निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको सबै तयारी पूरा गरेको छ। आयोगले मतदातालाई परिचयपत्र वितरण गर्न मात्र बाँकी छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत बुधबार मतदान हुने कार्यक्रम छ।
क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले भने, 'मतदाताले मत हाल्ने काम मात्र बाँकी छ। अरू सबै बन्दोबस्त र तयारी पूरा भइसकेको छ।'
पाँच लाख ६३ हजार आठ सय ७० जना मतदाता रहेको मोरङमा १७ स्थानीय तहको निर्वाचनका लागि ६ सय ९ वटा मतदानस्थल तोकिएको छ। तीन सयवटा मतदान केन्द्र कायम गरिएको छ। हरेक मतदानस्थलमा मतदान अधिकृत र सहायक मतदान अधिकृत मात्रै जिल्लाभर एक हजार दुई सय १८ जना खटिएका छन्।
‘सबै मतदानस्थलमा खटिएका कर्मचारीले कमान्ड सम्हालिसकेका छन्,’ निर्वाचन कार्यालय प्रमुख सञ्जेलले भने, ‘मतदाता परिचयपत्र आइतबारदेखि वितरण सुरु गरिएको छ।’ मतदान स्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ। ‘सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन्,’ मोरङका एसपी सन्दीप भण्डारीले भने, ‘म आफैँ सबै बुथमा पुगेर सुरक्षा बन्दोबस्तबारे बुझिरहेको छु।’
निर्वाचन कार्यालयले चुनाव परियोजनाका लागि उपलब्ध गराएको सामग्रीसहितका कर्मचारी मोरङका सबै बुथमा पुगिसकेका छन्। बुथमा मतदान कार्यका लागि घेराबेरा गर्ने काम पनि सुरु भइसकेको निर्वाचन कार्यालय प्रमुख सञ्जेलले जानकारी दिए। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका डिआइजी रमेश भट्टराईले प्रदेश नम्बर १ का सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिएको जानकारी दिए।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १ मा एक सय ३७ तहमा उम्मेदवार निर्वाचित हुनेछन्। प्रदेश नम्बर १ का १४ जिल्लाका एक हजार एक सय ५७ वडाका लागि निर्वाचन हुनेछ। जसमा २६ लाख ७४ हजार पाँच सय ६३ मतदाता छन्। यी सबै ठाउँमा मतदानका लागि एक हजार आठ सय ६२ मतदानस्थल र तीन हजार चार सय ६० वटा मतदान केन्द्र कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ।
मौनअवधि सुरुअघि अन्तिम ‘शक्ति’ प्रदर्शन गरेका राजनीतिक दल र उनका उम्मेदवार आइतबार मध्यरातिदेखि आन्तरिक कसरतमा व्यस्त छन्। चुनावको प्रचारप्रसारको आइतबार अन्तिम दिन हो। राति १२ बजेपछि खुला प्रचारप्रसार र चुनावी अभियानमा हिँड्न बन्देज लागेको छ।
२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रदेश नम्बर १ का मतदाता भने व्यग्र प्रतीक्षामा छन्। परिचयपत्र लिन मतदान केन्द्रमा मतदाताको भीड छ। आयोगले मतदान केन्द्रबाटै मतदाता परिचयपत्र बाँडिरहेको छ। परिचयपत्र मंगलबार साँझसम्म वितरण गरिनेछ।
परिचय पत्र बाँडिँदै
झापाका ६ सय ३७ वटै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ। आइतबारदेखि जिल्लाका सबै केन्द्रबाट परिचयपत्र वितरण सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्रम मंगलबारसम्म चल्नेछ।
'झापाका १५ वटै तहका सबै मतदान केन्द्रमा हाम्रा कर्मचारी पुगेर काम थालेका छन्', जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले भने, 'आइतबार बिहानैबाट परिचयपत्र वितरण सुरु भएको छ। मंगलबारसम्म यो काम सकिनेछ।' उनका अनुसार तीन दिनभित्र सबै केन्द्रमा बुथ निर्माण गर्ने काम पनि सकिनेछ। 'अब मतदाताले ढुक्कले मतदान गर्ने दिनको प्रतीक्षा गरे हुन्छ', उनले भने, 'झापामा सबै तयारी पूरा भइसकेको छ।'
स्थानीय तह निर्वाचनका लागि झापामा आठ हजारभन्दा बढी कर्मचारी परिचालित भइसकेका छन्। निर्वाचन कार्यालय र सुरक्षा निकायबाट खटिने सुरक्षाकर्मीसहित जिल्लामा आठ हजार आठ सय २७ जना जनशक्ति परिचालित भएका हुन्। निर्वाचन कार्यालय झापाका तर्फबाट तीन हजार आठ सय २७ जना, जिल्ला प्रहरी कार्यालय झापाबाट एक हजार नौ सय नेपाल प्रहरी, दुई हजार एक सय म्यादी प्रहरी चुनावी सुरक्षामा परिचालित भएका छन्। एक हजारभन्दा बढी सशस्त्र प्रहरीसमेत परिचालित भइसकेको झापामा नेपाली सेनाले पनि निर्वाचन लक्षित गस्ती थालेको छ।
