coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रेमध्वज–दुर्गालालको ठट्टा

तेजनारायण महर्जन

‘म १९८२ सालमा जन्मेको होइन,’ कवि दुर्गालाल श्रेष्ठले मुस्काउँदै भने, ‘अहिले ८२ वर्षको भएँ, १९९२ सालमा जन्मिएको हुँ म ।’ 

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल हासे । 

दुर्गालालले उमेर बताउनेबित्तिकै गायक प्रेमध्वज प्रधानले भन्न भ्याइहाले–‘म तपार्इंभन्दा एक वर्ष कान्छो, १९९३ मा जन्मेको ।’ 

प्रधानले उमेर बताउँदै गर्दा श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल हासे । 

कार्यक्रम औपचारिक नै थियो । कवि श्रेष्ठ र गायक प्रधान बीचको संवाद भने अनौपचारिक । पाको हँुदै गएपछि सायद औपचारिक कार्यक्रममा पुग्दा पनि मान्छे अनौपचारिक बन्न रुचाउँछन् । श्रेष्ठ र प्रधान यस्तै अनौपचारिक संवाद गर्दै थिए।

नेपाली र नेपाल भाषाका दुई स्रष्टालाई शनिबार यस्तो ख्याल ठट्टा गर्ने अवसर जुराइदिएको थियो– छैमले रिसोर्टले । बालखकालमा आफै पाउँ खान जाने रत्नपार्क पाउँ भण्डारका सञ्चाकद्वारा सुरु गरिएको रिसोर्टले गायक प्रधानलाई सम्मान गर्‍याे । अनि उनलाई सम्मानपत्र प्रदान गर्दै थिए–कवि श्रेष्ठ अतिथिका रूपमा । दुर्गालाल र प्रेमध्वजको ख्याल ठट्टा चल्दै गर्दा नजिकै बसेर मुसुमुसु हासिरहेका बरिष्ठ गायक भृगुराम श्रेष्ठले भने प्रधानकी जीवनसंगीनी किरणलाई खादाले सम्मान गरे । 

श्रेष्ठका शब्दमा कहिल्यै नरिसाउने प्रधानले दुर्गालाल र भृगुरामको शब्द तथा संगीतमा नेपाल भाषाको पहिलो गीत गाएका थिए । ‘२०१५ सालमा त्रिचन्द्र क्याम्पसमा साहित्य सम्मेलन हुँदै थियो, म नाम चलेको गायक भइसकेको थिएँ,’ प्रधानले भने, ‘एक जना दाइले तिमी नेपालभाषामा गीत गाऊ, म नाच्छु भन्दै दुर्गालाल र भृगुरामलाई भेटाइदिएका थिए ।’ दुर्गालाल र भृगुरामको शब्द तथा संगीतमा उनले त्यसै सम्मेलनमा पहिलो नेपाल भाषाको गीत, ‘व छु गल्ली, थ्व छु गल्ली...’ गाएका थिए । 

सयाैं नेपाली र सयभन्दा बढी नेपाल भाषाका गीत गाइसकेका उनलाई केही वर्षअघिसम्म आफूले कतिवटा नेपालभाषाका गीत गाइसके हेक्का थिएन । ‘एउटा एफएमको अन्तर्वार्तामा मलाई कतिवटा नेपालभाषाका गीत गाउनुभयो भनेर सोधियो’ प्रधानले भने, ‘मैले ३०÷३५ वटा जति भयो होला भने, प्रस्तोताले एफएमको लाइबे्ररीमै ७२ वटा रहेको बताए, त्यसपछि मैले खोजी गर्दा सयभन्दा बढी भइसकेको रहेछ ।’  

अहिले गीत रेकर्ड गर्न छाडिसकेका उनले कार्यक्रममा भने नेपाली र नेपालभाषाका एकएक गीत सुनाए । ‘आजकल स्वास्थ्यका लागि मात्र बिहान एक घण्टा र बेलुका एक घण्टा गाउँछु,’ उनले भने । कार्यक्रममा प्रेमध्वजको सम्मानमा उनका २० भन्दा बढी नेपाली र नेपालभाषाका गीत पवित्र कसाः, ज्योति घिमिरे, शेषनारायण श्रेष्ठ, दीप तुलाधर र ऐश्वर्य स्थापितले सुनाएका थिए । प्रेमध्वजले नेपाल भाषाको चर्चित ‘राजमति कुमति, जिके वःसा पिरती...’ गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । 

प्रधानालाई सम्मान गर्ने रिसोर्टका प्रबन्ध निर्देशक विजय श्रेष्ठले कार्यक्रम स्थल पुग्ने बित्तिकै प्रेमध्वजलाई सोधेका थिए, ‘म सानो छँदा तपाई हाम्रो पसलमा आउनुहुन्थ्यो नि हगि ?’ प्रेमध्वज मुस्कुराए मात्र । 

‘उहाँले मलाई त चिन्नुहुन्न होला, तर बुबालाई चिन्नुहुन्थ्यो, बुबा बेच्ने, उहाँ किन्ने’ पाउँ भण्डारका साहूले भने । ‘अँ चिन्छु, नीलकण्ठ होइन’ प्रेमध्वजले पनि पाउँ साहूलाई सम्झिए । 

प्रकाशित: १२ असार २०७४ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App