coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ७ मा निर्वाचन तयारी पूरा

धनगढी- स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर ७ का सबै स्थानीय निकायमा कर्मचारी, निर्वाचन सामग्री र सुरक्षाकर्मी पुगिसकेका छन्। ९ वटा जिल्लाका ८८ वटा स्थानीय निकायमा कर्मचारी र सुरक्षाकर्मी पुगेर असार १४ गतेको निर्वाचनको तयारीमा जुटेका छन्। आइतवार सबै निकायमा मतदाता परिचयपत्र वितरण सुरु भएको छ। क्षेत्रीय निर्वाचन कार्यालयका प्रेम भट्टले सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसेकेको बताए। 'सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छन्,' उनले भने, 'कर्मचारी पुगेर आईतवारदेखि मतदाता परिचयपत्र बाँड्न सुरु भइसकेको छ।'

प्रदेश नम्बर ७ मा एक उपमहानगरपालिका ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन्। कैलालीमा १३, कंचनपुरमा ९, बझाङमा १२, अछाममा १०, डोटीमा ९, बाजुरामा ९, बैतडीमा १०, दार्चुलामा ९ र डडेल्धुरामा ७ स्थानीय निकाय छन्। ८८ वटा स्थानीय निकायमा १ हजार १ सय ८ मतदान स्थल र १ हजार ७ सय ८० मतदान केन्द्र रहेको उनले बताए।

मतदान अधिकृत सहितका कर्मचारी मतदान केन्द्रमा पुगेर मतदाता परिचय बितरण गर्नमा व्यस्त रहेको उनको भनाई छ। 'निर्वाचनको अन्य सवै तयारी करिव पुरा भएको छ'उनले भने।  प्रदेश नम्बर ७ मा ६ लाख ३४ हजार ३ सय ७९ पुरुष, ६ लाख ६९ हजार ३ सय २१ महिला र १४ जना तेश्रो लिंगी गरेर १३ लाख ३ हजार ७ सय १४ जना मतदाता रहेका छन। सवैभन्दा बढी कैलालीमा ४ लाख ३ हजार २ सय ८० मतदाता छन भने सवैभन्दा कम बाजुरामा ६४ हजार ९ सय ५० मतदाता रहेका छन। मतदान केन्द्र पनि सवैभन्दा बढी कैलालीमा ४ सय ९० मतदान केन्द्र रहेको छ भने सवैभन्दा कम बाजुरामा ९१ मतदान केन्द्र रहेको छ।

यसैगरी सुरक्षा व्यवस्था लगायतको तयारी पनि पुरा भएको सुरक्षाअधिकारीले बताएका छन। प्रदेश नम्बर ७ मा म्यादी प्रहरी,नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना गरेर करिव २० हजार सुरक्षाकर्मी परिचालन गरिएको क्षेत्रीय सुरक्षा समिति संयोजक तथा सुदुरपश्चिमका क्षेत्रीय प्रशासक शिशिर कुमार ढुंगानाले बताए। '२० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं,' उनले भने, 'आवश्यक परेमा परिचालन गर्न थप जगेडा पनि राखिएको छ।'

पाँच जिल्ला संवेदनशील

भौगोलिक बिकटता, हिंसात्मक झडप, र विप्लव माओवादीको चुनौतीलगायतका आधारमा ५ जिल्लालाई संवेलनशील जिल्लामा राखिएको छ। संवेदनशील जिल्लामा कैलाली, बाजुरा, अछाम, बझाङ र डोटी रहेको क्षेत्रिय प्रशासक ढुंगाना बताउँछन्। 'आज समान्य रहेका क्षेत्र भोली संवेदनशील पनि हुन सक्ने सम्भावना रहन्छ। तर, अहिले ५ जिल्ला संवेदनशील मानेर बिशेष सुरक्षा व्यवस्था मिलाएका छौं,' उनले भने। विप्लव माओवादीले निर्वाचन नै बिथोल्न सक्ने गरी गतिविधि गर्न नसक्ने सुरक्षा समितिले निष्कर्ष निकालेको छ। केही ठाउँमा समान्य घटना घटाएर आफ्नो उपस्थिती देखाउन सक्ने उनीहरूको निष्कर्ष छ। 'विप्लव माओवादीले केही ठाउँमा 'हिट एण्ड रन' गरेर आफ्नो उपस्थिती देखाए पनि खासै चुनावलाई बिथोल्ने गरी गतिविधि गर्न सक्तैन'क्षेत्रिय प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरिक्षक रोमेन्द्र देउजा भन्छन– 'ठुला दलहरुको बिचको आपसी मतभेद र भौगोलिक बिकटता हाम्रा लागी प्रमुख थ्रेट हुन।' बर्षा परेमा पहाडी जिल्लामा पहिरो, खोलामा वाढी लगायतका समस्याले असर पर्ने सक्ने उनको भनाई छ। आइतवार सम्म घाम लागेको छ। 'निर्वाचनको दिन सम्म मौसम के हुने केही टुंगो छैन'उनले भने। विप्लव माओवादीको गतिविधि ९ वटै जिल्लामा रहेको छ।

