८ वैशाख २०८१ शनिबार
समाज

भारतबाट ल्याइए गंगासागर हत्या आरोपित

काठमाडौं- चितवनमा एक महिनाअगाडि गोली हानेर मारिएका गंगासागर महतोको हत्याका आरोपित समूह पक्राउ परेको छ। वैदेशिक रोजगारीमा कतारमा कार्यरत महतोको घर आएका बेला जेठमा घरमै गोली हानेर हत्या भएको थियो।

जेठ ४ मा भरतपुर महानगरपालिकाको शुक्रनगरमा रहेको महतोको एकतले घरमा मास्क लगाएको समूह प्रवेश गरी लुटपाट गरेको थियो। लुटेरा समूह छतबाट घरभित्र प्रवेश गरेको थियो।

लुटेरा समूहले ३३ वर्षका गंगासागरसँगै उनकी ५५ वर्षीया आमा साहुनी महतो र २७ वर्षीया रामकुमार महतो घाइते भएका थिए। लुटेरा समूहले पहिला महिलाको कोठामा प्रवेश गरेर सुन लुटेको थियो।

उनीहरू चिच्याएपछि समूहले घनले टाउकोमा हिर्काएको थियो। आमाको कोठामा हल्ला भएपछि उठेर हेर्न आएका गंगासागर कोठाभित्र प्रवेश गरेलगत्तै उनीहरुले गोली हानेका थिए। उपचारका क्रममा गंगासागरको मृत्यु भएको थियो।

उनीहरूले घरमा रहेको दुई लाख नगद र नौ तोला सुन लुटेर लगेका थिए। सुन लुट्ने क्रममा उनीहरूले महिलाको कानसमेत लुछेका थिए। पीडित परिवारले झकबहादुर सुनार र कृष्णबहादुर परियारविरुद्ध किटानी जाहेरी दिएका थिए।

कतारमा म्यानेजरका रूपमा कार्यरत उनी वैशाखमा घर फर्किएका थिए। घाइतेले प्रहरीलाई दिएको बयानअनुसार घटना हुनु दुई दिनअगाडि मोटरसाइकलमा आएका दुईजनाले गंगासागरबारे सोधपुछ गरेका थिए।

लामो समय वैदेशिक रोजगारीमा रहेर घर फर्किएकाले घरमा टन्नै पैसा हुनसक्ने आशंकामा घटना भएको प्रहरीको निष्कर्ष थियो।

प्रहरीले हत्यामा संलग्नलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो। हत्यामा संलग्न केही व्यक्ति पक्राउ पर्न बाँकी रहेको भन्दै प्रहरीले पक्राउको घटना गोप्य राखेको छ। घटना अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले अनुसन्धान विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित: १२ असार २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App