८ वैशाख २०८१ शनिबार
अर्थ

राजमार्गका होटलमा मनपरी

धादिङ – एक त कलंकी–नागढुंगा–नौबिसे सडक खण्डमा घन्टौं जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुव्र्यवहार । होटल सञ्चालकहरुले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ । 

धादिङमा पर्ने राजमार्गका होटलमा सञ्चालकको मनपरी रोक्ने बहानामा पटक–पटक अनुगमन हुन्छ । तर प्रभाव खासै देखिएको छैन । यात्रुले खानामा अखाद्य सामग्री मिसाएको गुनासोमात्र गरेका छैनन्, उनीहरुले खाना सफा भएन भन्दा होटलका सञ्चालक र मजदुरले दुव्र्यवहार गर्नुका साथै धम्क्याउने गरेको बताए । 

केही दिनअघि सञ्चारकर्मी अर्जुन श्रेष्ठले चिकेन चाउमिनमा कपालको रौं र कमिला फेला पारे । गल्छीको कान्तिपुर होटलविरुद्ध उनले जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरी गरेका छन् । श्रेष्ठले भने, ‘एक सय २० रुपैयाँ तिरेर चिकेन चाउमिन खान लाग्दा रौं र टाउके कमिला भेटें, चाउमिन फिर्ता गरेर मःम माग्दा अचार सढेर अमिलो थियो, होटलवालालाई भन्दा अरु सबैले यही खाएका छन् तिमी होटलमा हल्ला नगर भनेर धम्क्याए ।’ 

काठमाडौंबाट चितवन जाँदै गरेका एसबी बस्नेतले बेनिघाटस्थित एक होटलमा मःम खान पहिला पैसा तिरे । पैसा तिरेको चिट लगेर भान्सामा बुझाए । केही बेरमा मःम आयो । तर मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो । उनले भने, ‘होटलवालाले उल्टै थर्काउँदो रहेछ ।’

‘खानुभन्दा पहिले नै पैसा तिरेर खान लागेको मःम दुई डल्लो पनि खान सकिएन, होटलवालासँग बोलेकी कुटुम्ला जस्तो गर्दाे रहेछ । हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र जाऊ भन्दै उल्टै थर्काए,’ उनले भने । 

यात्रुहरु होटलमा पसेर खानेकुरा खाँदा आफूहरु ठगिनु परेको, खानाबारे सोधपुछ गर्दा उल्टै दुव्र्यवहार सहनुपरेको बस्नेतले बताउँछन् । चालक र होटल मालिकको मिलेमतोमा यात्रु ठग्ने गरेको उनले गुनासो गरे । 

‘सधैं यहीँ बाटो हिडिराख्नुपर्छ, माइक्रो यहीँ रोक्छ । होटलवालालाई महँगो भयो ? खाना चिसो रहेछ ? भनेर सोध्नसमेत हुँदैन खानाको साटो गाली खाइन्छ, बोल्नै पाइँदैन । नखाए के खाने,’ पोखराका सुरेन्द्र लामिछानेले भने । पृथ्वी राजमार्गको सिम्लेस्थित नमस्ते नेपाल होटलले सादा खानाको एक सय ५० रुपैयाँ मूल्य पर्ने भनेर भित्तामा सूचना टाँसेको छ, तर एक सय ८० रुपैयाँ लिइरहेको होटल सञ्चालक नै स्वीकार गर्छन् । प्रायः जसो धादिङ–काठमाडौं चल्ने गाडी रोकिने गरेको साथीभाइ खाजाघरले एक प्लेट चनाको ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ । 

पृथ्वी राजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको भेटिएको छ । राजमार्गका होटलले दूषित खाने कुरा खुवाउने गरेको गुनासो आए पनि अनुगमनमा खटिएको जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले भने त्यस्तो नभेटिएको प्रतिक्रिया दिएको छ । बुधबारको अनुगमनमा संलग्न लिलाधर अधिकारीले भने, ‘अहिले सरसफाइ र मूल्यलाई प्राथमिकता दिइएको छ, गुनासो आएजस्तो अनुगमनमा प्रमाण फेला परेन ।’ 

अनुगमनमा परेका अधिकांश होटल फोहरी भेटिएका छन् । बाहिरबाट टिलिक्क पारिएका होटलको खानामा पनि गुणस्तर नभएको उपभोक्ताले गुनासो गरेका छन् । होटलहरुले किचन र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा चलाएको समेत भेटिएको छ । ‘बाहिर सरसफाइ छ खानामा गुणस्तर छैन । मूल्य सूची राखेको छ । तर आफ्नै मनोमानीमा तयार गरेको छ,’ खाद्य अधिकार जिल्ला सञ्जालका राजाराम सिटौलाले बताए । 

होटल सञ्चालकको मिलेमतोमा बस तथा माइक्रोबस चालकले २० मिनेटमात्र खाना तथा खाजा खाने समय राखेर यात्रुलाई अप्ठेरोमा पार्ने गरेका छन् । २० मिनेटमा शौचालय जान, हातमुख धुने र खाना, खाजा खान भ्याइँदैन । एउटै होटलमा एकैपटकमा दसौं गाडी र सयौं यात्रु हुने हुँदा शौचालय, धारो र टेबलमा समेत पालो पाउन गाह्रो पर्छ । काठमाडौं आउँदै गरेका रामकुमार थापाले भने ‘खाना थप्न त कता हो कता पहिलेकै खाना बुत्याउन भ्याइँदैन ।’ यस्ता होटल सञ्चालकलाई सरकारले नै कडाइपूर्वक अनुगमन गर्नुपर्ने यात्रुको भनाइ छ ।

राजमार्ग क्षेत्रमा बस तथा माइक्रोबसले खाजा तथा खाना खुवाउने अधिकांश होटलले खुवाउने खानामा मिसावट भेटिने गरेका छन् । राजमार्गका होटललाई शुद्ध र सफा बनाउन जिल्ला प्रशासन कार्यालय धादिङ, वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत बेलाबेलामा अनुगमन गर्ने गरेको भए पनि त्यसको खासै प्रभाव देखिएको छैन ।

होटलसँगै राखिएका किराना पसलबाट म्याद नाघेका खाद्य सामग्री भने अनुगमन टोलीले जफत गरेको छ ।

प्रकाशित: ११ असार २०७४ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App