coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

किरा लाग्दैमा झिक्नुपर्दैन दाँत

डा. सुमिता उपाध्याय, दन्तरोग विशेषज्ञ
दाँत किराले खाने समस्यालाई मेडिकल भाषामा ‘डेन्टल क्यारिज’ भनिन्छ । डेन्टल क्यारिज हुनुका धेरै कारण छन् । त्यसमध्ये मुखको स्वास्थ्यसम्बन्धी अनभिज्ञता प्रमुख हो । धेरै मानिस दाँतमा पीडा भएपछि र बांग्रा सुन्निएपछि मात्र चेकअपका लागि आउँछन् र दाँत भर्नुभन्दा निकाल्नका लागि जोड दिन्छन् । कहिलेकाहीँ त कहिल्यै दाँत नमाझ्नेले पनि आउँछन् ।
स्ट्रेप्टोकोकस म्युटेन्स कीटाणुका कारण दाँत किराले खाने समस्या देखिन्छ । विशेषतः चपाउन सघाउने पछाडितिरका दाँतमा खानेकुरा अड्कियो भने त्यस्तो खानेकुरालाई यी कीटाणुले टुक्राउँछ र अम्ल उत्पादन गराउँछ । यही अम्लका कारण दाँतको क्षयीकरण सुरु भई खाल्डो बन्न थाल्छ । गुलियो खानेकुराले झनै समस्या निम्त्याउँछ ।
मुखभित्र हुने र्याल हल्का क्षारीय हुनुपर्दछ । गुलियो खानेकुरा पटक–पटक खानाले मुखभित्रको क्षारीयपन घट्दै जान्छ । र, पटक–पटक खानेकुरा खाइरह्यो भने अम्लीय वातावरणबाट सामान्यमा फर्किन २० देखि ४० मिनेटसम्म समय लाग्न सक्छ । तारन्तार ठोस खानेकुरा खाइरहँदा मुख सफा रहन पाउँदैन । त्यस्तै, राति सुत्दा ¥याल कम उत्पादन हुन्छ । जसले गर्दा मुख सफा रहँदैन ।
नेपालमा धेरै आमाहरूले दुई वर्षभन्दा पनि लामो समयसम्म आफ्नो दूध खुवाउने गर्छन् । र, बच्चाले भन्नेबित्तिकै दूध खुवाउनेहरू पनि छन् यहाँ । दूध दाँतमा सजिलै टाँसिन्छ । जसले गर्दा सूक्ष्म जीवाणु बढ्न गई दाँत किराले खाने समस्या हुन सक्छ । यसरी गलत स्तनपान पनि दाँत किराले खाने समस्याको कारण हुन सक्छ ।
कतिपय आमाले बालबालिकालाई खानेकुरा चपाएर ख्वाउने, ओठमुखमा चुम्बन गर्ने गर्छन् । यदि आमाको दाँत किराले खाएको छ भने र्यालबाट पनि दाँतको समस्या सर्न सक्छ । दाँतमा टाँसिरहने वा सजिलै टाँसिने खालका खानेकुरा पनि दाँतमा किरा लाग्ने कारण बन्न सक्छ । छ वर्षभित्रै दाँत किराले खाने समस्या देखिनु गम्भीर कुरा हो ।
समाधानका उपाय
किरा लागेमा जरैदेखि दाँत निकाल्नुभन्दा भर्नु ठीक हुन्छ । प्रत्येक वर्ष दन्त चिकित्सककहाँ चेकअप गराउनु राम्रो हुन्छ । बालबालिकाको हकमा प्रत्येक तीन महिना र वयस्क मानिसले छ–छ महिनामा दन्त परीक्षण गराउनुपर्छ । ल्याबमा माइक्रोबियल टेस्ट गरी दाँत किराले खाने समस्यालाई कम, मध्यम र उच्च गरी छुट्याउन सकिन्छ । बालबालिकाको उमेर छ÷सात वर्ष भएपछि अर्थात् स्थायी दाँत आउन थालेपछि खाना अड्किने ठाउँ अस्थायी तवरमा बन्द गरिदिन सकिन्छ ।
फ्लोराइड दाँतको स्वास्थ्यको लागि फाइदाजनक तत्व हो । फ्लोराइड भएको कुल्ला गर्ने माउथवास प्रयोग गर्न सकिन्छ । सानो बालबालिकालाई ब्रस गर्न गाह्रो हुन्छ । त्यसका लागि मनतातो पानीमा भिजाएको कटन बडले गिजा सफा गरिदिनुपर्छ ।
बालबालिकालाई गुलियो खानेकुरा अन्य बेलाभन्दा खाना ख्वाउनुअघि ख्वाउनु ठीक हुन्छ । दिनमा तीन पटकसम्म ब्रस गर्ने वा प्रत्येक पटक खाएपछि कुल्ला गर्ने बानीले बालबालिकालाई फाइदा गर्छ ।
टुथब्रस, पेस्ट र फ्लस
बच्चाहरूका लागि विशेष खालको टुथब्रस पाइन्छ । अाफैंले दाँत माझ्न नसक्ने विशेष प्रकृतिको बालबालिकालाई पावर टुथब्रश प्रयोग गर्न लगाउन सकिन्छ । बालबालिकाका लागि फ्लोराइडयुक्त टुथपेस्ट पनि पाइन्छ । तर, यस्तो टुथपेस्टमा फ्लोराइडको मात्रा वयस्कलाई जस्तो १००० पीपीएम नभई ५०० पीपीएम मात्र यथेष्ट हुन्छ ।
बालबालिकालाई कहिलेदेखि दाँत माभ्mन लगाउने भन्ने सवालमा छ÷सात महिनादेखि नै ब्रस गराउनु राम्रो हो । त्यसै गरी प्रत्येक तीन महिनामा टुथब्रस फेर्दा ठीक हुन्छ । बढी घोटेर ब्रश गर्नेले अलि चाँडै टुथब्रश फेर्नुपर्छ । यसबाहेक ब्रिसल बांगिन थालेपछि ब्रस फेर्नु राम्रो हुन्छ । दाँतको फ्लस पनि उत्तिकै महत्व हुन्छ । बच्चाको दाँतबीच हल्का ग्याप हुनु राम्रो हुन्छ । टाइट छ भने टुथब्रस दाँतको कापकापमा पुग्न नसकिने भएकोले फ्लसको प्रयोग गर्नुपर्छ ।
फ्लोराइडयुक्त एवं नटाँसिने खानेकुरा खाने, रेशादार खाना खाने गर्नुपर्छ । गुलियो खानेकुरा धेरै खानुहुँदैन । गुलियो कम भएको चुइंगम चपाउनु राम्रो हुन्छ ।
(डा. उपाध्यायसँग डा. सुमनराज ताम्राकारले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित: १३ असार २०७४ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App