१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कक्षा कोठामा सुधार

रमेशप्रसाद गौतम

शिक्षाबाट व्यवहारमा आएको परिवर्तन नै व्यक्ति, समाज र राष्ट्रलाई गति दिने हो। साँच्चिकै शिक्षक सच्चा गुरुभएर विद्यार्थीलाई अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउने प्रयासमा लाग्छ भने धेरै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सक्छ। उसले कक्षाकोठामा धेरै सामग्री प्रयोग गरेर शिक्षण सिकाइमा विविधता ल्याउन पाठ्यपुस्तकबाहिरका सान्दर्भिक विषयमा पनि प्रवेश गराउन सक्छ। तर हाम्रा विद्यालयका कक्षा कोठा सुधारोन्मुख देखिँदैनन्। अझै शिक्षा यथास्थितिको पट्यारलाग्दो भाषण विधिमै अलमलिएको.देखिन्छ।

हाम्रा विद्यालयका कक्षा कोठा सुधारोन्मुख देखिँदैनन्। अझै शिक्षा यथास्थितिको पट्यारलाग्दो भाषण विधिमै अलमलिएको देखिन्छ।

हाम्रा कक्षा कोठामा शिक्षक, पाठ्यपुस्तक, डेस्क, बेन्च आदि छन्, त्यहाँ पढाइ पनि छ तर गुणस्तर छ कि छैन त्यो विषयचाहिँ सोच्नुपरेको छ। शिक्षकले कसरी पढाउने भन्नेबारे पढेका होलान् तर व्यवहारमा कत्तिको सिकाउने गरेका छन्? यो नै मार्मिक पक्ष छ। क्याम्पस वा विश्वविद्यालयमा शिक्षा विषय पढाएर शिक्षक बनाउन तालिम दिने वा पढाउने परिपाटी हाम्रो सन्दर्भमा कत्तिको व्यावहारिक छ। र, ती सिकेका कुरामात्र पनि कक्षा कोठामा पुगेका छन् कि छैनन्? यो पक्षमा सरकारी तर्फबाट कत्तिको अनुगमन हुने गरेको छ? जिल्ला शिक्षा कार्र्यालय वा स्रोत केन्द्रसम्म प्रधानाध्यापकसम्म पुगेका होलान् तर शिक्षक वा त्यहाँको समुदायसम्म पुग्ने प्रयत्नै गरेको देखिँदैन। कतिपय सिक्न र सिकाउन चाहने शिक्षकले पनि अनुकूल वातावरण पाइरहेका छैनन्। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पनि पहुँच र सम्पर्कका आधारमा अवसर र सुविधा प्राप्त गर्नुले शिक्षा क्षेत्र निरास र कुण्ठातर्फ उन्मुख हुँदैछ।

यस्तो स्थितिमा शिक्षालाई संस्कारयुक्त कसरी बनाउने? समाजमा बढ्दो विकृति हटाउन उपयुक्त शिक्षाको खाँचो महसुुस हँुदै आएको छ। आज आफ्नो संस्कार र संस्कृति बिगार्न थालेका छन्। अतः हाम्रो शिक्षाको 'वर्किङ मोडल' मै परिवर्तन गरिनुपर्छ। विद्यार्थीलाई उसले विद्यालय तहको शिक्षा सिकाउँदै गर्दा एउटा जिम्मेवार, संस्कारयुक्त, आफ्नो समस्या आफँै समाधान गर्न सक्ने, बढ्दो प्रतिस्पर्धाअनुरूपको 'ग्लोबल नागरिक' तयार पार्न सक्नुपर्छ। यसका लागि मात्रामा भन्दा गुणमा विश्वास गर्ने शिक्षा चाहिएको छ। यस्तो शिक्षा जहिले पनि प्रयोगात्मक सिकाइमा आधारित हुनुपर्छ। शिक्षक जहिले पनि अद्यावधिक हुनु जरुरी छ। आजको प्रविधिसँग, समकालीन परिस्थितिसँग अपडेट गरेर हरशैक्षिक कार्यक्रम परिमार्जन गर्दै लगिनुपर्छ।

हाम्रो शिक्षा कमजोर हो भनेर एकीन गर्न भने सकिँदैन। हाम्रो शिक्षा मन्त्रालयबाट 'नो अब्जेक्सन लेटर' लिएर विदेश गएकाहरू एक वर्षपछि स्थापित भएका देखिन्छन्। नेपालमा १२ वर्षभन्दा बढी अध्ययन गरेर गएका हुन्छन्। तिनीहरू नेपालमा पाएको शिक्षाकै आधारमा त्यहाँ चाँडो स्थापित भएका हुन् भन्न सकिन्छ। तर जे भए तापनि हाम्रो देशको शिक्षा अन्य कुनै पनि मुलुकको शिक्षासँग प्रतिस्पर्धा गर्न सक्नेचाहिँ हुनुपर्छ। अहिले हाम्रा अधिकांश विद्यार्थी आफ्नो मुलुकको शिक्षाप्रति अविश्वास गर्दै विदेश जाने गरेका छन्। हाम्रो पाठ्यक्रम र पाठ्यपुस्तकलाई अन्तर्राष्ट्रियरूपमा विकसित भएका पाठ्यक्रमसँग दाज्न नसकेर पनि हो कि विश्व बजारमा बढ्दो एडभान्स टेक्नोलोजीलाई हाम्रो सन्दर्भमा प्रयोगमा ल्याउन नसकेर पनि होला, हामीले पर्याप्त अनुसन्धान नगर्नुका साथै तिनको व्यवस्थापनमा पनि चुकेको? यसकै परिणामस्वरूप आफ्नो शिक्षा पद्धतिप्रति वितृष्णा उब्जिइ विदेशमा गएपछि सक्षम भइन्छ भन्ने भावनाले अभिप्रेरित हुन पुगेको पो हो कि?

जे होस्, शिक्षकले विद्यार्थीका हरगतिविधि नियालेर हेर्नुपर्छ। तिनका गल्ती औल्याएर होच्याउने काम गरिनुहँुदैन। उसको गलत वा बेठीकको अर्थ लगाउने अवसर उसैलाई दिइनुपर्छ। वास्तविकता अभिव्यक्त गराउन सक्ने शिक्षक नै सफल मानिन्छ। केटाकेटी स्वयं गलत हुँदैनन्, तिनले सही कुरा नै सिक्न चाहिरहेका हुन्छन्। तर पनि कहिलेकाहीँ तिनको व्यवहारले अरुलाई दुःख दिन खोजेको भान हुन आएमा त्यसको निचोड स्वयं तिनै केटाकेटीबाट एकीन गराइनुपर्छ। तिनमा अन्तरनिहित समस्याको कारण स्वयं तिनैले मात्र थाहा पाउँछन्, शिक्षकले आफ्नो शिक्षण सिकाई कार्य गर्दा ख्याल गर्न सकेमा विद्यार्थीका समस्या सहजै समाधान पनि हुन सक्छ।

प्रकाशित: १२ असार २०७४ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App