coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रहानेको शतकमा भारत विजयी

पोर्ट अफ स्पेन- एकदिवसीय क्रिकेटमा तेस्रो शतक पूरा गरेका अजिन्क्या रहानेलाई कप्तान विराट कोहलीले बलियो साथ दिएपछि भारतले आइतबार वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा १ सय ५ रनको विजयी नतिजा निकालेको छ।

क्विन्स पार्क ओभलमा वर्षाले खेल प्रभावित भएपछि ४३ ओभरमा छोट्याइएको खेलमा भारतले पाँच विकेट गुमाएर ३ सय १० रनको योगफल बनाएको थियो। ओपनर साई होपले ८१ रनको योगदान गर्नाका बावजुद ३ सय ११ रनको लक्ष्य पछयाउँदा वेस्ट इन्डिजले ६ विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो।

दुई दिनअघि भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण अवरुद्ध बनेपछि चार खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ। तेस्रो खेल शुक्रबार तथा चौथो खेल आइतबार हुनेछ।

रहानेले १ सय ३ रन बनाएर शिखर धवनसँग १ सय १४ रनको साझेदारी गरेपछि पानीले भिजेको पिचमा भ्रमणकारी भारतले सम्मानजनक स्कोर बनाउन सफल भएको थियो।

‘च्याम्पियन्स ट्रफी खेल्न नपाएको अवस्थामा म यहाँ राम्रो प्रदर्शन गर्नका लागि आतुर थिएँ,’ म्यान अफ दी म्याच रहानेले भने, 

‘धवनसँग ब्याटिङ गर्दा मैले भरपूर मनोरञ्जन लिएँ। किनकि उनीसँग खेल्न सहज हुन्छ।’

एस्ले नर्सको बललाई होपको हातमा क्याच सुम्पिँदै धवन (६३) पवेलियन फर्किएपछि रहानेले कप्तान कोहलीले साथ पाएका थिए। ६६ बलमा ४ चौका र ४ छक्कासहित ८७ रन बनाएका कोहलीले रहानेसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।

वेस्ट इन्डिजका लागि सबैभन्दा किफायती बलिङ गरेका नर्सले ९ ओभरमा ३८ रन दिएका थिए। त्यसबाहेक अल्जारी जोसेफले २ विकेट लिँदा जेसन होल्डर र मिगुएल कुमिन्सको नाममा १/१ विकेट रह्यो।

१ सय ४ बलमा १० चौका र २ छक्का हानेका रहानेलाई अन्तत दायाँ हाते तीव्र गतिका बलर कुमिन्सले बोल्ड गरेका थिए। हार्दिक पाण्डेय ४ रनमा आउट हुँदा युवराज सिंहले १४ रन जोडे। महेन्द्रसिंह धोनी र केदार जाधव समान १३ रनमा अविजित रहे।

‘सम्पूर्ण टोलीको उत्कृष्ट प्रदर्शनबाट म धेरै खुसी छु,’ भारतका कप्तान कोहलीले भने, ‘म शतक बनाउनबाट चुक्नु ठूलो होइन। टोलीको जित महŒवपूर्ण हो।’

तेस्रो ओभर सकिँदा दुई विकेट गुमाएको अवस्थामा होपले आक्रामक ब्याटिङ गर्दै वेस्ट इन्डिजको आशा जीवित राखेका थिए। ८८ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका होपलाई कुलदीप यादवले एलबिडब्लु आउट गरेका थिए। होपबाहेक रोस्टन चेजले अविजित ३३ रन बनाए भने इर्भिन लुइसले २१ रन जोडे। घरेलु टोलीका कप्तान जेसन होल्डरले २९ रन बनाउँदा नर्स १९ रनमा अविजित रहे।

‘आज विशेष गरी हामीले बलिङ राम्रो गर्न सकेनौं। उनीहरूले इनिङको अन्त्यतिर धेरै रन जोडे,’ वेस्ट इन्डिजका कप्तान होल्डरले भने, ‘आगामी खेलका लागि हामीले टिम चयनमा पनि राम्ररी सोच्नुपर्छ।’

भारतका कुलदीपले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिए। रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो।

प्रकाशित: १३ असार २०७४ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App