१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हेटौंडामा इन्धन नाप्ने क्यालिब्रेसन टावर बन्यो

काठमाडौं- पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरभित्र रहेको तेलको परिणाम मापन र परीक्षण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले हेटौंडामा क्यालिब्रेसन टावर निर्माण गरेको छ। नेपालमा पहिलोपटक आफ्नै स्वामित्वमा सञ्चालन हुने गरी टावर बनाएको विभागले जनाएको छ।

साउनबाटै परीक्षण सुरु गर्ने गरी क्यालिब्रेसन टावर निर्माण अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। 'पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको परीक्षण गर्न आवश्यक पूर्वाधार निर्माण गरेका छौं,' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, 'अब टावर वरिपरि कम्पाउन्ड लगाउन मात्र बाँकी छ।' करिब ३५ लाख रुपैयाँ खर्चेर यो निर्माण गरिएको हो।

ट्यांकरले बोक्ने इन्धनको परिमाण ठिक छ/छैन भनेर मापन गर्ने प्रविधि क्यालिब्रेसन हो। यसमा राज्यको मानक नापतौलसँग दाँजेर इन्धनको नापतौल ठिक भए नभएको मापन गरिन्छ। अत्याधुनिक प्रविधिसहितको परीक्षण गर्ने व्यवस्था नहुँदा यहाँ ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी)मा क्यालिब्रेसन गर्दै आएका छन्।

विभागले अहिलेसम्म निगमकै थानकोट, अमलेखगन्जलगायत विभिन्न डिपोभित्र रहेका क्यालिब्रेसन टावर प्रयोग गरेर परीक्षण गर्दै आएको थियो। त्यो प्रभावकारी हुन सकेको छैन।

नियमनकारी निकाय नापतौलको आफ्नै स्वामित्वमा टावर नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको पुडासैनीले बताए। 'छड्के चेकजाँच गर्नु परे पनि आयल निगमकै सहारा लिनुपर्थ्यो,' पुडासैनीले भने, 'निगमले नचाहेको अवस्थामा चेकजाँच गर्द सकिँदैन।'

हेटौंडामा निर्माण गरिएको क्यालिब्रेसन टावरमा साढे पाँच हजार लिटरका चारवटा ट्यांक छ। 'क्यालिब्रेसनसँगै फ्लो मिटर पनि राखिएको छ,' उनले भने, 'अब आधुनिक प्रविधि प्रयोग गरेर ट्यांकरको परिणाम चेकजाँच गर्न सकिन्छ।'

नेपालमा गुड्ने अधिकांश ट्यांकरमा क्लालिब्रेसन नगरी पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको छ। यही कारणले तेल चुहावट भएको निगम र पम्प सञ्चालकले गुनासो गर्दै आएका छन्। 'अब क्रस भेरिफिकेसन गर्न सजिलो हुने भएको छ,' पुडासैनीले भने, 'गलत काम गरेको फेला परे तत्काल अध्ययन गर्न सकिन्छ।'

नेपालमा करिब १५ सय ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गर्छन्। तीमध्ये करिब पाँच सय ट्यांकर नेपालभित्र ढुवानी गर्छन् भने बाँकी एक हजारले आइओसीका विभिन्न रिफाइनरीबाट तेल भरेर ल्याउने गरेका छन्।

निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा लामो समयदेखि विवाद छ। निगमले भारतमा गरेको क्यालिब्रेसनलाई मान्यता दिनुपर्ने बताउँदै आएको छ भने व्यवसायीले नेपालभित्र गुणस्तर विभागले नै क्यालिब्रेसन गर्नुपर्ने माग राख्दै आएका छन्।

निगमको टेरिटोरीभित्र गरिँदै आएको क्यालिब्रेसनबाट व्यवसायी ढुक्क नभएको पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ। 'अब परिणाममा आउने भिन्नताको विवाद अन्त्य हुन्छ,' एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, 'चुहावटमा गरिएको आंशका हट्न सघाउँछ।' आइओसीबाट ढुवानी गर्ने ट्यांकरले गर्ने भारतमा गर्ने क्यालिब्रेसन कागजीमात्र हुने गरेको बताउँदै आएका छन्। 'अब हामीलाई शंका लागेमा पनि क्यालिब्रेसन गरौं भन्न सक्छौं,' प्रधानले भने, 'यसले सही मापन गर्ने भएकाले व्यवसायीलाई फाइदा पुग्छ।'

इन्धन ट्यांकरको क्यालिब्रेसन गर्नुका साथै फ्लो मिटर पनि परीक्षण हुन्छ। इन्धन बोक्ने ट्यांकरको हरेक वर्ष क्यालिब्रेसन गनर्ुुपर्ने भए पनि यहाँका ट्यांकरले यो नियम पालना गरेका छैनन्। 'नेपालभित्रै ढुवानी गर्ने करिब डेढ सयले मात्र क्यालिब्रेसन गराएका छन्,' विभागका महानिर्देशक पुडासैनीले भने, 'अधिकांश ट्यांकरले क्यालिब्रेसन गर्न अटेर गर्दै आएका छन्।' अहिलेसम्म एकपटक क्यालिब्रेसन गरेपछि वर्षौंसम्म क्यालिब्रेसन गर्दैनन्। यो टावर सञ्चालनमा आएपछि तेल चुहावट नियन्त्रणमा आउने विश्वास छ।

नापतौलले निर्माण गरेको क्यालिब्रेसनले पेट्रोलियम कारोबारलाई व्यवस्थित बनाउन सघाउने निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए। 'नियमित क्यालिब्रेसन भए व्यवसायीको गुनासो पनि हट्छ,' पोख्रेलले भने।

निजी ट्यांकरमार्फत तेल लोड गरी लैजाँदा नेपाल सरकार, नेपाल गुणस्तर तथा नापतौल विभागले मापन गरी प्रमाणपत्र दिएको क्यालिब्रेसन चार्टबमोजिम तेल भरेर सम्बन्धित बिक्रेताको प्रतिनिधिले चेकजाँच गरेर बु‰छन्। नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तर्गत रहेको प्रुभिङ टावरबाट क्यालिब्रेसन गर्नुपर्ने नियम छ। स्ट्यान्डर्ड नापतौल ऐन २०२५ अनुसार व्यावसायिक रुपमा सञ्चालन भएका सबै नापतौललाई क्यालिब्रेसन गनुपर्छ।

प्रकाशित: १३ असार २०७४ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App