coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रहेनन् बलशाली जोशी

काठमाडौं- दशरथ रंगशालाको ढोकाअगाडि पाँच–सात चिया पसल रहेको एउटा चोक छ। पत्रकारहरूले खेलाडी चोक नाम दिएको त्यो चोकका नियमित केही यस्ता ग्राहक छन्, जसलाई हरेक दिन अभ्यासपछि त्यहाँको चिया नास्ता नगरी चित्त बुझ्दैन। ओलम्पियन सुनीललाल जोशी खेलाडी चोकको त्यस्तै अम्बली थिए। उनले दशरथ रंगशालाबाट दैनिकी सुरु गर्न थालेको साढे तीन दशक नाघिसकेको थियो।

एउटा कलिलो खेलाडीका रूपमा रंगशालासँग साइनो गाँसेका जोशी नेपाली खेलक्षेत्रमा राष्ट्रिय खेलाडी, पदकविजेता, ओलम्पियन, प्रशिक्षक, प्रमुख प्रशिक्षक र ओलम्पियन संघका अध्यक्ष हुँदै पूर्ण रूपमा परिपक्व भइसकेका थिए। आफूले जीवन बिताएको खेल भारोत्तोलनको नियमनकारी निकाय नेपाल भारोत्तोलन संघका उपाध्यक्षसमेत रहेका जोशी नेपाली खेलकुदमा सबभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने बहादुर खेलाडी हुन्।

खेल र खेलाडीलाई अगाडि बढाउने अभियानलाई सधैँ पहिलो प्राथमिकतामा राख्ने जोशी पछिल्लो पटक दुई साताअघि दशरथ रंगशालाअगाडिको खेलाडी चोक आएका थिए। दुई वर्षअघिको भुइँचालोले रंगशालामा क्षति पुर्‍याएपछि नियमित खेलकर्म अघि बढाउने जोशीजस्ता अम्बलीको गन्तव्य सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरतिर सरेको थियो। जसका कारण खेलाडी चोकमा पनि उनको उपस्थिति पहिलाको दाँजोमा पातलिन थालेको थियो।

हाँस्ने र हँसाउने गरिरहनुपर्ने स्वभावका उनको उपस्थिति पातलिँदा खेलाडी चोकको माहोल मजाले जम्न पाउँदैनथ्यो। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ सम्झन्छन्, 'सुनील दाइ हुँदा र नहुँदा प्रशिक्षण गराउने माहोल पनि फरक हुन्थ्यो। सुनील दाइ भएपछि नहाँसीकन बस्न सकिँदैनथ्यो। मुड अफ भएको बेला पनि उहाँलाई भेटेपछि हँसाउनुहुन्थ्यो। प्रायः उहाँ हुँदा कसै न कसैलाई उडाएर रमाइलो गर्ने गरिन्थ्यो।'

दीपक कराते तथा जोशी भारोत्तोलनको राष्ट्रिय टोलीका प्रशिक्षक भएकाले सातदोबाटोमा प्रशिक्षण गराउँदा दिनहुँ भेट भइरहन्थ्यो। पछिल्लो पटक जेठ २८ गते सातदोबाटो पुगेका थिए। बिहानभर खेलाडीलाई भार उचाल्ने कला सिकाएपछि खेलाडी चोकको जस्तै हाँस्ने हँसाउने सेसन पौडी पोखरीबाहिरको चिया पसलमा चल्यो। त्यो दिन पनि जोशीले सँगै रहेका अन्य साथीहरूसँग भरपूर ठट्टा गरेर बिदा भए।

