७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय तह निर्वाचन दोस्रो चरण : कसरी गर्ने मतदान?

यस्तो हुनेछ मतपत्र

इलाम—जेठ ३१ को पहिलो चरण निर्वाचनमा ११ दशमलव १८ प्रतिशत मत बदर भएपछि निर्वाचन आयोगले दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी बनाउने दाबी गरेको थियो। तर, मतदानको केही घण्टामात्रै बाँकी रहँदासमेत दुर्गम गाउँका मतदाता भोट चाहिँ कसरी हाल्ने भन्नेबारे अन्योलमै छन्।

आयोगका अनुसार दोस्रो चरणअन्तर्गत बुधबार प्रदेश १, ५ र ७ का ३४ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदैछ। देशभरका ४ हजार ५ सय ८१ मतदानस्थलमै निर्वाचनको तयारी पूरा भएको आयोगले जनाएको छ।

स्थानीय निर्वाचन नभएको २ दशक भइसकेकाले ३७ वर्ष उमेरका व्यक्तिले समेत पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिने अवसर पाउँदैछन्। धेरै संख्यामा मत बदर भएको पहिलो चरणको अनुभवले पनि दोस्रो चरणमा त्यही अवस्था दोहोरिने सम्भावनाले मतदातादेखि राजनीतिक दलका नेता–कार्यकर्तासमेत चिन्तित देखिन्छन् । तर, मतदाता शिक्षा प्रभावकारी नहुनु र चुनावको मुखमा ‘घरदैलो’मा जाने राजनीतिक दलका नेता–कार्यकर्ताले पनि भोट माग्ने तर कसरी मतदान गर्ने भन्ने तरिका चाहिँ नसिकाउनुले मतदाता दोधारमै रहेका हुन् ।

संसदीय र संविधानसभा निर्वाचनभन्दा स्थानीय तह निर्वाचनको मतपत्रमा फरक तरिकाले मतदान गर्नुपर्छ । त्यतिमात्र होइन, २०५४ सालको निर्वाचनभन्दा पनि भिन्न तरिकाले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्नुपर्ने भएको छ।

यसरी गर्नुहोस् मतदान

तपाइँले पाउने मतपत्रमा ७ ठाडो लहरमा बेग्लाबेग्लै चुनाव चिह्न राखिएका छन् । आफूले रोजेका ७ उम्मेदवारलाई सातै ठाउँमा भोट हाल्नुपर्छ। तर, बदर नहुनेगरी ७ मध्ये त्योभन्दा कम संख्याका उम्मेदवार मात्र छान्ने छुटसमेत मतदातालाई छ । नगरपालिका भए प्रमुख र उपप्रमुख, गाउँपालिका भए अध्यक्ष र उपाध्यक्षका लागि १–१ भोट, आफ्नो वडाको वडाध्यक्षलाई १, आफ्नै वडाकी महिला वडा सदस्य र दलित महिला वडा सदस्यलाई १–१ भोट हाल्नुपर्छ। २ खुला २ सदस्यलाई १–१ भोट हाल्ने व्यवस्था मतपत्रमा छ।

मतपत्रको पहिलो ठाडो लहरमध्ये कुनै १ चिह्नमा आफ्नो नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षलाई र दोस्रो ठाडो लहरका चिह्नमध्ये एउटा चिह्नमा उपप्रमुख वा उपाध्यक्षलाई मतदान गर्नुपर्छ। तेस्रो ठाडो लहरको कुनै १ चिह्नमा आफ्नो वडाको वडाध्यक्षलाई, चौथो ठाडो लहरको १ चिह्नमा महिला वडा सदस्य र पाँचौं ठाडो लहरको कुनै १ चिह्नमा दलित महिला वडा सदस्यलाई मतदान गर्नुपर्छ।

मतपत्रमा छैठौं र सातौं ठाडो लहरअघि मोटो धर्साेले छुट्याइएको छ। छैठौं र सातौं लहर खुला वडा सदस्य छान्नलाई हो। दुवै लहरका कुनै २ ठाउँमा मतदान गरी २ खुला वडा सदस्य छान्नुपर्छ । यी दुई लहरमा चाहिँ ठाडो लहरमा मात्रै छाप लगाउनुपर्छ भन्ने छैन, तल–माथि, यता–उता वा ‘क्रस’ गरेर छाप लगाउन पाइन्छ । तर, २ भन्दा बढी ठाउँमा छाप लगाए मत बदर हुन्छ । मतदान गरिसकेपछि एउटा कोठामा लगाएको छापको मसी अर्काे कोठामा नलाग्ने गरी मतपत्र पट्याएर मतपेटिकामा खसाल्नुपर्छ । स्वस्तिक छापबाहेक औंठाछाप वा संकेत नबुझिनेगरी मतदान गरे, त्यो मतपत्र पनि बदर हुने निर्वाचन आयोगले जनाएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र पनि बदर हुनेछ ।

आयोगका अनुसार दोस्रो चरणअन्तर्गत बुधबार प्रदेश १, ५ र ७ का ३४ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदैछ । देशभरका ४ हजार ५ सय ८१ मतदानस्थलमै निर्वाचनको तयारी पूरा भएको आयोगले जनाएको छ । जेठ ३१ को पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा निर्वाचन भएको थियो । २ नम्बर प्रदेशको निर्वाचन भने तेस्रो चरणमा गर्नेगरी आउँदो असोज २ गतेका लागि सारिएको छ । तीनै चरणमा सम्पन्न हुने स्थानीय निर्वाचनमा देशभरका ७ सय ४४ स्थानीय तहमा ३६ हजार ६ सय ५४ जनप्रतिनिधि चुनिँदैछन् ।

प्रकाशित: १३ असार २०७४ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App