८ वैशाख २०८१ शनिबार
खेल

युवा प्रयोगमा जर्मनी सफल

सोची- समूह चरणको अन्तिम खेलमा क्यामरुनमाथि जित हासिल गर्दै अन्तरमहादेशीय कपको सेमिफाइनल पुगेपछि विश्व च्याम्पियन जर्मनीका प्रशिक्षक जोचिम लोउले आफ्नो ध्यान अब मेक्सिकोविरुद्धको अन्तिम चार भिडन्तमा केन्द्रित भएको बताएका छन्।

आइतबार १० खेलाडीमा सीमित हुँदै मैदान छोडेको क्यामरुनलाई ३–१ को नतिजामा हराएपछि जर्मनी समूह विजेताका रूपमा सेमिफाइनल पुगेको थियो। लोउको युवा टोलीले बिहीबार मेक्सिकोविरुद्ध सेमिफाइनल खेल्नेछ।

क्यामरुनमाथिको जित जोचिम लोउका लागि अन्तर्राष्ट्रिय फुटबलमा १ सयौं सफलता हो। यो जितसँगै उनी अन्तर्राष्ट्रिय फुटबलमा १ सय जित हासिल गर्ने पहिलो प्रशिक्षक बनेका छन्।

‘राम्रा खेलाडीले भरिएको मेक्सिको कठिन प्रतिद्वन्द्वी हो,’ लोउले भने, ‘मध्य अमेरिकी राष्ट्रसँग हामीले कमै मात्र खेलिरहेका हुन्छौं। त्यसैले यो खेल रोचक हुनेछ।’

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि ४८औं मिनेटमा केरिम डिर्मिबेको गोलबाट जर्मनीले अग्रता लिएको थियो।

६४औं मिनेटमा अर्नेस्ट माकौकाले रातो कार्ड दर्शन गर्दै मैदान छाडेपछि क्यामरुन १० खेलाडीमा सीमित भयो। इमरे क्यानमाथि खराब फाउल गरेका कारण रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाएर मैदानबाहिर पठाएका थिए।

६७औं मिनेटमा टिमो वार्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए। ७९औं मिनेटमा भिसेन्ट औबुबकारले गोल गर्दै क्यामरुनलाई खेलमा फर्काउने प्रयास गरे। तर समय सकिन ८ मिनेट बाँकी रहँदा वार्नरले दोस्रो व्यक्तिगत गोल गर्दै जर्मनीको जित पक्का गरेका थिए।

क्यामरुनमाथिको जित जोचिम लोउका लागि अन्तर्राष्ट्रिय फुटबलमा १सयौं सफलता हो। यो जितसँगै उनी अन्तर्राष्ट्रिय फुटबलमा १ सय जित हासिल गर्ने पहिलो प्रशिक्षक बनेका छन्। आइतबारको नतिजापछि ७ अंक जोडेको जर्मनी चिलीलाई पछि पार्दै समूह ‘बी’ बाट विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। अस्ट्रेलियासँग १–१ को बराबरीमा रोकिए पनि ५ अंक जोडेको चिलीले उपविजेताका रूपमा अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो। सेमिफाइनलमा जर्मनीले समूह ‘ए’ को उपविजेता मेक्सिकोको सामना गर्दा चिलीले समूहविजेता पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। २ अंक जोडेको अस्ट्रेलिया र १ अंकमा सीमित क्यामरुन समूहचरणबाटै घर फर्किए।

प्रशिक्षकका रूपमा जर्मनीलाई १ सय ५०औंै खेलमा नेतृत्व गरिरहेका लोउले पछिल्लो दशकमा सम्पन्न सबै प्रतियोगिताको सेमिफाइलन पुर्‍याउने प्रभावशाली कीर्तिमान समेत बनाएका छन्।