नेपाली खेलकुदमा पूरा जीवन अर्पण गरेका जोशीका लागि कर्मथलोमा त्यही दिन अन्तिम भयो। त्यसपछि उनी नेपाली खेलकुदमा फेरि फर्किएनन्। अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार उनको शव दशरथ रंगशाला ल्याइयो। नेपाली खेलकुदको एउटा महत्वपूर्ण र गौरवमय अध्यायमा पूर्णविराम लगाउँदै जोशीले आइतबारै गंगालाल अस्पतालमा देहत्याग गरेका थिए। जेठ २९ मा हृदयाघातका कारण अस्पताल पुर्‍याइएका उनलाई केही दिनको विशेष उपचारपछि बिहीबार बिहान घर फर्काइएको थियो। तर त्यही दिन साँझ फेरि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल पुर्‍याइयो। स्वास्थ्यस्थितिमा सुधार आएन र आइतबार बिहान उनी कहिल्यै नफर्किने गरी संसारबाट बिदा भए। 

'सुनील दाइको निधनबाट नेपाली खेलकुदमा पुर्न नसकिने क्षति भएको छ। नेपाली खेलकुदका लागि सबभन्दा बढी अन्तर्राष्ट्रिय पदक जितेका सुनील दाइ आफूजस्तै खेलाडी उत्पादनमा दिनरात लागिरहनुभएको थियो,' खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भावुक भए, 'उहाँसँगको सान्निध्यले सबैखाले निराशा र पीडा बिर्सिएर प्रशिक्षण गराउने जोस मिल्थ्यो। अब सधैँका लागि नेपाली खेलकुद, खेलाडी र प्रशिक्षकले उहाँको सान्निध्य गुमाउनुपरेको छ। हामी जुनियर भए पनि उहाँले हामीलाई कहिल्यै जुनियरजस्तो भावना देखाउनु भएन।'

१९९६ को एट्लान्टा ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाएका जोशीले २०४१ मा काठमाडौंबाट सुरु भएको दक्षिण एसियाली खेलकुद (साफ, हालको साग) का पहिला सात संस्करणमा लगातार भाग लिएका थिए। बंगलादेशमा भएको छैटौं साफमा भारोत्तोलन समावेश थिएन। बाँकी ६ संस्करणमा उनले नेपालको तर्फबाट भाग लिएका थिए। दक्षिण एसियाली खेलकुदमा उनी सबभन्दा बढी पदक जित्ने नेपाली खेलाडी थिए। जोशीले दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलामा ५ रजत र ९ कांस्य गरी १४ सहित कुल १७ अन्तर्राष्ट्रिय पदक जितेका थिए।

दुई पटक एसियाली खेलकुद तथा तीन पटक एसियन च्याम्पियनसिपमा सहभागिता जनाएका जोशी आधा दर्जनभन्दा बढी पटक नेपालको 'स्ट्रोङगेस्ट म्यान' को उपाधिबाट विभूषित भएका थिए। प्रशिक्षकको हैसियतमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको नेतृत्व गरेका जोशीले आठौं साफमा तीन कांस्य तथा १२औं सागमा १ रजत र ३ कांस्य पदक जितेका थिए। रेफ्रीका रूपमा उनले थुप्रै एसियाली तथा विश्वस्तरीय प्रतियोगिता खेलाएका छन्।

'नेपाली भारोत्तोलनमा मैले देखेको ऊ सबभन्दा सफल खेलाडी हो। एक पटक अभ्यासमा उसले स्न्याचमा १ सय ३० र क्लिन एन्ड जर्कमा १ सय ७० गरी ३ सय किलो उचालेको थियो। प्राविधिक रूपमा कसरी तौल उठाउने भन्ने उसलाई राम्रो जानकारी थियो,' जोशीका गुरु पार्थसारथि सेन गुप्तले सम्भि्कए।