तीन घेरामा सुरक्षाकर्मी परिचालन

निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने छ। तीन घेरामा सुरक्षाकर्मी खटाउने सुरक्षा रणनीति बनाएको क्षेत्रीय सुृरक्षा समिति संयोजक ढुंगानाले बताएका छन्। पहिलो घेरामा प्रत्येक मतदान केन्द्रमा म्यादी प्रहरी र नेपाल प्रहरी परिचालन हुनेछन्। मतदान केन्द्र र मतदान स्थलमा म्यादी प्रहरी र नेपाल प्रहरी मात्र परिचालन हुनेछन्।  'मतदानस्थल बाहिर दोस्रो घेरामा शसस्त्र प्रहरी रहने र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने छ,' उनले भने। ८८ निकायमा नेपाल प्रहरी परिचालन हुनेछ। ६७ निकायमा शसस्त्र प्रहरी परिचालन हुनेछ। ८८ वटै निकायमा नेपाली सेना परिचालन हुने उनले बताए। प्रत्येक निकायमा नेपाल प्रहरी र शसस्त्र प्रहरी इन्सिपेक्टरको कमाण्डमा परिचालन गरिएको उनको भनाइ छ। नेपाली सेना क्याप्टेन वा मेजरको कमाण्डमा परिचालन गरिएको उनले बताए। ६ हजार ४ सय ७० म्यादी प्रहरी र ८ हजार २ सय ७८ नेपाल प्रहरी गरेर १४ हजार ७ सय ४८ मतदान स्थलमा परिचालन हुने डिआईजी देउजाले बताए। क्षेत्रीय प्रशासक संयोजक नेपाली सेनाको पृतनापति, नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिआईजी, राष्ट्रिय अनसुन्धानको क्षेत्रीय प्रमुख रहेको क्षेत्रीय सुरक्षा समिति क्षेत्रमा रहेको छ भने जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाका राष्ट्रिय अनुसन्धानलगायत ४ वटै सुरक्षा निकायका जिल्ला प्रमुख सदस्य रहेको जिल्ला सुरक्षा समिति रहेको हुन्छ।

१९ मतदान स्थलमा सम्पर्क गर्न समस्या

प्रदेश नम्बर ७ का १९ वटा मतदान स्थलमा टेलिफोन सम्पर्क र संचार पनि राम्रोसँग नुहुँदा  बढी संवेदनशील रहेको उनले बताए। '१९ वटा ठाउँमा सम्पर्क गर्न समस्या छ,' डिआइजी देउजाले भने। कुनै ठाउँमा स्काई फोन अलि अलि लाग्ने, कुनै ठाउँमा रूखमा चढेर फोन गर्नुपर्ने र कतै फोन नै नलाग्ने अवस्था छ। बाजुराका ४, अछामका ६ र बझाङका १९ ठाउँमा यस प्रकारको समस्या रहेको उनले बताए। यी १९ ठाउँमा  १० जना म्यादी प्रहरी र १० जना नेपाल प्रहरी थप परिचालन गरिएको उनले जानकारी दिए।

मतपेटिका संकलन गर्न हेलिकोप्टर

प्रदेश नम्बर ७ मा भौगोलिक बिकटताका कारण मतपेटिका मतगणना स्थलसम्म पुगाउन जटिलता रहेको छ। यतायात सुविधा नपुगेका मतदान केन्द्रबाट मतगणना हुने स्थलसम्म पुर्‍गाउन एक दिनदेखि करिब अढाई दिनसम्म लाग्ने छ। प्रदेश नम्वर ७ मा कञ्चनपुर जिल्ला वाहेक ८ वटै जिल्लामा हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय प्रशासक ढुंगाना बताउँछन्। '८ घण्टा भन्दा बढी समय लाग्ने ठाउँवाट मतपेटिका हेलिकोप्टरवाट ल्याउने तयारी गरेका छौं,' उनले भने। मतपेटिका संकलन गर्न हेलिकोप्टर प्रयोग गरिनेछ।

बाजुरा, बझाङलगायत केही बिकट ठाउँमा ठूलो हेलिकोप्टर बस्ने हेलिप्याडसमेत छैन। 'मतपेटिका संकलन गर्न ठूलो हेलिकोप्टर बस्ने हेलिप्याडको पनि समस्या छ' डिआईजी देउजा भन्छन्। राजनीतिक दलका प्रतिनिधि राख्न सानो हेलिकोप्टरमा ठाउँ हुदैन। ठूलो हेलिकोप्टर बस्ने हेलिप्याड नभएका ठाउँमा के गर्ने भनेर छलफल भइरहेको उनको भनाइ छ। बझाङ, बाजुरा र अछामका केही मतदान केन्द्र अत्यन्त बिकट र दुर्गममा रहेको उनले बताए।

