coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

काठमाडौं- अभिनय क्षेत्रमा आउनुअघिसम्म नेपाली फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको धारणा सकारात्मक थिएन। नियमित फिल्म हेर्ने गरे पनि फिल्मप्रति उनको आलोचना तिखो नै हुन्थ्यो। तर, अहिले अवस्था फेरिएको छ। एक समयमा फिल्मको आलोचक उनी अहिले फिल्म क्षेत्रप्रति सकारात्मक हुन थालेकी छन्।

आलोक नेम्बाङ निर्देशित फिल्म 'अझै पनि'बाट अभिनय यात्रा सुरु गरेकी सुरक्षा आगामी असार २३ गतेबाट फिल्म 'धनपति'मार्फत दर्शकमाझ आउँदैछिन्।

'कलेजमा पढ्दा नेपाली फिल्म हेरिन्थ्यो। तर, नेपाली फिल्ममा अभिनय, विषयवस्तु सबै झुर लाग्थ्यो। अत्यन्तै अतिरञ्जित हुने क्या,' सुरक्षाले भनिन्, 'अहिले म आफैं फिल्म क्षेत्रमा लागिपरेकी छु। बाहिरबाट हेर्दा र भित्रबाट भोग्दा फरक हुने रहेछ। अहिले त फिल्ममा धेरै कुराको सुधार भइरहेको देखेकी छु। सत्य घटनामा आधारित  फिल्म बन्ने चलनले पनि फिल्मप्रतिको मेरो धारणा  फेरिएको हो।'

सिभिल इञ्जिनियरिङमा बिई गरेकी सुरक्षा यसै शैक्षिक सत्रदेखि इञ्जिनियरिङ एमइ भर्नाको तयारीमा छन्। फिल्मको कामले पढाइमा कुनै असर नपर्ने उनको भनाइ छ।

सुरक्षासँग म्युजिक भिडियोसँगै टेलिभिजनको भिजे गरेको पनि अनुभव छ। 'धनपति'मा अभिनेता खगेन्द्र लामिछानेको श्रीमतीको भूमिकामा अभिनय गरेकी सुरक्षाले चरित्रमा भिज्न धेरै समय नलागेको बताइन्।

जुन क्षेत्रमा छायांकन गरिएको हो, त्यही क्षेत्रका महिलाले बोल्ने शैली, उनीहरूको हाउभाउ अध्ययन गरेर नै आफूले काम गरेको सुरक्षाले बताइन्। ' ठाउँ फरक भए पनि मैंले निर्वाह गर्नुपर्ने चरित्र देखिरहे जस्तै थियो। सुरुवाती दिनमा केही असहज महसुस गरेकी थिएँ,' उनले भनिन्, 'तर, निर्देशकको सहयोगले धेरै गाह्रो भएन।'

सुरक्षा अभिनित फिल्म 'सुस्केरा' हाल पोष्ट प्रोडक्सनमा छ।

अभिनेता खगेन्द्रले सुरक्षाको काम राम्रो रहेको बताए। 'फिल्मका लागि नायिका को लिने भनेर निर्देशक दीपेन्द्रजीसँग छलफल हुँदा सुरक्षाको नाम आयो। मैले उनले अभिनय गरेको फिल्म हेरेपछि उनको  बोल्ने शैलीमा आत्मविश्वास देखेे,' खगेन्द्रले भने, 'उनको काममा पनि त्यो आत्मविश्वास देखिन्छ।'

निर्देशक खनालले फिल्मका लागि आमाको चरित्र चाहिने भएकाले सुरक्षालाई सुरुमै फिल्ममा 'आमा बन्न सक्छौ' भनेर चरित्र नखुलाएको बताए। 'मैले उनलाई कलाकार बन्न मन छ भने हामीले दिएको भूमिकामा काम गर्दा हुन्छ भनें,' दीपेन्द्रले सम्भि्कए, 'तर मैले सोचेभन्दा बढी उनले काम गरेर देखाइन्।'

'सिक्वेल होइन धनपति'

निर्देशक खनालले फिल्म 'धनपति' आफ्नो अघिल्लो फिल्म 'पशुपति प्रसाद'को सिक्वेल नभएको स्पष्ट पारे। 'पशुपति प्रसाद र धनपतिको कथा नै फरक छ। धेरैले मलाई पशुपतिप्रसादको सिक्वेल हो भनेर सोधे,' दीपेन्द्रले भने, 'धनपतिलाई पशुपतिप्रसादको सिक्वेलका रूपमा नबुझिदिनु होला। हामीले आम मान्छे राजनीतिमा कसरी आकर्षित हुन्छ भन्ने विषयलाई फिल्ममा देखाएका छौं। जसको कथा पशुपतिप्रसादसँग मिल्दैन।'

'द युगदेखि युगसम्म'बाट निर्देशनमा डेब्यु गरेका दीपेन्द्रले आफूले 'पशुपति प्रसाद'बाट मात्र राम्रो प्रतिक्रिया पाएको बताए। फिल्ममा उनी आफैंले क्यामराको जिम्मेवारी लिएका छन्।

'भीडभाडमा रमाउँदिन'

नेपालमा हुने अधिकांश फिल्म अवार्डमा अभिनेता खगेन्द्र प्रायः अनुपस्थित हुन्छन्। त्यसैले उनलाई नेपालकोे 'आमिर खान' भनेर टिप्पणी गर्ने गरिन्छ। अवार्डमा किन खगेन्द्र अनुपस्थित हुन्छन् भन्ने प्रश्न पनि बारम्बार उनीमाथि बर्सिरहन्छ। 'म भीडभाडमा रमाउँदिन् ,' उनले कारण बताए, 'दर्शकले दिएको माया नै मैले पाएको अवार्ड हो। मैले अभिनय गरेको अवार्ड पाउनलाई पनि होइन। म फिल्म खेल्छु भन्ने सोचेर आएको पनि थिइन। दर्शकबाट नसोचेको माया पाएँ। त्यो नै मेरा लागि ठूलो अवार्ड हो।'

प्रकाशित: १३ असार २०७४ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App