coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

छुट्टै पहिचान कोर्न चाहन्छन् युवा

भक्तपुर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत नारायण ढकाल नाट्य क्षेत्रका भविष्य खोज्दै छन् । 

उनको सानैदेखिको सोच र रुचि नाट्य क्षेत्र नै हो । अहिले उनी क्याम्पससँगै सडक नाटक प्रस्तुत गर्न थालेका छन् । ‘नाट्य क्षेत्र मेरो सानैदेखिको रुचि हो, लगाव र सोच भयो भने यो क्षेत्रमा उज्वल भविष्य छ,’ उनी भन्छन्, ‘मलाई बुबा आमाको नामले चिनिनु छैन, आफ्नै मेहनेतले भविष्य कोर्न चाहान्छु ।’ 

युवाको सोच, चाहना र रूची फरक–फरक छ । भिन्न रुचीका भए पनि उनीहरु अभिभावक वा अरु कसैको नामले भन्दा आफ्नै नामले चिनिन चाहान्छन् । 

ललितपुर हात्तिवनका सुरज शाक्य पनि आफूलाई फरक कामले  चिनाउने सोचमा छन् । व्यवस्थापन संकायमा कक्षा १२ मा पढ्दै गरेका उनको पढाईपछिको सोच बैंक तथा वित्तीय क्षेत्रमा लाग्नु हो । ‘मेरो परिवारमा सबैजसो सदस्य बैंक र वित्तीय क्षेत्रमै हुनुहुन्छ, मेरो रुचि पनि यही क्षेत्रमा लाग्नु हो,’ उनले सुनाए, ‘बैंक तथा वित्तीय क्षेत्रमा काम गरेपछि देशको अर्थतन्त्र र विकासका गतिविधि बुझ्न सजिलो हुन्छ।’ 

अहिलेका धेरैजसो नयाँ पुस्ता आफ्नो छुट्टै पहिचान कायम गर्न चाहान्छन् । उनीहरू बाबुआमाका नाम र कामले मात्रै चिनिन चाहान्नन् । परिवारका अन्य सदस्य भन्दा आफ्नै काम र नामले चिनिने प्रयास गर्छन् । आफूलाई यस्तै फरक क्षेत्रमा चिनाउन खोज्दैछिन्, भक्तपुर कमलविनायकी अनिता बस्नेत । उनी अहिले स्नातक तह दोस्रो वर्षमा पढ्दैछिन् । उनको भविष्यको सोच सामाजिक क्षेत्रका काम गर्नु हो । ‘समाज सेवामा लाग्छु भनेरै ‘बिएस डब्लु’ पढेकी हुँ,’ उनी भन्छिन्, ‘यो विषय पढेपछि सामाजिक कार्यमा लाग्न सजिलो हुन्छ, समाजसँग कसरी भिजेर काम गर्ने भन्नेबारे पनि थाहा हुन्छ।’ 

युवापिच्छे सोच र रुचि पनि फरक छन् । उनीहरू फरक–फरक विधा र क्षेत्रमा लाग्न रूचाउँछन्। त्यस्तै फरक विद्यामा आफूलाई चिनाउने प्रयासमा छिन्–भक्तपुरकी सुष्मा थापा । उनी सानै उमेरदेखि लेखने क्षेत्रमा लाग्दैै आएको बताउँछिन् । स्नातक तह सकाएकी सुष्माले आफ्नो पहिलो उपन्यास सिमल प्रकाशनमा ल्याइसकेकी छिन् । ‘लेखन र साहित्य क्षेत्रमा लाग्नु मेरो सानैदेखिको सोख हो,’ उनी भन्छिन्, ‘परिवारका अन्य सदस्य भन्दा आफूलाई फरक ढंगले चिनाउन र आफ्नो रुचि मेट्न लेखन क्षेत्रलाई नै पेसागत रूपमा अंगाल्ने सोच छ।’ 

उनी आफ्नै काम र नामले चिनिन चाहेको र त्यसको लागि मेहनत गर्नुपर्ने बताउँछिन् । ‘आफ्नो लक्ष्यलाई पछ्याउँदै जाने हो भने आफ्नो छुट्टै पहिचान बनाउन सकिन्छ, एउटै मात्रै लक्ष्य बोकेर हिँड्ने हो भने पूरा गर्न असम्भव छैन,’ उनी भन्छिन्। 

युवा अभिभावक वा अरु कसैको नामले भन्दा आफ्नै नामले चिनिन चाहन्छन् । भक्तपुर कमलविनायककी सविना बानियाँ आफ्नो छुट्टै नाम कोर्न चाहान्छिन् । उनी आफूलाई पत्रकारिता क्षेत्रमा चिनाउन चाहने बताउँछिन् । पत्रकारिता विषयमा स्नातकोत्तर गर्दै गरेकी सविना भन्छिन्, ‘अरुको नाममा बाँच्नुको कुनै अर्थ छैन, म आफ्नै ज्ञान, बुद्धि र विवेकले नाम स्थापित गर्न चाहान्छु ।’ उनले हरेक मानिसकोे जीवन र कर्मको सुरूवात फरक फरक क्षेत्रबाट भएजस्तै आफ्नो पनि सुरुवात पत्रकारिता क्षेत्रबाट भएको बताइन्।

प्रकाशित: १२ असार २०७४ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App