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा पाँच लाख १० हजार दुई सय १६ मतदाता छन्। जिल्लामा दुई सय ८३ मतदान स्थल र ६ सय ३७ मतदान केन्द्र छन्। सात सय २३ जना प्रतिनिधि निर्वाचित हुनुपर्ने जिल्लामा तीन हजार तीन सय ४० जना उम्मेदवार मैदानमा छन्।
झापामा एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको छ। जिल्लामा एउटा मतदान स्थलमा बढीमा सातवटासम्म मतदान केन्द्र छन्। प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक/एक जना गरी कुल एक हजार दुई सय ७४ जना र बाँकी सहायक कर्मचारी, कार्यालय सहयोगी छन्। आचार्यका अनुसार कार्यालयका तर्फबाट एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयम्सेवकसहित नौ जना कर्मचारी खटिएका छन्।
जिल्लाका अधिकांश मतदानस्थल विद्यालयमा छन्। ८५ प्रतिशत मतदान स्थल विद्यालय र बाँकी सम्बन्धित स्थानीय तह, सामुदायिक वन उपभोक्ता समितिका कार्यालय तथा स्वास्थ्य केन्द्रमा रहेका छन्। निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार झापाका सबै मतदान स्थलमा एक हजार नौ सय नेपाल प्रहरी, दुई हजार एक सय म्यादी प्रहरी परिचालन गरिनेछ। यसबाहेक सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान तथा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ। निर्वाचन लक्षित गरी सशस्त्र प्रहरी बलले झापाका १५ वटा स्थानीय तहमा १५ वटै सशस्त्र प्रहरीको अस्थायी पोस्ट खडा गरेको छ।
चुनावी सुरक्षा लक्षित गरेरै सोमबारदेखि ७२ घन्टाका लागि नेपाल–भारत सीमा 'सिल' हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीका अनुसार सीमा नाका असार १५ गते बिहान ६ बजेपछि मात्रै खुला हुनेछ। झापा, मोरङ, सुनसरी तथा सीमावर्ती भारतीय क्षेत्रका प्रशासन तथा सुरक्षा अंगका प्रमुखको संयुक्त बैठकले यसअघि नै चुनावका बेला सीमा सिल गर्ने निर्णय गरेको थियो।
४८ घन्टा सीमा सिल
बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय निकायको निर्वाचनका लागि सुनसरीका एक सय ६६ वटा मतदान स्थलका चार सय ८५ वटै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रत्येक मतदान केन्द्रको भित्री सुरक्षाका लागि जनपद प्रहरी, बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाको टोली परिचालन गरिएको छ। मतदान केन्द्रसँग भारतीय सीमा क्षेत्रसँगै जिल्लाभरका संवेदनशील स्थानलाई विशेष निगरानी राखेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए।
जिल्लाभर म्यादी र जनपद प्रहरी गरी जिल्लाभर तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरी एकजना जना र सेनाले १५ स्थानमा अपरेटिङ पोस्ट स्थापना गरी सुरक्षाकर्मी परिचालन गरेको छ। 'मतदान केन्द्रमा प्रहरीका तर्फबाट अफिसरको नेतृत्वमा टोली खटाइएको छ,' जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले भने, 'मतदान केन्द्रबाहेक मोबाइल गस्ती, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।'
भारतीय सीमासँग जोडिएकाले गर्दा विशेष सुरक्षा सतर्कता अपनाइएको हो। 'जिल्लाका मतदान केन्द्रमा सुरक्षा प्रदान गर्नुका साथै १४ गते बिहान ८ बजेदेखि मतदान हुने हुँदा त्यसको २४ घन्टाअघिदेखि ७२ घन्टाभर भारतीय सीमा सिल गरिनेछ,' प्रजिश पराजुलीले भने, 'भारतीय सीमा सिल गर्ने सहमति नेपाल र भारतका सुरक्षा अधिकारीको जेठ २४ गतेको बैठकले निर्णय गरिसकेको छ।'
जिल्लामा मतदान गर्नका निम्ति तीन हजार आठ सय ३८ जना कर्मचारी खटिएका छन्। यी कर्मचारीले आइतबारदेखि मतदाता परिचयपत्र वितरण गर्न थालेका छन्। आइतबार मात्र कही ३० प्रतिशत र कहींकहीं ४० प्रतिशतसम्म मतदाता परिचयपत्र वितरण गरिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जानकीराज कर्णले बताए। उनका अनुुसार मतदान केन्द्रमा खटिने कर्मचारीमध्ये कार्यालय सहयोगीको अपुग भएको छ। 'अपुग कार्यालय सहयोगीलाई सोमबारसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट व्यवस्थापन गरी खटाइने तयारी भइरहेको छ,' कर्णले भने। सुनसरीमा कुल चार लाख २१ हजार एक सय ५९ मतदाता छन्। जिल्लाभर दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका छन्।
अजित तिवारी/विराटनगर
राजु अधिकारी/झापा
अमर खड्का/इटहरी
प्रकाशित: १२ असार २०७४ ०२:३२ सोमबार