१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन तयारी पूरा, ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ।

दोस्रो चरणअन्तर्गत बुधबार हुने निर्वाचनका लागि मतपत्र र मतपेटिका सम्पूर्ण मतदान केन्द्र पुगिसकेको, कर्मचारी र सुरक्षाकर्मी परिचालित भइसकेको, मतदाता परिचयपत्र वितरण भइरहेको र वर्षाको कारण मतदान प्रभावित हुन नदिन पाललगायतका सामग्री व्यवस्था गरिएकाले सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ।

'निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेका छन्। कर्मचारी, सुरक्षाकर्मी अब मतदाताको प्रतीक्षामा छन्' – नरेन्द्र दाहाल, निर्वाचन आयुक्त।

दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएपछि सबै उम्मेदवार र राजनीतिक दलको खुला प्रचारप्रसार बन्द छ। निर्वाचनमार्फत ३५ जिल्लाका ६४ लाख ३२ हजार सात सय ६५ मतदाताले मत खसाल्न पाउनेछन्।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। 'निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेका छन्। कर्मचारी, सुरक्षाकर्मी अब मतदाताको प्रतीक्षामा छन्,'  दाहालले भने, 'वर्षाका कारण निर्वाचन सामग्री र मतदान प्रभावित हुन नदिन मतदान केन्द्रहरूमा पालको व्यवस्था गरिएको छ। आफ्नो गाउँ बनाउन पाँच वर्षका लागि राम्रो जनप्रतिनिधि चुन्ने मौका हो। छाता ओढेर पनि मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्दछौं।' उनले वर्षा हुन सक्ने भएकाले सबै मतदानस्थलमा पालको व्यवस्था गर्न र निर्वाचन सामग्रीको सुरक्षामा विशेष सतर्कता अपनाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकेको जानकारी दिए।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पहिलो चरणको स्थानीय तह निर्वाचनभन्दा दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी भएको र मतगणना परिणाम पनि छिट्टै आउने दाबी गरे। 'धेरै समूह बनाएर मतगणना गर्ने र चाँडै परिणाम निकाल्ने व्यवस्था गरेका छौं,' शर्माले भने, 'निर्वाचनका लागि आयोग पूर्ण तयारी अवस्थामा छ।'

आयोगले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि अब मतगणनाका क्रममा सुरक्षामा विशेष ध्यान दिने भएको छ। 'मतदान स्थल र मतगणनास्थलको विशेष सुरक्षा व्यवस्था मिलाउन आयुक्तहरू नै  विभिन्न जिल्ला घुमेर मुख्य/निर्वाचन अधिकृत र सुरक्षा निकायका पदाधिकारीलाई आवश्यक निर्देशन दिइसकेका छौं,' दाहालले भने 'सुरक्षामा आयोग विशेष सतर्क छ।'

निर्वाचनमार्फत १ महानगरपालिका, ७ उपमहानगरपालिका, एक सय ११ नगरपालिका र दुई सय १५ गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्य निर्वाचित हुनेछन्। जसमा १५ हजार ३८ पदका लागि झन्डै ६२ हजार उम्मेदवार प्रतिस्पर्धामा छन्।

देशभरका सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३,४ र ६ का दुई सय ८३ स्थानीय तहमा गत वैशाख ३१ गतेनै पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ। प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते हुने कार्यक्रम छ।

००

तीन दिनभित्र जिल्ला सभा डाक्नू

निर्वाचन आयोगले पहिलो चरणमा गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भएकमा जिल्लामा तीन दिनभित्र जिल्ला सभाको बैठक बोलाई जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गर्न स्थानीय विकास अधिकारीहरूलाई निर्देशन दिएको छ।

गाउँपालिका र नगरपालिकाको परिणाम आएको ३० दिनभित्र जिल्ला सभा बोलाउन संविधानमा भएको व्यवस्था कार्यान्वयनमा नआएपछि आयोगले तीन दिनभित्र जिल्लासभाको बैठक बोलाई जिल्लासभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरेर आयोगमा जानकारी गराउन निर्देशन दिएको हो।

आयोग बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा ४९ बमोजिम त्यस्तो आदेश जारी गर्ने र जारी गरिएको आदेश नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशन गर्नेसमेत निर्णय गरेको छ। 'प्रचलित संघीय कानुनमा जिल्लासभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्लासभाको बैठक बसी संख्या निर्धारण नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन नसकिने देखिएपछि आयोगले त्यस्तो निर्णय गरेको हो,' आयोग प्रवक्ता शर्माले भने।

नेपालको संविधानको धारा २२० को उपधारा (३) मा जिल्लासभाले बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको र सो प्रयोजनका लागि जिल्लासभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नुपर्ने व्यवस्था छ। सोही धाराको उपधारा (२) बमोजिम गाउँसभा र नगरसभा निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिनभित्र जिल्ला सभाको बैठक बस्ने व्यवस्था छ।

प्रकाशित: १३ असार २०७४ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App