७ वैशाख २०८१ शुक्रबार
राजनीति

अल्पसंख्यक समुदायका उम्मेदवार अञ्जना र संगीताका यस्ता छन् समुदाय सुधार योजना

इलाम-  ‘नमस्ते, म अञ्जना लेप्चा, उपाध्यक्षकी उम्मेदवार। गाउँका समस्या के छन् ? हामीले के सहयोग गरिदिनुपर्छ, भन्नुस् है ।’ जिल्लाको रोङ गाउँपालिका–५, इरौंटारकी २४ वर्षीया अञ्जना लेप्चा अहिले यस्तै शब्दले मतदातालाई सम्बोधन गर्दै गाउँ घुमिरहेकी छिन् । अनि, उनको आग्रह छ–भोटमा जिताइदिएर आफ्नो समुदाय मात्र होइन, सिंगो गाउँपालिकाका लागि काम गर्ने अवसर दिनुहोस्।

                इलाममा मात्रै बसोबास रहेको अल्पसंख्यक लेप्चा समुदायबाट एक्लो उपाध्यक्ष उम्मेदवार अञ्जना पेसाले स्वास्थ्यकर्मी हुन् । एसएलसीपछि नर्सिङको ३ वर्षे कोर्स पढेकी उनी झापा बिर्तामोडको बिएन्डसी मेडिकल कलेजकी नर्स छिन् । तर, नेकपा माओवादी केन्द्रले रोङ गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनाएपछि उनी अहिले रातदिन भोट माग्दै मतदातासम्म पुगिरहेकी छिन् । ‘गाउँका सबैजसो वडा घुमिसकियो, लेप्चा समुदायकी उम्मेदवार भएकैले पनि धेरै मतदाताको सहानुभूति पाएकी छु,’ अञ्जनाले भनिन्, ‘मतदाताले माया गर्नुभएको छ, चुनाव जितिसकेपछि म सबैकी साझा जनप्रतिनिधि हुनेछु।’

                रोङ गाउँपालिकाका मतदातामध्ये लेप्चाको संख्या ८ सय रहेको उनको अनुमान छ । ‘मेरै समुदायका सबै मतदाताले भोट हाल्ने विश्वास दिलाउनुभएको छ,’ उनी सुनाउँछिन्, ‘भोटको दिन आफ्नो समुदायले सहानुभूति राखिदिए त्यही समुदायका लागि धेरै काम गर्ने अवसर मिल्ने थियो ।’ गाउँमा सडक, खानेपानी, सिँचाइ, बिजुली, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा समस्या देखेकी उनी लोपोन्मुख समुदायको समस्या चाहिँ अन्यको भन्दा फरक नभएको बताउँछिन् । ‘लोपोन्मुख भएकैले लेप्चाको समस्या अरूको भन्दा फरक चाहिँ छैन,’ उनले भनिन्, ‘घरेलु हिंसा, सामाजिक र जातीय विभेदको अवस्था पनि सुधार गर्नु आवश्यक छ ।’ रोङ गाउँपालिकाको कुल जनसंख्या १९ हजार १ सय ३५ रहेकामा मतदाता संख्या १२ हजार ८ सय ८८ छ ।   

                सदरमुकामको एक रेडियोमा समाचार वाचन गरिहेकी माइजोगमाई गाउँपालिका–२, जोगमाईकी संगीता थामीका अगाडि अहिले गाउँमा बाँदरले दुःख दिएकोदेखि बँदेलले बालीनाली सखाप पारेसम्मका समस्याको चाङ लागेको छ । तर, समाचार लेख्नलाई होइन, जनप्रतिनिधि भएर समाधान गरिदिने आसले उनलाई गाउँलेले समस्या थुपारिदिएका हुन् ।

                माओवादी केन्द्रले माइजोगमाई गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएपछि २५ वर्षीया संगीतालाई अहिले मतदातासँग भोट माग्ने दौडधुप छ । ‘विद्यार्थीकालदेखि नै राजनीतिक चेत घुसेको थियो, अहिले उम्मेदवार भएकाले समाजसेवाको ठूलो अवसरका रूपमा यसलाई लिएकी छु,’ स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत थामीले भनिन्, ‘आफ्नो समुदायको चेतना अभिवृद्धि गर्नेदेखि गाउँको न्यायीक कामको जिम्मा लिनसक्ने आँट र साहसले उपाध्यक्षमा उम्मेदवारी दिएकी हुँ।’

                थामीले भौगोलिक रूपले निकै लेकाली र औल भेग रहेको आफ्नो गाउँपालिकाको चौतर्फी विकासको लक्ष्य आफू उपाध्यक्ष भएर पूरा गर्ने सपना रहेको सुनाइन् । ‘अहिले पनि गाउँमा विकास त भएको छ तर दिगो भने देखिएन,’ उनले भनिन्, ‘भौतिक विकासले मात्रै पनि गाउँको विकास नहुने रहेछ ।’ सीमान्तकृत समुदायबाट उपाध्यक्षको उम्मेदवार बनेकी थामीले घरेलु हिंसा, बालविवाह, असुरक्षित गर्भपतन र थामी समुदायको चेतनास्तर सुधार आफ्नो एजेन्डा भएको बताइन् । ‘थामी समुदायकी एक्ली उम्मेदवार भएकाले पनि आफ्नो समुदायको राम्रो सहयोग पाएकी छु,’ उनले भनिन्, ‘थामी समाजले मलाई जिताउन अपिल नै गरेकाले पनि चुनाव जित्छु भन्ने लागेको छ ।’ माइजोगमाई गाउँपालिकाको कुल जनसंख्या २१ हजार ४४ र मतदाता संख्या १४ हजार ८ सय ५ छ ।

                २०६८ सालको जनगणनाअनुसार लेप्चाको जनसंख्या ३ हजार ४ सय ४५ छ । लेप्चाको मुख्य बसोबास इलाम जिल्लाको माइखोलापूर्वका १५ र गाविसमा छ । पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन् । ३ हजार २ सय ६४ लेप्चा ग्रामीण र १ सय ८१ चाहिँ सहरी क्षेत्रमा बस्छन् । पूर्वाञ्चलमा सबैभन्दा धेरै ३ हजार २ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा २ जनाको बसोबास छ । उनीहरू पहाडी क्षेत्रमा सबैभन्दा बढी (२ हजार ९ सय ९६) जना बसोबास गर्छन् । तराईमा ४ सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको तथ्यांक छ। थामीको जनसंख्या भने २८ हजार ६ सय ७१ छ।

 

प्रकाशित: ११ असार २०७४ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App