७ वैशाख २०८१ शुक्रबार
समाज

'लाइफलाइन'मा लापरवाही

चितवन- राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने 'जीवन रेखा (लाईफ लाइन)'को रूपमा रहेको नारायणगढ मुग्लिन सडक अहिले 'मृत्यु मार्ग' जस्तै डरलाग्दो बन्न पुगेको छ।

यात्रु बसदेखि समान ढुवानी गर्ने ठूला–ठूला ट्रक र कन्टेनरसम्म गरी  १० हजार भन्दा बढी सवारी साधन गुड्ने यो सडक बिस्तार कार्य समयमा नसक्दा यात्रुहरू त्रासदीमा यो सडक पार गर्न बाध्य बनेका छन्। सडक फराकिलो बनाउन भन्दै दुई वर्षअघि विस्तारको काम सुरु भएको यो सडकखण्डको तोकिएको समयभन्दा तीन महिना बढी हुँदा पनि आधा मात्रै पूरा भएको छ। बाटो फराकिलो बनाउन ठाउँठाउँमा पहाड काटिएका स्थानमा बर्षात्सँगै पहिरो खस्न थालेपछि यात्रु तथा सवारीमाथि थप जोखिम बढेको छ।  

ज्यान जाँदासमेत ध्यान कम दिइएको काम : 

 असार लागेपछि पटक पटक पहिरो आएर सडक घण्टौं जाम हुनुका साथै यात्रा गर्नेहरूको ज्यानै जान थालेपछि आइतबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले सडक निर्माण आयोजनाका अधिकारी र निर्माण कम्पनीसहितको सर्वपक्षीय बैठक राखे। बैठक सुरु हुँदा उनले नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवलाई देखेनन्।

 'खै त आयोजना प्रमुख ज्यू' प्रजिअ भट्टले सोधे। कसैले भन्यो 'उहाँ त अमेरिका जानुभएको छ।' प्रजिअ भट्टले थपे 'व्यक्तिगत रूपमा कि सरकारले पठाएर जानु भएको?' सरकारले पठाएर भन्ने जवाफ सुनेपछि भट्टले व्यंग्यात्मक पाराले भने 'आयोजनाको काम राम्रो भयो भनेर अवसर दियो कि क्या हो?' सडकमा अहिले जुन बेहाल छ यस्तो बेला आयोजना प्रमुख सम्बन्धित क्षेत्रमै खटेर काममा ध्यान दिनुपर्ने भए पनि उनी त्यसलाई वेवास्ता गर्दै देश बाहिर रहेका छन्।

 आयोजना प्रमुख यादव सडक र ऊर्जा आयोजनामा दिइने ऋण सहयोग सम्बन्धी अमेरिकी सरकारले आयोजना गरेको बैंठकमा भाग लिन उनी त्यसतर्फ लागेका थिए। पूर्व  निर्धारित कार्यक्रममा उनी अमेरिका गएपटि सडक आयोजना नेतृत्व बिहिन बन्दा भएको ढिलाइबारे सरोकारवालाले प्रश्न उठाएका छन् । त्यत्ति मात्र होइन सडक निर्माणमा के कति कामदार खटेका छन् भन्ने समेत जिम्मेवार निकायलाई थाहा छैन। सोही जिज्ञासा बैंठकमा उठेपछि निमित्त प्रमुख गोविन्द खनालले उक्त दिन नसकेर निर्माण कम्पनीका प्रतिनिधिलाई सोधेका थिए। खनालको उत्तरबाट असन्तुष्ट बनेका प्रजिअ भट्टले 'कामदार मेशिन औजार के कति छन् भन्ने विवरण राख्ने जिम्मा त तपाईंको हो। किन उता फर्केर अरुलाई सोध्नु हुन्छ?' भनी प्रश्न गरेका थिए। पछिल्लो समय गत बिहीबार सो मार्गको कालीखोलामा राति पहिरो जाँदा प्रहरी चढेको भ्यान पहिरोमा पर्दा चारजनाको ज्यान गएको थियो।

त्यसपछि २० घण्टा अवरुद्ध बनेको सडक पुनः पटक पटक अवरुद्ध बनेको छ। बर्षात्को समयमा सडकको समस्या झन् डरलाग्दो बन्दा पनि आयोजना सम्बद्ध अधिकारीहरू  गम्भीर नभएको भन्दै बैठकमा सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले यसअघि भएका निर्णय समेत कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन्।

 