'उहाँ सधैँ हामीलाई देशका लागि पदक जित्न हौस्याउनुहुन्थ्यो। मैले खेल्न छोडेपछि जन्मिएका धेरै अहिले राष्ट्रिय खेलाडी भइसके। तर अझैसम्म सबभन्दा बढी पदक जित्ने कीर्तिमान मेरो नाममा छ। यो तिमीहरूले तोड्नुपर्छ भनेर सधैँ हामीलाई ऊर्जा दिइरहनुहुन्थ्यो,' १०औं सागमा भारोत्तोलनबाट स्वर्ण पदक जितेका जोशीका चेला कमलबहादुर अधिकारी आइतबार दशरथ रंगशालामा भक्कानिँदै थिए, 'नेपालको भारोत्तोलन मात्र नभई सम्पूर्ण खेलजगत्ले उहाँलाई बिर्सन सक्ने छैन।'

कमलबहादुरले कोलम्बोमा नेपालका लागि भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान बनाइरहँदा जोशी मुख्य जज थिए। 'मेरा लागि उहाँ एउटा सिनियर खेलाडी, गुरुभन्दा पनि माथि रहनुभयो। मैले देशका लागि स्वर्णं पदक जितिरहँदा मुख्य जजका रुपमा उहाँ नै हुनुहुनथ्यो,' कमलले सम्भि्कए।

जोशीलाई एउटा कलिलो खेलाडीदेखि आजको परिपक्व अवस्थासम्म सधैँ मार्गदर्शन गरेका गुरु गुप्त आइतबार आफ्ना चेलालाई अन्तिम बिदाइ गर्नुपर्दा निकै भावविह्वल थिए। 'मेरो करियरकै ऊ सबभन्दा बेस्ट चेला थियो। उसका सबैजसो उपलब्धिमा म साथमा थिएँ। आज आफ्नो सबभन्दा प्यारो चेलाको शवमा आफँैले फूल चढाउनुपर्‍यो,' मिट्ठु गुरुका नामले परिचित गुप्त भन्दै थिए, 'ऊ एउटा राम्रो खेलाडी थियो। प्रशिक्षकका रूपमा पनि निकै राम्रो थियो। उसको प्राविधिक ज्ञान उल्लेख्य थियो। प्रशासकका रूपमा पनि उत्तिकै दक्ष थियो। समग्रमा भन्नुपर्दा ऊ एउटा अत्यन्तै राम्रो लिडर थियो। मेरा लागि उत्तिकै आज्ञाकारी चेला थियो। उसले गर्दा हामीलाई संघ र राष्ट्रिय टिममा धेरै सजिलो भएको थियो।'

जोशी अस्पतालको शय्यामा हुँदा पनि साउन ६ बाट नेपालमै हुने एसियाली च्याम्पियनसिपको योजना बनाएको स्मरण गर्दै गुप्तले भने, 'दुई–तीन दिनको उपचारपछि उसलाई ठीक भइसकेको थियो। हामीले अस्पतालमा पनि एसियन च्याम्पियनसिपमा कसलाई टिमको जिम्मा दिने, प्रतियोगिता कसरी भव्य पार्नेजस्ता विषयमा छलफल गर्न थालिसकेका थियौं। अचानक फेरि यस्तो बेहोर्नुपर्‍यो। सुनीलको परिवार र नेपाली खेलकुदमाथि आज ठूलो वज्रपात भएको छ। खेलकुद जगत्ले उसको परिवारलाई सहयोग गर्नुपर्छ।'

नेपाली खेलकुदका स्ट्रोङगेस्ट म्यानलाई आइतबार रंगशालामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल भारोत्तोलन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका साथै सयौं खेलाडी, खेलकर्मी र खेलप्रेमीले अन्तिम श्रद्धाञ्जली अर्पण गरे। अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने अर्का ओलम्पियन जितबहादुर केसीले जोशीको शवमा ओलम्पिकको झन्डा ओढाए। त्यसअघि राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका सदस्य दावा गुरुङले ओलम्पिक झन्डा ओढाइसकेका थिए। खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जोशीको शवमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए।

जोशीको निधनमा आइतबारै ओलम्पिक कमिटी, खेलकुद परिषद् तथा खेलाडी संघले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्। जोशीको आइतबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।

प्रकाशित: १२ असार २०७४ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App