७ वैशाख २०८१ शुक्रबार
राजनीति

मतदाता परिचयपत्र लिन उत्साह

इलाम-   इलाम नगरपालिका–५, बरबोटेका ८१ वर्षे राधाकृष्ण घिमिरेले सोमबार घरनजिकैको सिद्धेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्र पुगेर आफ्नो स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र लिए। लामो समयपछि चाडझैं उत्साह लिएर आएको निर्वाचनमा भोट हाल्न पाउँदा उनी निकै हर्षित पनि छन्।

                ‘२० वर्षपछि भोट हुन आँटेको छ, छोरा–नाति–नातिनाले समाजको सेवा गर्ने अवसर पाउने भए,’ उनी भन्छन्, ‘पर्सि घाम लागो भने भोट हाल्न आफैं हिँडेर जान्छु, पानी परो भने पनि कसैलाई साथ लिएर भएपनि भोट हाल्न नगई कसरी मन मान्छ र !’ चुनावपछि गाउँमा विकासको घाम झुल्किने, युवापंक्तिले समाजको नेतृत्व गर्ने अवसर पाउने र गाउँको मुहार फेरिने आस छ उनलाई।

                पटक–पटकका निर्वाचनमा भोट हालिसकेका वृद्ध घिमिरेलाई चुनावी चाड त्यसै लागेको होइन। ‘पहिलेका चुनावमा भोटमात्रै हालेको होइन, भोटमा प्रहरीका रूपमा समेत काम गरेको थिएँ, अहिले पनि स्थानीय चुनाव आउनेबित्तिकै युवा उमेरको भल्को आउँछ,’ पहिलेका निर्वाचनमा खटेको प्रमाण ‘स्थानीय निर्वाचन–२०४६’ लेखिएको परिचयपत्र देखाउँदै उनी भन्छन्, ‘अब कहिल्यै हुँदैन होलाजस्तो लागेको थियो, १ कोरी वर्ष बितेपछि धन्न चुनाव भयो।’

                गाउँमा जनप्रतिनिधि हुँदा सर्वसाधारणले सोझै सुविधा पाउने र भ्रष्टाचार कम हुने उनको आशा छ। ‘घर–जग्गाको साँध–सीमामा झगडा हुँदा अब पुलिस–अदालतसम्म पुगिरहनुपर्दैन,’ उनी थप्छन्, ‘पुलिसमा मिलेको मुद्दाभन्दा जनप्रतिनिधि बसेर मिलेको मुद्दा अलि भित्रैदेखि (भावनात्मक रूपले) मिल्छ पनि।’ गाउँमा बिजुली, कुलो, खानेपानी, स्कुल, अस्पताललगायतका सेवा दिन अब जनप्रतिनिधिले सघाउने आस छ उनलाई । ‘लामो समय चुनाव नहुँदा गाउँका मान्छेले निकै दुःख पाए,’ चुनाव भएपछि मजस्ता वृद्धले मात्रै होइन, सबैले सुख पाउँछन्।’

                सूर्योदय नगरपालिका–६ का ८९ वर्षे रसबहादुर लेप्चाले पनि भोट हाल्न चाहिने मतदाता परिचयपत्र आफ्नो मतदान केन्द्रबाट लिए। उनी वृद्धावस्थामा भोट हाल्न पाएर निकै उत्साही देखिएका छन्। ‘हाम्रो गाउँमा खानेपानीको निकै संकट छ, फिक्कल बजार नजिकै भएर पनि यो गाउँ विकासमा ओझेलिएको थियो,’ उनले सुनाए, ‘अब जितेर आउने गाउँका नेताले घरमा खानेपानी ल्याइदिन्छन् भन्ने आसले पनि भोट हाल्न त नगई भएको छैन ।’ उनले मतदाता परिचयपत्र चाहिँ घरमै पुर्‍याउने व्यवस्था गरिदिए वृद्धवृद्धाले दुःख नपाउने बताए।

                निर्वाचन आयोगले असार १४ को निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण थालेपछि युवादेखि वृद्धवृद्धासम्मले उत्साहसाथ परिचयपत्र लिइरहेका छन् । साविक बरबोटे गाविस मतदान केन्द्रमा मतदान अधिकृत भविन्द्र भट्टराईले यहाँका तीन वटै मतदान केन्द्रबाट दिनमा हजारभन्दा बढी परिचयपत्र वितरण भइरहेको बताए । ‘परिचयपत्र लिन आउनेको भीड छ,’ उनले भने, ‘प्रहरीलाई पनि परिचयपत्र लिनेको व्यवस्थापन मिलाउन हम्मे परेको छ ।’ त्यही मतदानस्थलको अर्को केन्द्रका मतदान अधिकृत हरि दाहालले बिहानैदेखि मतदान केन्द्रमा परिचयपत्र लिनेको घुइँचो उस्तै रहेको बताए । ‘मतदाता परिचयपत्र वितरण गर्दा अहिले पनि पानी परिरहेको छ तर मतदाताहरू हुलका हुल आइरहेका छन्,’ दाहालले भने।

                जिल्लाका २ सय ४९ वटै मतदान केन्द्रमा परिचयपत्र वितरण धमाधम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आयोगले देशभरका ३५ जिल्लामा गर्न लागेको दोस्रो चरणको स्थानीय निर्वाचनको मतदाता परिचयपत्र आइतबारदेखि मंगलबारसम्म वितरण गरिरहेको छ । मतदाता परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाटै वितरण भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए । ‘जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र निकै उत्साहसाथ मतदाता परिचयपत्र वितरण भइरहेको जानकारी आएको छ,’ उनले सोमबार दिउँसो भने, ‘अहिलेसम्म ६५ प्रतिशतभन्दा बढी परिचयपत्र वितरण भइसकेको छ । भोलि (मंगलबार) साँझसम्म वितरण गरिसकिनेछ।’

                मतदान केन्द्रहरूमा मतदाताको लाइन व्यवस्थापन, कर्मचारीहरू बसेर नाम रुजु गर्ने, मतपत्र वितरण गर्ने, मतपेटिका राख्नेजस्ता तयारी भइरहेका छन् । गाउँका मतदान केन्द्रमा बाँस, भाटा र सहरका केन्द्रमा डोरी वा सुत्ली टाँगेर मतदानस्थल व्यवस्थापन गरिँदै छ । सबै मतदान केन्द्रमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकारी काफ्लेले बताए । जिल्लामा १० स्थानीय तहमध्ये ४ नगरपालिका र ६ गाउँपालिका छन् । जिल्लाको कुल जनसंख्या २ लाख ९० हजार २ सय ५४ छ। मतदाता संख्या १ लाख ८९ हजार २ सय ७४ रहेको निर्वाचन कार्यालयले जनाएको छ।

 

 

 

 

प्रकाशित: १२ असार २०७४ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App