लोउले अनुभवहीन खेलाडीको प्रदर्शनमा सन्तुष्टि व्यक्त गर्दा क्यामरुनका प्रशिक्षक ह्युगो ब्रुसले आयोजक रूसको आलोचना गरेका छन्। विश्वकप आयोजनाका लागि एक वर्ष मात्र बाँकी रहँदा ब्रुसले आयोजकको आलोचना गरेका हुन्।

ब्रुसले प्रतियोगिता आयोजनाका लागि स्तरीय रंगशाला भए पनि ट्राफिक जामका कारण मस्को र सेन्ट पिटर्सबर्गमा खेल्दा आफ्नो टोलीको अभ्यास प्रभावित भएको भन्दै रूसको चर्को आलोचना गरेका हुन्।

‘होटलबाट मैदानसम्म प्रहरीको स्कर्टिङ भए पनि हामी ट्राफिक जाममा फस्यौं। जसका कारण हामीले तीनै पटक निर्धारित समयभन्दा एक घण्टा ढिला अभ्यास सुरु गर्नुपर्‍यो’, ब्रुसले भने, ‘अभ्यास एक घण्टा ढिला हुनु मात्र हाम्रो समस्या होइन जामका कारण सबै चिज पछि धकेलियो। त्यो मुख्य समस्या हो। जामकै कारण एक पटक हामीले रातको १० बजे खाना खान पर्‍यो। जुन धेरै ढिला हो।’

यता चिलीले उत्कृष्ट पुनरागमनमा अस्ट्रेलियासँग बराबरी गर्न सफल भएको छ।

४२ओंै मिनेटमा जेम्स ट्रोइसीको गोलमा अस्ट्रेलियाले अग्रता लिएको थियो। तर ६७औं मिनेटमा वैकल्पिक खेलाडी मार्टिन रोड्रिग्वेजको गोलमा चिली खेलमा फर्किएको थियो।

चिलीका प्रशिक्षक हुवाँ एन्टोनियो पिज्जीले अस्ट्रेलियालाई कमजोर नसोचेको बताए।

‘यो खेलको स्तर विश्वकप फुटबलको क्वार्टरफाइनलसरह थियो,’ पिज्जीले भने, ‘हामी सेमिफाइनल प्रवेश गर्न पाउँदा खुसी छांै। अब हाम्रो ध्यान फाइनल प्रवेश गर्दै उपाधि यात्रा अघि बढाउनुमा केन्द्रित हुनुपर्दछ।’

अस्ट्रेलियाका प्रशिक्षक एन्जे पोस्टेकोग्ल्यु गोलका थुप्रै अवसर चुकेकोमा निराश थिए।

‘हामी समूहचरणबाट माथि उठ्न चाहन्थ्यौं। तर सफल भएनौं। त्यसले हामीलाई दुखी बनाएको छ,’ उनले भने।

पोस्टेकोग्ल्युले १सयौं अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका कप्तान टिम काहिलको प्रशंसा गरे।

उनी अस्ट्रेलियाबाट एक सयांै अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा पूरा गर्ने दोस्रो खेलाडी हुन्। यसअघि गोलकिपर मार्क स्वार्जरले १ सय ९ खेलमा सहभागी हुँदै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान राखेका थिए।

सामोआबाट युवा अन्तर्राष्ट्रिय फुटबल खेलेका काहिललाई फिफाले सन् २०१४ मा मात्र अस्ट्रेलियाबाट खेल्न अनुमति दिएको थियो।

‘उनले २४ वर्षको उमेरसम्म अस्ट्रेलियाबाट खेल्ने अनुमति पाएका थिएनन्। त्यसैले १सयौं खेलमा सहभागी हुनु अद्भुत उपलब्धि हो,’ पोस्टेकोग्ल्युले भने, ‘उनले विश्वकपलगायतका शीर्ष प्रतियोगिता खेल्दा सधैँ गोल गरेका छन्। उनी उत्कृष्ट खेलाडी हुन्।’

प्रकाशित: १३ असार २०७४ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App