७ वैशाख २०८१ शुक्रबार
अन्य

इलामको मतगणना स्थलमा सिसीटिभी जडान

मतगणना स्थलमा राखिएको सिसिटिभी (रातोघेराभित्र)

इलाम—जिल्लाका स्थानीय तहस्थित निर्वाचन अधिकृत कार्यालयले मतदानपछिको मतगणना व्यवस्थित गर्नेगरी तयारी गरेको छ। मतगणना व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन गणनास्थलमा सिसी टिभी राख्नेदेखि बाहिरपट्टि ठूलो एलसिडी मनेनिटरमा गणनाको प्रत्यक्ष भिडियो देखाउनेसमेत व्यवस्था मिलाइएको छ।
    
सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने मतगणनाको भिडियो गणनास्थलबाहिरका  सहभागीले समेत प्रत्यक्ष देख्न पाउने भएका छन्। कार्यालयले ४ स्थानमा सिसी टिभी राखेर गणनास्थलको प्रत्यक्ष भिडियो बाहिरपट्टि नै हेर्ने व्यवस्था मिलाएको हो।

‘मतगणनास्थलमा भीड कम गर्न, मतगणना व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन यो व्यवस्था गरिएको हो,’ मुख्य निर्वाचन अधिकृत नवराज दाहालले नागरिकन्युजसँग भने। यहाँ इलाम नगरपालिकाको मतगणना गरिनेछ।

‘मतगणनास्थलमा भीड कम गर्न, मतगणना व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन यो व्यवस्था गरिएको हो,’ मुख्य निर्वाचन अधिकृत नवराज दाहालले नागरिकन्युजसँग भने। यहाँ इलाम नगरपालिकाको मतगणना गरिनेछ।

गणनास्थलमा गणना गर्ने कर्मचारी र साक्षी बस्ने राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधि, सञ्चारकर्मी, पर्यवेक्षकलगायतलाई बेग्लाबेग्लै बस्ने ठाउँको व्यवस्था मिलाइएको छ। गणनास्थलमा ‘हाफ बेरा’ गरी भित्रपट्टि कर्मचारीले मतगणना गर्ने र बाहिरपट्टि रहेका सहभागीलाई देखाउने व्यवस्था मिलाइएको छ।

‘गणनाका कर्मचारीबाहेकले मतपत्र छुन पाउने छैनन्,’ दाहालले भने, ‘सबै सहभागीलाई मतपत्र स्पष्ट देखाइनेछ तर छुन दिइने छैन।’ कार्यालयले २ वटा वडाको मतगणना एकैपटक गर्ने व्यवस्था मिलाएको छ। दलका प्रतिनिधिलगायत सबै २–२ जना मगाएर दुवैपट्टि सहभागी गराइ मतगणना गर्ने तयारी रहेको कार्यालयले जनाएको छ ।

‘मतगणना छिटो र छरितो बनाउन २ वटा वडाको मतगणना एकैपटक गरिने छ,’ दाहालले भने, ‘करिब २ सय मतपत्र गनिसकेपछि नतिजा सार्वजनिक गर्ने सोचाइमा छौं। गणनाको रफ्तार कति हुन्छ, त्यहीअनुसार नतिजा सार्वजनिक हुनेछ’, उनले भने। कार्यालयले जिल्लाका १० वटै तहका निर्वाचन अधिकृतलाई सूचना अधिकारी वा नतिजाको स्रोतव्यक्तिका रूपमा लिन सकिने जनाएको छ।

सूर्याेदय नगरपालिकाले पनि मतगणनास्थलमा सिसी टिभी राखिसकेको छ। ‘गणनास्थलको बाहिरपट्टि ठूलो आकारको एलसिडीसमेत राखिदिने तयारी छ,’ निर्वाचन अधिकृत राजेन्द्र भट्टराईले भने, ‘बाहिरबाटै भित्रको गणना प्रत्यक्ष हेर्न सक्ने व्यवस्था मिलाइदिने छौं।’ उनले मतगणना व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको बताए। एउटा वडाको मतगणना सुरु गर्ने र लामो समय लाग्ने अवस्था आए २ वटा वडाको एकैपटक गणना गर्ने तयारी भएको भट्टराईले जनाए ।

देउमाई र माई नगरपालिकामा पनि मतगणनाका लागि तयारी गरिएको छ । यी नगरपालिकाले पनि पहिला एउटा र पछि २ वटासम्म वडाको मतगणना एकैपटक गर्ने तयारी गरेका छन् । मतगणक र पर्यवेक्षक तथा अन्य प्रतिनिधि बेग्लाबेग्लै ठाउँमा बसेर गणनाको तयारी गरिएको उनीहरूले जनाएका छन् । ‘सकेसम्म छिटो र छरितो तरिकाले मतगणना गर्ने तयारी भइसकेको छ,’ देउमाई नपाका निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले भने ।

जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा मतदानका लागि सबै तयारी पूरा भएपछि मतगणनाको तयारी गरिएको हो । माइजोगमाई, फाकफोकथुम, चुलाचुली, सन्दकपुर, रोङ र माङ्सेबुङ गाउँपालिकामा पनि मतगणनास्थलको तयारी गरिएको सम्बन्धित निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन् । ‘जिल्लाका सबै केन्द्रमा मतदानको तयारी शान्तिपूर्ण रूपमै सम्पन्न भएकाले मतगणना पनि शान्तिपूर्ण र मर्यादित हुने विश्वास लिएका छौं,’ मुख्य निर्वाचन अधिकृत दाहालले भने, ‘गणना थाल्नुअघि सहभागीबीच सामान्य आचारसंहिता बनाएर त्यहीअनुसार कार्यसम्पादन गर्नेछौं ।’

मतदान सकिएपछि सबै वडाको मतपेटिका नगर वा गाउँपालिकाको केन्द्रमा जम्मा गरिनेछ र स्थानीय तहका केन्द्रमै मतगणना हुनेछ । जिल्लाका ८१ वडामा मतदाताको संख्या १ लाख ८९ हजार २ सय ७४ छ । सूर्याेदय नगरपालिकामा सबैभन्दा बढी १४ वटा वडा छन् । निर्वाचन कार्यालयका अनुसार सूर्याेदय नपाको मतदाता संख्या ३९ हजार ४ सय ६७ छ । १२ वटा वडा रहेको इलाम नपामा ३० हजार ६ सय १८, १० वटा वडा रहेको माई नपामा १९ हजार ४ सय ७३ र ९ वटा वडा रहेको देउमाई नपामा २१ हजार ६ सय २३ मतदाता छन् ।  

माइजोगमाई गाउँपालिकामा १४ हजार ८ सय ५, चुलाचुलीमा १४ हजार ७४, माङ्सेबुङमा १० हजार ९ सय ६४, फाकफोकथुममा १३ हजार ७ सय ३३, रोङमा १२ हजार ८ सय ८८ र सन्दकपुरमा ११ हजार ६ सय २९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

पहिलो चरणको निर्वाचनको मतगणना गर्नेक्रममा चितवनस्थित भरपुर नगरपालिकामा दलका एजेन्टबाटै मतपत्र च्यात्नेसम्म भएपछि गणनास्थल व्यवथित बनाउन आयोगले ‘विशेष ध्यान’ दिएको हो । दोस्रो चरणको मतदानपछिको गणनामा कसैले मतपत्र नष्ट गरे कडा कारबाही गर्ने आयोगले चेतावनीसमेत दिइसकेको छ।

प्रकाशित: १३ असार २०७४ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App