहरु हैरान भएका छन्। ज्यान कै जोखिम बढ्न थालेपछि सो सडक खण्ड भएर यात्रा गर्नु त्रासको विषय बन्न लागेको छ। सो सडक जम्मा ३६ किलो मिटर लामो छ। जसमध्ये ३३ किलो मिटरमा मात्रै विस्तारको काम भएको छ। विस्तारको काम सुस्त छ। सडक निर्माणको लागि सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो। सम्झौता भएको दुई वर्षभित्र काम सक्ने सर्त हो।

सम्झौता हुँदाका बेला तय भएको समय अवधि सकिएको छ तर आधा काम पनि पुरा भएको छैन। निर्माण पुरा हुने अवधि थप गरेर आउँदो डिसेम्बरसम्म पुर्‍याइएको छ। तर त्यो बेलामा पनि काम सकिने सम्भावना छैन। राजधानी जोड्ने मुख्य मार्गमा भएको यो ढिला सुस्तिले धेरैलाई पिरोलि रहेको छ। बाटो बनाउन सुरु भएपछि पहिरोमा परेर चारजनाको निधन भएको छ दुईजना बेपत्ता छन्।

प्रकाशित: ११ असार २०७४ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App