coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

३ बर्ष भित्र १० नयाँ अस्पताल खोल्ने उपेन्द्र महतोको घोषणा

लण्डन- गैरआवासीय नेपाली अभियानका संस्थापक तथा चर्चित व्यवसायी डा उपेन्द्र महतोले ५ वर्ष पछि गुणस्तरिय उपचारको वहानमा कोही पनि नेपाली विदेश जान नपर्ने बताए। गैरआवासीय नेपाली संघ यूकेद्धारा सोमवार लण्डनमा आयोजित कार्यक्रममा बोल्दै महतोले 

नेपालीहरुलाई गुणस्तरीय सेवा प्रदान गरी उपचारकालागि विदेश जानु नपर्ने गराउने र विदेशबाट बिरामीहरु आकर्षित गरी नेपाललाई मेडिकल टुरिज्मको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आफुले स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताए। 

रु १,००० करोडको लगानीमा नेपाल मिेडिसिटी हस्पिटलको स्थापना गर्न लागेका महतोले यही जुलाईमा ३५० बेड सहितको अस्पताल शुरु गर्न लागेको  जनाकारी दिए।

अगामी ३ देखी ५ वर्षभित्र काठमाडौं उपत्यकाभित्र ५ वटा र काठमाडौं बाहिर ५ वटा गरी १० वटा अस्पतालहरु बनाउने योजना रहेको बताउँदै डा महतोले शुरुको जोखिम आफैले उठाउने बताए।

ब्रिटेनस्थित नेपाली चिकित्सकहरु, नर्सहरु, अन्य स्वास्थ्यकर्मी तथा एनआरएन अगुवाहरुसंगको भेटमा उनले विेदेशमा सिकेको सीप, अनुभव र दक्षता नेपालको विकासमा लगाउन पनि आह्वान  गरे ।

 “नेपालको मौसम, अतिथि देवो भव भन्ने हाम्रो संस्कार र भरपर्दो गुणस्तरीय सेवाले गर्दा पनि उपचारकालागि विदेशबाट बिरामीहरु आउने मैले विश्वास लिएको छु,” उनले भने।

नेपाललाई मेडिकल हब बनाउन  सकिने बताउँदै महतोले विगत केही वर्ष भित्रै बाँगलादेशमा ३०० प्रतिशत मेडिकल टुरिज्म बढेको बताए। डा महतोले नेपालमा पनि चिकित्सा पर्यटनको विकास गर्न उपयुक्त वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरे ।

ललितपुर, सैंबुमा ३० रोपनी जग्गामा निर्मित अस्पताललाई एक वर्षभित्र ५०० बेड क्षमताको बना्इने पछि ७५० बेड पुराई सुपरस्पेशलटी हस्पिटलको रुपमा विकास गर्ने योजना पनि उनले सुनाए।

पछि थप गरिने अस्पतालहरुमा एनआरएनहरुले पनि लगानी गर्नसक्ने महतोको भनाइ थियो।

“नेपालमा पनि दक्ष चिकित्सकहरुले राम्रो कमाइ गरिरहेका छन्। साथसाथै सम्मान र इज्जत पनि छ, जुन विदेशमा पाईंदैन। त्यसैले तपाईंहरुसंग भएको सीप, अनुभव र दक्षता नेपालको स्वास्थ्य क्षेत्रको विकासमा लगाउनोस्,” बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै महतोले  भने।

डा महतोले आफ्नै जीवनकालमा समृद्ध नेपाल हेर्ने चाहना दोहोराउँदै नेपाल बलियो र समृद्ध भएमात्रै संसारभरि जहाँ बसेपनि नेपालीहरुको पनि इज्जत बढ्ने बताए।

कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा राघब धिताल, नेप्लीज डक्टर्स एसोसियसन युकेकी अध्यक्ष डा बिना सुब्बा, डा कपिल रिजाल लगायतले नेपाललाई मेडिकल हबको रुपमा विकास गर्न आआफ्नो क्षेत्रबाट सक्दो योगदान पुराउन आफुहरु तयार रहेको बताए।

एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा आयोजित अन्तर्क्रियामा एनआरएनका युरोप संयोजक कुल आचार्य, एनआरएन आइसिसिका सल्लाहकार विश्वआदर्श पण्डित लगायतका वक्ताहरुले महतोको नयाँ परियोजनाको सफलताको लागि शुभकामना दिए।

 

प्रकाशित: १३ असार २०७४ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App