कार्डिफ- दक्षिण अफ्रिकाका कप्तान एबी डी भिलियर्सले आफ्नो भविष्यका बारेमा अगस्टमा अन्तिम निर्णय गर्ने भन्दै इङ्ल्यान्ड भ्रमणबीचमै छाडेका छन्। आइतबार इङ्ल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १९ रनले पराजित भएसँगै तीन खेलको शंृखला २–१ ले गुमाएपछि ३३ वर्षे डी भिलियर्स स्वदेश फर्केका हुन्।
यसअघि इङ्ल्यान्डसँगको तीन एकदिवसीय शंृखला २–१ ले गुमाएको दक्षिण अफ्रिका हालै सम्पन्न च्याम्पियन्स ट्रफीको समूह चरणबाटै बाहिरिएको थियो।
तर चार महिने भ्रमणमा इङ्ल्यान्डविरुद्धको टेस्ट शंृखलालाई महत्वका साथ हेरिएको थियो।
तीनवटै संरचनाको क्रिकेटमा विश्वका शीर्ष खेलाडी रहेको टोलीबाट डी भिलियर्सले यसअघि नै चोटका कारण ४ टेस्टको शृंखला नखेल्ने योजना बनाइसकेका थिए।
‘म अगस्टमा क्रिकेट साउथ अफ्रिका(सिएसए) का पदाधिकारीसँग भेट्दै छु। त्यसले मेरो अन्तर्राष्ट्रिय खेलजीवनका बारेमा निर्णय लिनेछ,’ डी भिलियर्सले भने, ‘हामी दुवै पक्षलाई सहज र मान्य हुने खालको निर्णय गर्नेछौं।’
‘हामी कुन खेलमा खेल्ने वा कुन खेलमा नखेल्ने भन्नेबारे निर्णय गर्दैनौं। तर हामी आगामी केही वर्षका लागि हुने अन्तिम निर्णय लिनेछौं,’ १ सय ६ टेस्ट खेलमा ५० रनको औसतमा २१ शतकसहित ८ हजार रन जोडेका डी भिलियर्सले भने।
टेस्टमा जस्तो सफलता हात पारे पनि डी भिलियर्स दक्षिण अफ्रिकालाई पहिलो विश्वकपको उपाधि जिताउन महत्वाकांक्षी देखिँदै आएका छन्।
१९९२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको दक्षिण अफ्रिकालाई अभागी टोलीको रूपमा लिइन्छ।
डी भिलियर्स दक्षिण अफ्रिका दुई वर्षअघि सम्पन्न विश्वकप क्रिकेटको सेमिफाइनलमा सहआयोजक न्युजिल्यान्डसँग पराजित हँुदै उपाधिबाट टाढिँदा पनि टोलीको कप्तान थिए।
‘मेरो प्रमुख लक्ष्य दक्षिण अफ्रिकाको लागि विश्वकपको उपाधि जिताउनु वा विजेता टोलीको सदस्य रहनु हो,’ सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा ५० रन पूरा गर्दै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाएका डी भिलियर्सले भने, ‘तर यो सब मेरो हातमा छ भन्ने मलाई लाग्दैन। किनभने अब के हुन्छ थाहा छैन।’
‘म अन्तिम निर्णय लिनुअघि प्रशिक्षकको निर्णय पनि कुर्नेछु,’ उनले भने, ‘साथै म सिएसएका पदाधिकारीहरूसँग पनि छलफल गर्नेछु।’
४ टेस्टको शृंखलाअन्तर्गत पहिलो खेल जुलाई ६ बाट लर्ड्समा हुनेछ।
प्रकाशित: १३ असार २०७४ ०४:२७ मंगलबार