coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मौन समयमा ओलीको प्रश्न:राजदूत कार्यकर्ता बन्न मिल्छ ?

पार्टी मुख्यालय धुमबाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओली। तस्बिर: दिनेश गोले

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले भयरहित वातावरणमा आफूले चाहेको प्रतिनिधिलाई मत दिन पाउने ढुक्कको अवस्था हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता ओलीले राज्यले शान्तिपूर्ण, स्वच्छ र कानुनसम्मतरुपमा निर्वाचन गराउनुपर्ने बताउँदै यसमा सरकार, राजनीतिक दल र सबै पक्षको दायित्व रहेको बताए। असार १४ गते प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ।

“सरकारले आफ्नो साधन स्रोत प्रयोग गरेर अस्वस्थ भ्रम, भय र लोभ सिर्जना गर्न हुँदैन, त्यस्तो भएमा उचित कारबाही गर्ने काम निर्वाचन आयोगको हो”, उनले भने, “आयोगको काम मतपत्र छाप्ने र वितरण गर्ने मात्र होइन देश, दुनियाँ र जनताले अनुभूति गर्ने प्रकारको निष्पक्ष निर्वाचन गराउने पनि हो।”

लोकतन्त्रको जग भनेकै निर्वाचन भएकाले यसलाई सम्पन्न गराउने क्रममा आयोगलाई एमालेका तर्फबाट कुनै अवाञ्छित दबाब नदिई पूर्णरुपमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। निर्वाचनमा खटाइएका अधिकृत, कर्मचारी र सुरक्षाकर्मी तथा पर्यवेक्षकको भूमिका आफ्नो पक्षमा होस् भन्ने चाहना सरकारमा हुँदा वा नहुँदा पनि एमालेले नराख्ने उनले स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री ओलीले भने, “निर्वाचनको स्वच्छतालाई दूषित गर्ने वा परिणामलाई प्रभावित गर्ने काम कसैबाट गर्नु हुँदैन। विदेशमा खटाइएका महामहिम राजदूतहरुलाई उतै रहेर देशको कूटनीतिक सम्बन्ध विस्तारको काम गर्दा हुन्छ, कार्यकर्तै हुन त किन नियुक्ति लिएर जानुपर्थ्यो र ?”

उनले दोस्रो चरणको निर्वाचनमा औपचारिक रुपमा भाग नलिए पनि राष्ट्रिय जनता पार्टी नेपालले स्वतन्त्र उम्मेदारका माध्यमबाट भाग लिएकामा सकरात्मक ठान्दै सरकारले प्रदेश नं २ मा तेस्रो चरणमा सार्ने सरकारको निर्णयको आलोचना गरे। उनले तेस्रो चरणको निर्वाचनअघि राष्ट्रियतामा आँच आउने संविधान संशोधनको प्रयास गरिए मान्य नहुने पनि उल्लेख गरे।

‘निर्वाचनका क्रममा सुनसरी, रुपन्देही, बाजुरा र डडेल्धुरालगायत जिल्लामा आचारसंहिता उलङ्घन र अवाञ्छित क्रियाकलाप भएकामा’ चिन्ता व्यक्त गर्दै पहिलो चरणको निर्वाचनमा दोलखामा आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको हत्या, कतिपय केन्द्रमा बुथ कब्जा, मतपत्र च्यात्ने जस्ता घटना नदोहोर्‍याउन आग्रह गरे। रासस

 

 

प्रकाशित: १२ असार २०७४ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App