coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनाइयो प्रेम र सद्भावको पर्व 'इद उल-फित्र'

वीरगन्ज- मुस्लिम समुदायले उनीहरूको पवित्र महिना 'रमजानउल –मुबारक' अर्थात् 'रोजा' प्रेम र सद्भावको पर्व 'इद उल–फित्र' अर्थात् 'इद'मनाएर सोमबार समापन गरेका छन्। हरेक वर्ष मनाइने इद इश्लाम धर्मावलम्बीको सबैभन्दा महत्वपूर्ण पर्व हो।

आइतबार साँझ 'दुज' (द्वितीय) तिथीको चन्द्रमा देखेपछि सोबमार बिहान सामूहिक नामाज (प्रर्थना) गर्दै मुस्लिमहरूले इद मनाएका हुन्। वीरगन्जमा सबै मुस्लिमले शुभकामना साटासाट गर्दै हर्षोउल्लास र धुमधामकासाथ इद मनाएका छन्। इदका दिन सेबई र अन्य मिठा–मिठा परिकार बनाई खाने तथा खुवाउने चलन छ। वीरगन्जमा मुस्लिमको पर्व इदमा हिन्दूहरूको पनि व्यस्तता बढेको देखिएको छ। यहाँका हिन्दूहरूले पनि इदका अवसरमा मुस्लिम समुदायका इष्टमित्रसँग शुभकामना तथा वधाई साटासाट गरेका थिए। मुस्लिम इस्टमित्रका घरमा सेवई खाने र बधाई आदान प्रदान गर्नेमा हिन्दू समुदायका व्यक्तिको पनि व्यस्तता देखिन्थ्यो। स्थगित भएको चुनावको रन्को इदमा पनि देखियो। मुस्लिम बाहुल्य टोलमा नेताहरूको लर्को देखिएको थियो।

'साथीभाइलाई हामीले निम्तो गरेर बोलाएका हौं, जो राजनीतिसँग जोडिएको छ, उसकहाँ स्वभाविक रूपमा राजनीतिक व्यक्ति आउने नै भए,' मुस्लिम बाहुल्य क्षेत्र मुर्लीको नयका टोलास्थित आफ्नो घर नजिक दर्जनौं नेताहरूलाई सेवई खान जमघट गराएका राजपा नेता मुस्तकिम अन्सारीले भने, 'आनन्दको पर्व हो, खाई खुवाई सकिएपछि मस्त निदाउछुँ, एक महिनाको थकाइ मार्छु।' करिव एक महिनाको कडा उपासनापछि आइतबार साँझ इदको चाँद हेरी आज नजिकको मस्जिद र इदगाहमा पुगेर अल्लाहसँग प्रार्थना गरेँ।' करिव एक महिना अगाडि चन्द्रमा हेरेर ब्रत सुरु गरेको दैनिक करिब १७ घण्टा निराहार र निर्जला बस्दै दिनभरीमा पाँच पटकसम्म नमाज पढेर रोजा बसेको उनले बताए। रोजामा सूर्यास्तपछि र सूर्योदयअघि मात्र अन्नजल मुखमा हालिन्छ।

 'उपासना, प्रार्थना र सद्भाव साटासाटकको पर्व हो यो,' हाजीलालबाबु शेषले नागरिकलाई भने, 'आचरणमा बसेर मनाइने रामजानले धार्मिक मान्यताप्रति गहिरो लगाव देखाउँछ, र धर्मले प्रदर्शन गरेको पथमा अगाडि बढ्न प्रेरणा दिन्छ, 'इद उल–फित्र'ले आपसीभाइचारा बढाउने गर्दछ।'  इदका दिन ब्रतालुहरू बिहानै नजिकको मस्जिद र इदगाहमा पुगी सामूहिक रूपमा नमाज पढेर आफू वा आफ्नो परिवारबाट भएका सबै गल्तीको क्षमायाचना गर्दै अल्लाहसँग आर्शिवाद लिन्छन्। बीरगंजमा बसोबास गर्ने करिब २५ हजार स्थानीय मुस्लिम समुदायले यहाँका लाठगल्ली, छपकैया, मुर्ली, नयकाटोला, गण्डक, नगवा, लगायतमस्जिद र इदगाहमा पुगी नमाज पढी दुवा मागेका थिए। त्यसपछि उनीहरूले एक आपसमा  अंगालो हालेर, शुभकामना आदान प्रदान गरेका थिए।

प्रकाशित: १३ असार २०७४ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App