–श्रृजना आचार्य
माओवादी भएको आरोपमा २०६० मंसिर २३ गते सुरक्षाकर्मीले जबर्जस्ती पक्राउ गरेर लगेका चन्द्रकलाका श्रीमान् (भूपेन्द्रराज उप्रेती) अझै बेपत्ता छन् । नेपालगञ्जको धम्बोझी चोकमा हार्डवयरको पसल चलाएर परिवार धानेका उप्रेती पक्राउपछि चन्द्रकलालाई जीवनको जहाज नै खसेजस्तो भयो । ११ वर्षमुनिका तीन सन्तान, आफ्नो कलिलो उमेर जीवन जिउनै गाह्रो भएको उनी बताउँछिन् । श्रीमान्को खोजी गर्नु एउटा काम थियो भने छोराछोरीको पालनपोषण र पढाइ अर्काे जिम्मेवारी । घरको मूल मान्छे नै बेपत्ता भएपछि आम्दानीको बाटो पनि बन्द भयो । ‘बरु, मृत्युको पीडा समयसँगै कम हँुदै जान्छ होला तर पर्खाइको पीडा कहिल्यै कम नहुने रैछ,’ चन्द्रकला भन्छिन्, ‘बेपत्ता पारिएका श्रीमान् कति बेला टुप्लुक्क आइपुग्छन् कि जस्तो लाग्छ, जति समय बित्दै गयो उति याद ताजा हुँदै जानेरहेछ ।’
श्रीमान्लाई आफ्नैअगाडि सुरक्षाकर्मीले पक्राउ गरेर लगेपछि उनलाई राख्ने सम्भावना भएका सबै ठाउँ खोजी गरेको उनी बताउँछिन् । तर, अहिलेसम्म पनि उनको श्रीमान्को अत्तोपत्तो छैन । ‘एउटा जीवन हरायो, मेरासामु स–साना तीन जीवन थिए, उनीहरूको जिम्मेवारी मेरो काँधमा आयो,’ उनी भन्छिन्, ‘आफूलाई सम्हालेँ, मुटु दह्रो बनाएर उनीहरूको भविष्य बनाउनतिर लागेँ ।’
भूपेन्द्र बेपत्ता पारिँदा जेठा छोरा १२ वर्षका थिए भने छोरी १० र कान्छो छोरा नौ वर्षका मात्र थिए । ‘आम्दानीको बाटो केही थिएन,’ चन्द्रकला भन्छिन्, ‘सिमानाको भारतीय बजार रुपैडिहाबाट दैनिक उपभोग्य सामग्री ल्याएर बेच्न थालेँ ।’ विभिन्न घरेलु तालिमसमेत लिइन्, चन्द्रकलाले । ‘चाउमिन, दालमठ बनाउनेदेखि घरमा उत्पादन गर्न सकिने सामान बनाउने सीप सिकेँ,’ उनी भन्छिन्, ‘जीवन शून्यबाट सुरु गरेँ ।’
अहिले ती दिन सम्झिन पनि चाहन्न, चन्द्रकला । भन्छिन्, ‘आफ्नै सुरक्षा मुख्य चुनौती थियो, तीनबच्चाको जिम्मेवारी फलामको चिउरासरह थियो ।’ तर, उनले हार मानिनन् । बिस्तारै, जीवनले गति लिँदैथियो त्यतिखेरै अर्को वज्रपात उनीमाथि भयो । कान्छो छोरालाई ब्रेन ट्युमर भयो । काठमाडाैंमा उपचार नभएपछि उनलाई भारतको दिल्ली पु¥याउनुपरेको उनी सम्झिन्छिन् । अहिले पनि छोराको उपचार जारी छ । दिल्लीमा मात्र झन्डै १० लाख रुपैयाँ उपचारमा खर्च भएको उनी बताउँछिन् । ‘केही साथीभाइसँगको सहयोग लिएँ, रिन खोजेर छोराको अपरेसन गरियो,’ उनी भन्छिन्, ‘रिन तिर्न जेठो छोरालाई वैदेशिक रोजगारीमा पठाउनुपर्यो ।’
जीवनमा आएका दुःख र समस्याले आफूलाई बलियो बनाएको उनी बताउँछिन् । अहिले चन्द्रकला आफ्नो परिवारलाई मात्र हेरिरहेकी छैनन्, समाजमा भएका आफूजस्ता आवश्कता परेका महिलालाई पनि सहयोग गर्छिन् । द्वन्द्वमा आफन्त गुमाएकाहरूको संगठन निर्माण गरेर न्यायका लागि उनी संघर्षरत छिन् । ‘परिवारको जिम्मेवारीका साथ ‘न्यायका लागि द्वन्द्वपीडित समाज’ को अध्यक्ष पनि छु,’ उनी भन्छिन्, ‘घरको काम सकेर दिनभरि सामाजिक काममा व्यस्त हुन्छु ।’ केही वर्षअघिसम्म नयाँ मान्छे देख्दा धक मान्ने चन्द्रकला अहिले अरूका लागि आवाज उठाइरहेकी छिन् । ‘अन्यायविरुद्ध न्यायिक लडाइँ लड्न अरूको सहयोगी बनेर अड्डा–अदालत पुग्छु,’ उनी भन्छिन् ।
(नागरिक परिवारबाट साभार)
प्रकाशित: १२ असार २०७४ ०८:१९ सोमबार