कैलालीका दुई पहाडी गाविसमा पनि मतपेटिका संकलन गर्न हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मोहन्याल गाउँपालिकाको सल्लेरी, ताम्चावाट मतगणता स्थल खमेडी पुग्न साढे २ दिन लाग्ने बताए। यसैगरी  चुरेगाउँपालिकाको खैलाड कैदारेश्वर निवामी र गर्वादरबारबाट मतगणनास्थल अल्लाड पुग्न २ दिन लाग्छ। 'यी ठाउँबाट मतेपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गछौं,' उनले भने। यतायात पहुँच नभएको कैलालीमा १७ मतदान केन्द्र रहेका छन्। बर्षा भई लालवोझीको चर्रा र कैलारी गाउँपालिकाको कटेनी खोलामा बाढी आएमा रामपुर पनि हेलिकोप्टर प्रयोग गर्नुपर्ने उनले बताए।

कैलाली अतिसंवेदनशील

बिगतमा थरुहट र अखण्ड आन्दोलन भएको, टीकापुर घटना भएको र विप्लव माओवादीका गतिविधि पनि रहेकाले कैलालीलाई अति संवेदनशील जिल्लाको रूपमा हेरिएको छ। 'कैलालीलाई संवेलनशील जिल्लाको रूपमा हेरेर केन्द्रले पनि सपोर्ट गरिरहेको छ,' कैलालीका प्रमुृख जिल्ला अधिकारी गोविन्द रिजालले भने। 'टीकापुर घटना भएको र चुनाव प्रचारका क्रममा पनि केही छिटपुट घटना भएकाले कैलालीलाई संवेदनशील रूपमा हेरिएको हो,' उनले भने। टीकापुरमा मात्र दुई ठाउँमा नेपाली सेनाको कमाण्डो फोर्स रेन्जर पोष्ट राखिएको छ। सुुर्खेत, तनुह, मनाङ, हेडक्वार्टर, जुनियर प्रहरी अधिकृत शिक्षालयलगायतबाट यहाँ थप सुरक्षाकर्मी ल्याइएको छ। कैलालीमा १ हजार ५ सय २६ म्यादी प्रहरी र २ हजार नेपाल प्रहरी परिचालन छन। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरेर ६ हजार सुरक्षाकर्मी कैलालीमा परिचालन गरिएको प्रजिअ तथा जिल्ला सुरक्षा समितिका संयोजक रिजालले बताए।

जिल्ला सुरक्षा समितिले संवेदनशील क्षेत्रमा नराखेको अत्तरिया माओवादी केन्द्रका उम्मेदवार गाकर्ण भट्टको घर नजिकै झ्यालको शिसा फुट्ने गरि शुक्रवार बिहान बम बिष्फोट भएको छ। धनगढी उपमहानगरपालिका नेपाली कांग्रेस मेयरका उम्मेदवार नृप वडुको घर परिसरमा राखेको स्कारिपीओको सिसा आईतबार तोडफोड भएको छ। आईतबार बिहान नै माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाको उर्मास्थित घरमा कालोझण्डा झुण्ड्याइएको छ। 'लुकीछिपी कुनै ठाउँमा सुतलीबम पड्काइदिने बदमासी गर्ने प्रयास गर्न सक्छन्,' उनले भने, 'हामीले सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाएका छौं।' कुनै पनि ठाउँमा चुनाव बिथोल्ने गरी उनीहरूले गतिविधि गर्न नसक्ने उनले बताए।  बिगतमा आन्दोलनमा रहेको, संविधानको बिरोध गरेको थरूहट पक्षधर नेता, कार्यकर्ता चुनावमा सहभागी छन्। कैलाली र कंचनपुर थरूहट हुनुपर्ने माग राखेर आन्दोलनमा रहेका थरुहट पक्षधर चुनावमा सहभागि भएको र राजपाको प्रभाव नगन्य रहेकाले त्यो पक्षवाट भने यहाँ जोखिम छैन।

कैलालीमा ४ सय ९० मतदान केन्द्रमध्ये ८६ अतिसंवेदनशील, ८३ संवेदनशील र ६२ कम संवेदनशील गरेर वर्गिकरण गरिएको छ।

मदिरा निषेध

निर्वाचनका वेला मदिरा सेवन गरेर झडपका घटना हुन सक्ने कुरालाई ध्यानमा राखी मदिरा निषेध गरिएको छ। कैलालीमा आइतबारदेखि ८  गतेदेखि २० गतेसम्म मदिरा निषेध गरिएको प्रजिअ रिजालले बताएका छन। यसैगरी ९ वटै जिल्लामा मदिरा निषेध गरिएको डिआईजी देउजाले बताए। 'मदिरा सेवन गरेर झडप नहोस् भनेर मदिरा बिक्री बन्द गरिएको छ,' उनले भने।

नाका ७८ घण्टा बन्द

यसैगरी सोमवार बिहानदेखि ७२ घण्टाका लागि भारतसँग सिमा जोडिएका नाका बन्द गरिएको छ। मतदान हुन ४२ घण्टा अघिदेखि बन्द गर्ने भनेकाले असार १५ गते बिहान सम्म बन्द गरेका छौं। एम्बुलेन्स र अतिआवश्यक काम भएकाले अनुमती मागेर ओहोरदोहोर गर्न सक्ने छन्। मतदान गर्न आउनेलाई पनि आउन दिने उनले बताए।

प्रकाशित: १२ असार २०७४ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App