 प्रमुख जिल्ला अधिकारी भट्टको रोहबरमा यसअघि भएका तीनवटा बैठकमा आयोजनाको अगुवाईमा प्रहरीसहितको र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) बनाउने सहमति भए पनि सो बन्न सकेको छैन। तीन चारजना प्रहरीसहित गाडीमा बसेर आरआरटीले बाटोमा गाडी जाम हुनुको कारण, पहिरो खस्ने सम्भावनाको आँकलन गर्ने योजना भए पनि हालसम्म आरआरटी नै बन्न  सकेको छैन।

 'आरआरटी बनेको भए सायद बिहीबार रातिको दुखद घटना नहुन सक्थ्यो कि? सावधानी अपनाउने विषयमा हामी गम्भीर बनेनौं। अब त्यस्तो हुनु भएन,' बैठकमा प्रमुख जिल्ला अधिकारी भट्टले भने। आरआरटी मात्रै नभइ पहाड काटेपछि अरु बेला ढुंगा माटो नखस्ने बनाउने भन्ने निर्देशन पनि पालना भएको छैन। सबैभन्दा महत्वपूर्ण जेठ १५ सम्म पहाड काट्ने काम सक्ने निर्देशन पनि पूरा भएको छैन।

लक्ष्य सधै अपुरो, बहाना भने पर्याप्तः

 नारायणगढ मुग्लिन सडक विस्तारका लागि सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्नेगरी सम्झौता गरिएको थियो। तर, समयावधि सकिएको तीन महिना नाग्दा ५० दशमलब ९४ प्रतिशत मात्रै निर्माण कार्य सकिएको अयोजनाका सूचना अधिकारी शिव खनालले बताए।  निर्माण पूरा हुनुपर्ने म्याद थपेर आउँदो डिसेम्बरसम्म पुर्‍याइएको छ।

थप भएको नयाँ समय सिमा अनुसार पनि यो बेलासम्म ६८ दशमलब ५५ प्रतिशत काम हुनु पर्ने हो। तर निर्माण कार्य जहिले पनि लक्ष्यभन्दा कम नै हुँदै आएको छ। गत वर्षको असारसम्म आयोजनाको काम ४० प्रतिशत पूरा हुनुपर्नेमा २१ प्रतिशतको हाराहारीमा मात्र काम भएको थियो।

भूकम्प र नाकाबन्दीका कारण इन्धन अभावले काममा ढिलाइ भएको निर्माण कम्पनीले गुनासो गरेपछि निर्माण सम्पन्न हुने अवधि अप्रिलको साटो सेप्टेम्बरसम्म पुर्‍याइको थियो। निर्माण सम्पन्न हुने अवधि सेप्टेम्बरलाई मान्दा गत वर्षको चैत्रसम्म ७८ प्रतिशतसम्म काम पूरा सकिनुपर्नेमा त्यस बेलामा जम्मा ४१ प्रतिशत मात्रै काम सकिएको थियो। सो बेला 'यो पटक मनसुनमा सोच्दै नसोचेको धेरै वर्षा भएर काम प्रभावित भयो,' भन्ने जवाफ दिएर निर्माण व्यवसायीले दायित्व पन्छाएका थिए।  

 गत चैतमा फेरि समय थप भएर निर्माण अवधि डिसेम्बरसम्म पुर्‍याइएको पनि लक्ष्य अनुरूप काम भने भएको छैन। उनीहरूले गाडीको चाप बढी भएको, एकतर्फी यातायात सञ्चालन गरेर काम गर्न सकिन्छ भन्ने रहेकोमा त्यसो गर्न नसकिएका कारण काम ढिलो भएको बताउँदै आएका छन्।

कामादार र औजार उपकरणको कमी

सडक विस्तारमा चाहिने जति मेशिन औजार र कामदार प्रयोग भएन भन्ने अनुभव निर्माण कार्यको अनुगमन गर्दै आएका स्थानीयको छ। 'एउटा घरको ढलान हुँदा त ५०/१०० जना मान्छे जम्मा हुन्छन्। अन्तराष्ट्रिय स्तरको राजमार्ग बन्दा काम गर्ने मान्छे देख्न नै गाह्रो छ,' भरतपुर महानगरपालिका वडा नं. २९ का नव निर्वाचित वडाध्यक्ष मानबहादुर थापामगरले भने।

 नारायणगढ मुग्लिन सडकले उनको वडाको धेरै नै भाग छिचोलेको छ। उनको बसोबास राजमार्ग आडको जुगेडीमा छ। 'म बेलाबेलामा के काम भएको छ भनेर घुम्ने हेर्ने गर्छु। तर, काम गर्ने मान्छे कतै कतै १०/२० जना देखिन्छन्। एक्जाभेटर, लोडरलगायतका उपकरण पनि अत्यन्त कम देखिन्छ। यसरी काम गरेर कहिले सक्नु?,' वडाध्यक्ष मानबहादुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा भने।

