८ वैशाख २०८१ शनिबार
खेल

नेपाल स्टोर्मको लगातार तेस्रो जित

काठमाडौं- जितेन्दर शर्माले २४ बलमा ५७ रन बनाएपछि नेपाल स्टोर्मले सोमबार एसियन क्लब प्रिमियर लिगमा इन्डियन्स स्टार्सलाई ४ विकेटले पराजित गरेको छ। जितेन्दरले ५७ रन बनाउनुका साथै अमरसिंह राउटेलासँग सातौं विकेटका लागि २३ बलमा ५५ रनको साझेदारी गरेपछि इन्डियन्स स्टार्सले दिएको १ सय ७२ रनको लक्ष्य नेपाल स्टोर्मले १६.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

नेपाल स्टोर्मको यो लगातार तेस्रो जित हो। नेपाल स्टोर्मले यसअघि श्रीलंकन लायन्सलाई १ विकेट तथा बंगलादेश टाइगर्सलाई ७ विकेटले हराएको थियो। इन्डियन्स स्टोर्मले अहिलेसम्म जित निकाल्न सकेको छैन। पहिलो खेलमा श्रीलंकन लायन्ससँग ५३ रनले हारेको इन्डियन्स स्टार्स दोस्रो खेलमा अफगानिस्तान बुल्ससँग १९ रनले पराजित भएको थियो।

४.१ ओभरमा २३ रन बनाउँदा ४ विकेट गुमाएको नेपाल स्टोर्मको इनिङलाई परेश लोहनी र विनीत ध्यानीले उकासेका थिए। ३२ बलमा २६ रन बनाएका परेशले ध्यानीसँग चौथो विकेटका लागि ४० बलमा ५९ रनको साझेदारी गरेका थिए।

ध्यानीलाई सचिन कुमारले बोल्ड गरेपछि परेशले जितेन्दरसँग पाँचौं विकेटका लागि ३८ रनको साझेदारी गरे। जितेन्दरले २४ बलमा अविजित ५७ रन बनाउँदा अमरसिंह २१ बलमा अविजित रहे। अमरसिंहले १० बल खेलेका थिए।

इन्डियन्स स्टार्सका लागि सचिन कुमार र अमनदिप सिंहले समान २/२ विकेट लिए भने अमर करणवालको नाममा १ विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको इन्डियन्स स्टार्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। प्रतियोगितामा बनेको यो सबैभन्द ठूलो योगफल हो। यसअघि श्रीलंकन लायन्सले दुबई वरियर्सविरुद्ध ३ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो।

इन्डियन्स स्टार्सका ओपनर अमर करणवालले ४१ बलमा ५९ रन जोडेका थिए। उनले पहिलो विकेटका लागि स्वप्निल पाटिलसँग ६७ बलमा ९१ रनको साझेदारी गरेका थिए। स्वप्निल २८ बलमा ३३ रन जोडे। पवन साहु शून्य रनमा पवेलियन फर्किंदा सिम्रत बावा र पुनीत भाटीले चौथो विकेटका लागि ४४ बलमा ७७ रनको अविजित साझेदारी गरेका थिए।

नेपाल स्टोर्मका गौरव बाराबाडेले दुई विकेट लिँदा अमरसिंहको नाममा १ विकेट रह्यो।

प्रकाशित: १३ असार २०७४ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App