coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘उपत्यकावासीको ध्यान घरको घेराभित्र मात्र छ’

राजेश हमाल, अभिनेता 

तपाईलाई मनपर्ने सहर कुन हो ? 
मलाई जापानको क्योटो सहर असाध्यै मनपर्छ । त्यहाँ आधुनिक, पौराणिक र ऐतिहासिक विशेषता भेटिन्छ । सानो सहरमा पनि सबै विशेषता भएकाले क्योटो विशेष लाग्यो । नेपालका मनपर्ने सहर काठमाडौं र पोखरा हुन् । पोखरा अहिलेसम्म राम्रो र व्यवस्थित छ । काठमाडौं भने उकुसमुकुस भइसकेको छ । सरकारले बेलैमा संयमता अपनाएर विकास निर्माण अघि बढाउन जरुरी छ । व्यवस्थित गर्ने हो भने यहाँका सहर राम्रा बन्छन् । नेपालीपन झल्काउने हाम्रा सहरमा सबै खाले विशेषता छ ।  

अरु देशका जस्तै हाम्रा सहर किन व्यवस्थित हुन नसकेका होलान् ?
विकासका निर्माण गर्दा हामी दुरदर्शी हुँदैनौं । यहाँ आज वा भोलिलाई सोचेर काम गर्ने प्रवृत्ति छ । कसैले पनि पर्सीलाई सोचेर विकास अघि बढाएनन् । हामीले ३० वर्षअघि कुनै ‘भिजन’ बनाएको भए अहिले काठमाडौं यत्ति धेरै अव्यवस्थित र भद्रगोल हुने थिएन । हिजो सोचेको भए आजसम्म यो सहर राम्रो बन्थ्यो । अझै पनि केही बिग्रेको छैन । यदि जिम्मेवार निकाय संवेदनशील भएर लाग्ने हो भने सहरलाई व्यवस्थित पार्न धेरै समय लाग्दैन । अब उपत्यकाभित्र विकास निर्माणका काम गर्दा ४० वर्षपछिको आकार बुझेर अघि बढ्न जरुरी छ ।

उपत्यकाको मन पर्ने र नपर्ने पक्ष के हुन् ? 
उपत्यकाको आर्कषण र सौन्दर्य भनेकै यहाँका ऐतिहासिक धरोहर हुन् । यी धरोहरले नेपाललाई नै चिनाउँछन् । तर, भूकम्पका कारण हाम्रा धरोहर ढले । तिनको पुनर्निर्माणमा सरकारले खासै चासो दिएको छैन । हामीकहाँ सहरको सौन्दर्य बुझ्न सकिएन । सबैको नजर सहरलाई मास्नेतर्फ छ । यसको स्वामित्व स्थानीयले लिएका छैनन् । अरु देशका सहरमा स्थानीय आफ्नो सहरको साख जोगाउन लागेको देखिन्छ । उपत्यकावासीको ध्यान घरको घेराभित्र मात्र छ । ट्राफिक जाम र धुलोधुवाँ उपत्यकाको सबैभन्दा मन नपर्ने पक्ष हो । ढल, बिजुलीका तार पनि अव्यवस्थित छन् । सडक विभाग, ट्राफिक प्रहरी, विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग जस्ता सरकारी कार्यालयबीच आपसी समन्वय नहुँदा उपत्यका बिग्रदै गएको छ । 

राजधानीका यी समस्या समाधान गर्न के गर्नुपर्ला ? 
सहरलाई व्यवस्थित बनाउन आधुनिक विकास निर्माण हुनुपर्छ । ट्राफिक र सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्छ । सरकारले ल्याएका योजनालाई व्यवहारमा उतार्नु जरुरी छ । सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम, खुला स्थानको व्यवस्थापनलगायत ध्यानमा राखेर काम गर्नुपर्छ । 

अरु देशका तुलनामा हाम्रा सहर कस्तो लाग्छ ?
काठमाडौंमा व्यक्तिगत घर राम्रा भए पनि सिंगो सहर कुरूप भइसकेको छ । पछिल्लो समय सहर कंक्रिटले छोपिएको छ । हरियाली हराएको छ । केही कुरामा राम्रो होला, तर सहरको सौन्र्दयता बिग्रिसकेको छ । मलाई अचेल काठमाडौं अस्तव्यस्त लाग्छ । विकासको नाममा हामीले न त मौलिकता बचायांै न त पूर्ण आधुनिक बनाउन सक्याैं । यो भन्दा दुःखको कुरा के हुनसक्छ ? 

काठमाडौंको मेयर भए के गर्नुहुन्थ्यो ?
सडकले नै सबैलाई जोडेको छ । त्यसैले, सबैभन्दा पहिले सडक व्यवस्थित बनाउँथें । साइकल, पैदलयात्री र ठूला सवारी हिँड्ने लेन छुट्याउँथें । सडक छेउका बिजुलीका तार व्यवस्थित गरी हरियाली बनाउँथे । टोलटोलमा खुला ठाउँ र शीतल छहारी बनाउँथें । त्योबाहेक सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाममा ध्यान दिएर विकास निर्माणका कार्य अघि बढाउँथें ।  

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १२ असार २०७४ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App