 नारायणगढ मुग्लिन सडक खण्ड ३६ किलो मिटर लामो छ। यसमध्ये ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ। अहिले पाँच मिटर मात्रै चौडाइ रहेको सो सडकलाई नौदेखि ११ मिटर फराकिलो बनाउने योजना रहेेको छ। ३३ किलो मिटरलाई तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई कामको जिम्मा लगाइएको छ। प्रत्येक खण्डमा एउटा नेपाली र एउटा भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मा लिएका छन्।

 प्रत्येक खण्डमा छ छवटा डोजर हुनु पर्ने सम्झौतमा उल्लेख छ। तर, तोकिएको संख्यामा काम गरेको कहिल्यै नदेखेको बैठकमा वडाध्यक्ष मानबहादुर थापामगरले बताए। चैत्र २९ मा प्रमुख जिल्ला अधिकारीको सक्रियतामा बसेको बैठकले कामदार र औजार उपकरण थपेर भए पनि जेठ १५ गतेभित्र पहाड काट्ने काम सक्ने भन्ने निर्णय गरेको थियो।

 तर अहिलेसम्म पहाड काट्ने कामसमेत बाँकी नै छ। आँपटारीदेसख दासढुंगासम्मको एक नम्बर क्षेत्रमा काट्ने काम प्राय सकिएको छ। तर दासढुंगादेखि सिमलतालसम्मको दुई नम्बर खण्ड र सिमलतालदेखि मुग्लिनसम्मको तीन नम्बर खण्डमा पहाड काट्ने काम बाँकी छ। दुई नम्बर खण्डमा पाँच सय मिटर र तीन नम्बर खण्डमा तीन सय मिटर कटिङको काम बाँकी छ।

 अब वर्षा सकिएपछि मात्रै कटिङको काम गर्न सम्भव छ। कटिङलाई मात्रै थप दुईदेखि तीन महिना लाग्ने निर्माण कम्पनीको प्रतिनिधिहरू बताउँछन्। हाल नारायणगढ मुग्लिन सडक आयोजानामा तीनवटै खण्डमा गरेर ३ सय ४१ जना कामदार कार्यरत छन्। यो संख्या पर्याप्त नहुने अरुको भनाइ छ।

 'जामका कारण बाटो पार हुन घण्टौं लाग्दथ्यो। त्यो त कायमै छ अब त मान्छेको ज्यानै जान थाल्यो। माथिबाट पहिरो समेत आउन थालेपछि जाममा परेका यात्रुहरू त्राहीमाम बन्दै गएका छन्। त्यसैले हामी गम्भीर बनौं,' प्रजिअ भट्टले भने। आउँदो डिसेम्बरमा पनि काम नकिने पक्का भएको छ।

 'अब पनि खुरुक्क समय थप्ने हो भने यस्तो समय थप्ने काम पटक पटक हुन्छ। निर्माण कम्पनीले काम गरेर देखाउनु पर्छ। नभए कारवाही गर्नु पर्‍यो' वडाध्यक्ष मानबहादुर मगरले बैठकमा माग गरे। प्रमुख जिल्ला अधिकारी भट्टले सर्वसाधरणले देख्ने गरेर काममा प्रगति गर्न आयोजानका अधिकारीहरूलाई निर्देशन दिए। 

 सो बैठकमा नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिव खनालले २९ ठाउँमा पहिरो जाने खतरा रहेको बताए। आयोजनाले भुगर्भविद्लाई गराएको अध्ययनबाट पहिरोग्रस्त क्षेत्रको पहिचान भएको हो। उनका अनुसार २९ मध्ये आधा स्थान जुगडीदेखि मुग्लिनसम्मको क्षेत्रमा छन्। मुग्लिनदेखि जलबिरेसम्मको दूरी सात किलोमिटर छ।

 असार लागेपछि कालिखोला क्षेत्रमा लगभग दिनहुँ जसो पहिरो जाने गरेको छ। पहिरोका कारण बन्द यातायात खुल्न २० घण्टासम्म लाग्ने गरेको छ। बाटो बनाउन सुरु भएपछि पहिरोमा परेर तीनजना प्रहरीसहित पाँचजनाको  निधन भएको छ। एकजना प्रहरी वेपत्ता छन्। निकै सुस्त रहेको निर्माण कार्य समयमा पुरा गर्न र पहिरोको खतरा रोक्न सानो तिनो इच्छाशक्तीले सम्भव नहुने भुक्तभोगीको भनाइ छ।

प्रकाशित: १३ असार २०७४ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App