coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘नो टाइम फर लभ’

हरेक बिहान ६ बजेतिर उनी निलो माइक्रोका ‘स्टेयरिङ’ घुमाउन थाल्छन् । साँझसम्म उनको माइक्रोमा कैयौ यात्रु चढ्छन् र ओर्लन्छन् । 

राजधानीका विभिन्न रुटमा माइक्रो गुडाइसकेका मनोज साँवाले दिनको सात पटकसम्म एउटै रुटमा ओहोरदोहोर गर्न भ्याएका छन् । कहिले यात्रुको गुनासो त कहिले ट्राफिक प्रहरीको, उनलाई धेरै कुरा सोच्ने समेत फुर्सद छैन । 

इलामको मंगलबारेबाट १३ वर्षकै उमेरमा राजधानी छिरेका साँवाका लागि गाडीको ‘स्टेयरिङ’ नै जीवन हो, जीवन नै ‘स्टेयरिङ’ । सुरुमा सहचालकका रूपमा काम गरेका उनी अहिले ‘अपग्रेड’ भएर चालक बनेका छन् । 

चालक बनेर आफै माइक्रोको ‘स्टेयरिङ’ घुमाउन थालेका साँवाले अहिलेम्म ‘प्रेम’को गाडी चलाउन पाएका छैनन् । नचाहेर होइन, समय नपाएर । त्यसैले त उनले आफ्नो गाडीको पछाडि लेखेका छन्–‘नो टाइम फर लभ ।’

अरुका जस्तै धेरै रहर छन् उनका पनि । तर, सबै रहर कहाँ पूरा हुन्छन् र ? चालक बनेर आफै माइक्रोको ‘स्टेयरिङ’ घुमाउन थालेका साँवाले अहिलेम्म ‘प्रेम’को गाडी चलाउन पाएका छैनन् । नचाहेर होइन, समय नपाएर । त्यसैले त उनले आफ्नो गाडीको पछाडि लेखेका छन्–‘नो टाइम फर लभ ।’

पछाडि प्रेमका लागि समय नभएको जनाउ दिने वाक्य लेखिएपनि उनको गाडीमा भने बजिरहेको थियो ‘प्यारके लिए चार पल कम नही थे...’ बोलको हिन्दी गीत । 

समय नभएरै उनले माया नगरेका हुन् त ? ‘माया गर्नलाई समय चाहिँदो रहेछ,’ उनले भने, ‘मेरो अनुभवले यस्तै भन्छ ।’ आफ्नो प्रेम कहानी खोल्न नचाहे पनि साँवाले समय दिन नसक्दा मायाको तितो अनुभव सँगालेको बताए । 

‘आफ्नै अनुभवले यो लेखेको हँु,’ उनले भने, ‘अहिले मलाई  माया गर्ने समय छैन ।’ आफ्नो आम्दानीबाट घर खर्चसमेत चलाउनु पर्ने भएकाले उनलाई फुर्सद छैन । ‘काम नगरी गुजारा चल्दैन,’ उनले भने, ‘अहिले  कामलाई माया गर्दै छु ।’ 

साँवाको जस्तै भावना लेखेका राजु चौलागार्इंको भने कथा भिन्नै छ । काभ्रे घर भएका बा१ज ८३९५ नम्बरका २६ वर्षीय चालक चौलागाई सवारी लाइनमा आएको पाँच वर्ष भयो । दुई वर्ष गाडी चलाएर खाँडी मुलुक गएका उनी तीन वर्षपछि नेपाल फर्किए । त्यसपछि फेरि थाले पुरानै काम । विवाहित उनलाई भने श्रीमतीलाई माया गर्ने समय पर्याप्त नै छ । 

‘मैलै हालसालै यो लेखेको हुँ,’ उनले हास्दै भने, ‘अरुलाई माया गर्ने समय छैन भनेको मात्र हुँ ।’ अन्य सवारीमा देखेपछि आफूले पनि लेख्न लगाएको उनले बताए ।

उसो त सवारी साधनमा सबैले यस्तै मात्र लेखेका छैनन् । कसैले  ‘भगाई लैजाउला’ लेखेका छन् त कसैले  ‘माया नमार’ लेखेका छन् ।  ना२ख ५५४६ का चालक श्याम तामाङले आफ्नो सवारीमा ‘सबैले आफैलाई माया गर्छन्’ लेखेका छन् । ‘माया गर्न समय होइन, मन चाहिन्छ,’ उनले भने । 

प्रकाशित: १२ असार २०७४ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App