८ वैशाख २०८१ शनिबार
अर्थ

भारतीय रेल्वेले रक्साेलमा ६ गुणा जरिवाना बढायाे

वीरगन्ज – वीरगन्ज पथलैया करिडोरमा रहेका दर्जन सिमेन्ट उद्योगले कच्चा पदार्थ क्लिंकर, जिप्सम, फ्लाई एस र स्लेग रेलमार्फत आयात गर्ने थलो रक्सोल रेल स्टेसनमा लाग्ने जरिवाना ६ गुणा बढेको छ । १० दिनको लागि बढाइएको नयाँ जरिवाना दरले सिमेन्टको उत्पादन लागत बढाउने देखिएको छ । 

एक र्‍याकअर्थात ५९ बग्गी कच्चा पदार्थ २४ घन्टा रक्सोलमा बिलम्ब हुँदा नयाँ जरिवाना दर अनुसार १० लाख ७९ हजार भारतीय रुपैयाँ जरिवाना बुझाउनु पर्छ । यो भनेको नेपाली १७ लाख २६ हजार हो । रेलको एक  र्‍याकमा तीन हजार आठ सय मेट्रिक टन कच्चा पदार्थ हुन्छ । यसरी एक दिन ढिलो हुँदा प्रतिटन चार सय ५४ रुपैयाँ कच्चा पदार्थमाथि अतिरिक्त भार पर्छ । सिमेन्ट बोराको हिसाब गर्दा यसले प्रतिबोरा २२ रुपैयाँ ७१ पैसा अतिरिक्त भार पर्न जान्छ। 

रक्सौलमा नेपालका लागि दैनिक तीन र्‍याकमा मालसामान आउने गरेको आयातकर्ता बताउँछन् । उनीहरुको अनुसार तोकिएको समयभित्र त्यो अनलोड गरेर भित्र्याउन असम्भव छ । र्‍याक कुनै पनि बेला रक्सोलमा आइपुग्न सक्छ, नाका राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द नै रहन्छ । ‘त्यसमाथि रक्सोलको रेल गोदाम यार्ड पानी, हिलोले भरिएर काम सुस्त हुने गरेको छ,’ शुभश्री जगदम्बा सिमेन्टका सञ्चालक राजेश अग्रवालले भने, ‘हामीले कच्चा पदार्थमा कयौं कठिनाइको सामना गर्दै आएका थियौं, अहिले ६ गुणा जरिवाना पनि थपियो ।’ 

रक्सौलस्थित रेल्वे गोदाममा शनिबारदेखि जरिवाना बढाएको हो । मध्यपूर्व रेल समस्तीपुर क्षेत्रीय कार्यालयले यही २२ जुनमा रेल्वेको रक्सौल माल अधीक्षकलाई पत्राचार गरी १० दिनका लागि जरिवाना बढाउन निर्देशन दिएको छ । राष्ट्रिय जनता पार्टी नेपालले दुईपटक गरी पाँच दिन गरेको बन्दले रक्सोल रेलको माल गोदाम यार्डमा नेपाली आयातकर्ताको कच्चा पदार्थ थन्किएर बसेपछि रेल्वेले जरिवाना लगाएको हो । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले रेल्वेले अनलोडमा लाग्ने बिलम्ब शुल्क  बढाएकोमा चिन्ता जनाए । बन्दले ढुवानी ठप्प भएपछि रक्सोल यार्ड र अन्य स्थानमा गरी करीब ४६ हजार मेट्रिक टन औद्योगिक कच्चा पदार्थ थुप्रिएको आयातकर्ता माधव राजपालले बताए । 

रेल्वेले यार्डमा आएको नयाँ र्‍याक अनलोडका लागि नौ घन्टा र गोदामबाट हटाउन १२ घन्टा समय दिने गरेको छ । समयभित्र मालसामान हटाउन नसके एउटा बग्गीको प्रतिघन्टा एक सय ५० भारतीय रुपैयाँ जरिवाना लिने गरेको छ । रेल्वेको परिपत्र अनुसार तोकिएको समयभन्दा दुई घन्टासम्म ढिलाइ भएमा सामान्य दरमै र त्यसभन्दा बढी समय भए बढ्दो क्रममा ६ गुणासम्म जरिवाना छ । दुईदेखि चार घन्टासम्म दोब्बर, चार घन्टादेखि ६ घन्टासम्म चार गुणा र ६ घन्टादेखि बढीमा ६ गुणा जरिवाना लिने उल्लेख छ । यस दरले तोकिएको समयपछि एक र्‍याक मालसामान २४ घन्टा रोकियो भने १८ हजार तीन सय भारतीय रुपैयाँ तिनुपर्ने हुन्छ । ५९  र्‍याकमा यो रकम १० लाख ७९ हजार अर्थात १७ लाख २६ हजार हुन जान्छ । रक्सोलमा रेल्वेले नेपाली आयातकर्तालाई लक्ष्य गरी बेलाबेलामा यस्ता प्रावधान थपिदिने गरे पनि नेपालतर्फबाट पहल गरिदिने निकाय नभएको उनीहरुको गुनासो छ । 

प्रकाशित: ११ असार २०७४ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App