coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सम्पत्ति शुद्धीकरणमा गम्भीर हुन आवश्यक

चितवन – कानुनले बन्देज लगाएका काम गरेर कमाएको कालो धन सहकारी संस्थामा राखेर सम्पत्ति शुद्धीकरण गर्ने खतरा कायमै रहेको भन्दै वित्तीय क्षेत्रका विज्ञहरुले त्यसलाई रोक्न सचेत हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी संघ लिमिटेडले शनिबार भरतपुरमा चितवनका सहकारी संस्थाका व्यवस्थापक र पदाधिकारीका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उक्त विषयमा चर्चा भएको हो ।

सम्पत्ति शुद्धीकरण अपराध भएकाले यसका बारेमा सबै सहकारीकर्मी जानकार हुनुपर्ने नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिकुमार नेपालले बताए । ‘कानुनले बन्देज गरेका काम गरेर कमाएको धन कालो धन हो । त्यो कालोधनलाई कसैले सेतो अर्थात वैधानिक बनाउने कोसिस गर्छ भने त्यो सम्पत्ति शुद्धीकरण हो । यो भनेको अपराध हो,’ उपनिर्देशक नेपालले भने।

बैंक, वित्तीय संस्था र सहकारीमा आउने पैसाको स्रोत खोज्ने र निक्षेप राख्ने व्यक्तिको पहिचान खुलाउन थाल्ने हो भने सम्पत्ति शुद्धीकरण गर्ने क्रम रोकिने नेपालले बताए । सम्पत्ति शुद्धीकरण निवारण ऐनले वित्तीय संस्थाहरुलाई ग्राहकको पहिचान माग्ने, पहिचानलाई पुष्टि गर्ने कागजपत्र संकलन गर्ने अधिकार दिएको उनले बताए । पहिचान नखुलेको र पहिचान पुष्टि नहुने ग्राहकसँग सम्बन्ध राख्न ऐनले रोक लगाएको छ ।

‘तपाइँले सहकारी संस्थामा यो नियमलाई कडाइ गर्नुस् । यसो भएमा मान्छे घुस खान हच्किन्छ । पैसाका लागि अनेक गैरकानुनी काम गर्न बन्द गर्छ । यो ऐन नियम सानो कुराले आएको होइन । बढ्दो अपराधलाई रोक्न आएको हो,’ उपनिर्देशक नेपालले भने । पैसा जे जसरी कमाए पनि वित्तीय संस्थामा ल्याएर राख्ने परिपाटी भएका कारण अपराध रोक्न बैंक तथा सहकारी सहयोगी हुने अवस्था आएको उनले बताए ।

‘पैसा कमाएपछि राख्न बैंक बित्तीय संस्थामा नआइ हुन्न । यी निकाय बाउआमा भन्दा पनि सुरक्षित मानिएका छन् । अन्यत्र जहाँ पायो त्यही राखेर कमाएको धन सुरक्षित हुँदैन । बैंक वित्तीय निकायले कमाइको स्रोत खोज्न थाले, व्यक्तिको पहिचान र विवरण राख्न थाले भने गैरकानुनी आर्जन रोकिन्छ,’ नेपालले भने ।  गैरकानुनी रुपमा आर्जन भएको धन आतंकवाद जस्ता खतरनाक अपराधमा समेत उपयोग हुने उनले बताए ।

राष्ट्रिय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले देशभर ३४ हजारभन्दा बढी सहकारी संस्थामा ६० लाख ५७ हजार सेयर सदस्य रहेको जानकारी दिए । ‘त्यसैले सम्पत्ति शुद्धीकरण निवारणको विषयमा हामी गम्भीर बन्नुपर्ने अवस्था आएको छ । किनकि सहकारी पनि देशको अर्थतन्त्रको मुख्य आधार बनेको छ,’ वरिष्ठ उपाध्यक्ष कँडेलले भने ।

जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टीकाराम भट्टराईले चितवनमा सात सयको हाराहारीमा सहकारी खुलेको जानकारी दिए । ‘यहाँ पनि सहकारीको संख्या बढ्दो क्रममा छ । त्यसैले सम्पत्ति शुद्धीकरणका विषयमा जानकारी दिएर वित्तीय अपराध रोक्न हाम्रो भूमिका बढाउनु आवश्यक छ,’ उनले भने ।

सम्पत्ति शुद्धीकरण निवारणका विषयमा चितवनका सहकारीका लागि आयोजित कार्यक्रम । 

प्रकाशित: ११ असार २०७४ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App