८ वैशाख २०८१ शनिबार
अन्य

जरिवाना हटेपछि पैदल यात्रुलाई कारबाही फितलो

जथाभावी सडक पार गर्ने पैदल यात्रुलाई ट्राफिक प्रहरीले कारबाही खुकुलो पारेको छ । जरिवाना गर्न नपाउने भएपछि ट्राफिकले पैदल यात्रुलाई कारबाही खुकुलो गरेको हो । 

जेब्राक्रस र आकासे पुल प्रयोग नगरी जथाभावी सडक पार गर्ने पैदल यात्रुविरुद्ध सुरुमा ट्राफिक प्रहरी आक्रामक बनेको थियो । तर, जरिवाना लिन नपाउने भएपछि भने धेरै स्थानमा ट्राफिकले पैदल यात्रुका गल्तीलाई बेवास्ता गर्न थालेको छ । 

गत जेठ ३० गते गृहमन्त्री जनार्दन शर्माले पैदल यात्रुबाट जरिवाना नलिन निर्देशन दिएपछि ट्राफिकले कारबाही फितलो पारेको छ । जरिवाना उठाएका आधारमा ट्राफिकले १५ प्रतिशतसम्म कमिसन पाउने गरेका छन् । गल्ती गर्ने पैदल यात्रुलाई जरिवाना गर्न नपाएपछि ट्राफिकले यो कमिसन पाउँदैनन्। 

ट्राफिकले जरिवाना नतिराउने भएपछि पैदल यात्रुले पनि जभाभावी बाटो काट्न थालेका छन् । ‘चोक–चोकमा बसेर ट्राफिक प्रहरीले जभाभावी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गर्न थालेको थियो,’ सहिदगेटमा भेटिएका रमेश तिवारीले भने, ‘जरिवाना रकम हटेसँगै कारबाही गर्न छाड्यो।’ 

रत्नपार्क–पेप्सीखोला चल्ने माइक्रोबसका चालक हरि न्यौपाने पनि जरिवाना हटाएसँगै पैदल यात्रुले जभाभावी बाटो काट्न थालेको बताउँछन् । ‘केही दिन पैदल यात्रु जेब्राक्रस हुँदै बाटो काट्थे,’ उनले भने, ‘जरिवाना हटेपछि फेरि उस्तै देखिन्छ।’

ट्राफिक प्रहरीले जेठ १६ गते उपत्यकामा जभाभावी बाटो बाट्ने ३ हजार ३ सय ४८ जनालाई कारबाही गरेको थियो । अहिले दैनिक चार सयदेखि पाँच सय जना पैदल यात्रु मात्र कारबाहीमा पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

जेठ १६ गते देखि ३१ गतेसम्म उपत्यकामा जथाभावी बाटो काट्ने २६ हजार ५ सय ४९ पैदल यात्रु कारबाहीमा परेका थिए । तिमध्ये १२ हजार ३ सय ८८ जना पैदल यात्रुबाट २ सय रूपैयाँ जरिवाना लिइएको थियो। 

१४ हजार १ सय ६१ जनालाई ट्राफिक सचेतना सम्बन्धि कक्षामा सहभागी गराइएको थियो । असार १ गतेदेखि १० गतेसम्म पाँच हजार ८ सय ३९ जना जभाभावी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गरिएको महाशाखाले जनाएको छ। महाशाखाले जेठ ३० गतेदेखि जभाभावी बाटो काट्नेलाई आधा घण्टा ट्राफिक जनचेतना कार्यक्रममा राख्दै आएको छ।  

महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले ट्राफिकले जभाभावी बाटो काट्नेलाई कारवाही गरिरहेको दाबी गरे । ‘पहिलाको भन्दा गति केही घटेको हो, कारबाही नै गर्न छाडेको भने होइन,’ उनले भने, ‘उपत्यकामा कार्यरत ट्राफिक प्रहरी निर्वाचनमा खटिएकाले पनि कारबाहीको गति केही सुस्त भएको हो।’ 

पैदल यात्रुमा सचेतना आएकाले पनि यो संख्या कम देखिएको हो । महाशाखाकामा कार्यरत १ हजार ८५ ट्राफिक प्रहरीमध्ये अहिले २ सय ५४ जना ट्राफिक प्रहरी निर्वाचनमा खटिएका छन्। 

प्रकाशित: १२ असार २०७४ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App