धनगढी- कंचनपुर पुनर्वासकी १९ वर्षिय प्रतिक्षा अधिकारी पहिलो पटक मतदानको अधिकार प्रयोग गर्दैछिन। उनलाई बुधवार बिहान कतिवेला होला र पहिलोपटक मतदान गरुँला भनेर छटपटी भएको छ। ‘जीवनमा पहिलो पटक मताधिकार प्रयोग गर्दाको खुशीको क्षणको प्रतिक्षामा छु’उनले भनिन्,‘मतदानको समय नजिकै गर्दा खुशीले छटपटी बढ्दै गएको छ।’ यस अघिको स्थानीय निकायको निर्वाचनको बेला उनी जन्मेकी नै थिइनन्। भने यस अघि भएका संविधान सभाका निर्वाचनमा मतदान गर्ने उमेर पुगेको थिएन।
यसैगरी धनगढी उपमहानगरपालिका वडा नं ८ का १९ वर्षिय याना चन्द निकै उत्साहित भएकी छिन। ‘भोलीको बिहान वेला होला लागीरहेको छ’उनले भनिन्‘पहिलो पटकको मतदानको अनुभव बटुल्दाको क्षणको पर्खाईमा एक्साइटेड भएको छुँ ।’ समाजको बिकास गर्ने, स्मृद्धीको लागी मन परेको उम्मेदवार छान्न मैले मतदान गर्ने उनको भनाई छ।
यसैगरी धनगढी उपमहानगरपालिका वानं १८ का २१ वर्षिय विशेष कुस्मी बुधवार बिहान ७ बजेको व्यग्र प्रतिक्षामा रहेको बताउँछन। ‘पहिलो पटक आफुले मन लागेको उम्मेदवार छान्ने मताधिकारको प्रयोग गर्न पाउने भोलीको बिहानी मेरा लागी ऐतिहासिक हुने छ’उनले भने,‘उत्सुकता र खुशीले अर्के महसुस भइरहेको छ।’ उनीहरु मात्र होइन काठमाडौं सिंहदरवारको अधिकार गाउँमा पुर्याउने स्थानीय चुनावमा मतदान गर्न सवै मतदाता उत्साहित भएका बेला नयाँ मतदाता भने निकै दंग र खुशी देखिन्छन। पहिलो पटकको मताधिकारको अनुभव ऐतिहासिक भएकाले र आफुले मत हालेको उम्मेदवार छान्न सकिने भएकाले उनीहरु खुशी र उल्लासका साथ असार १४ बुधवार बिहान ७ बजेको व्यग्र प्रतिक्षामा रहेका हुन। यस अघिका निर्वाचन आउँदा त्यती मतलव नहुने गरेको र अहिले मतदान गर्न पाउने भएकाले अर्कै उल्लास र उत्साह थपिएको उनीहरु बताउँछन्।
डोटी वोगटानका २० वर्षिय दिपकराज गिरी पहिले निर्वाचन आउदाँ त्यती मतलव नहुने गरेको बताउछन। धनगढीमा रहेका उनी मतदान गर्न बोगटान गइसकेका छन। ‘हाम्रो स्थानीय सरकारको जनप्रतिनिधी छान्नका लागी मैले पनि मतदान गर्ने भएकाले निकै उत्साह लागेको छ’उनले भने,–‘कती छिटो भोली बिहानको ७ बज्ला र म मतदान गरुला भइराखेको छ।’ स्वच्छ छवी भएको भिजन भएको उम्मेदवारलाई मतदान गर्ने उनको भनाई छ।
पहिलो पटक मतदान गर्ने मतादाताले आफ्नो भविष्य स्वदेशमै उज्वल हुने खालको विकास गर्न सक्ने इमान्दार, उम्मेदवारलाई मतदान गर्ने चाहाना राखेको बताएका छन्। स्थानीय निर्वाचन नभएको १९ बर्ष भएको छ। यस अघिको स्थानीय निर्वाचनका बेला जन्म पनि नभएका अहिले मतदाता भइसकेका छन्।
‘यस अघिको स्थानीय निर्वाचन हामीले देखेनौं, अहिलेको अधिकार सम्पन्न स्थानीय तहको जनप्रतिनिधी छान्ने सुनौलो अवसर पाएका छौं’नव मतदाता सरोज केसीले भने, 'देशमै भविष्य सुनिश्चित हुनुपर्छ। युवाहरुले देशमै रोजगारी पाउनुपर्छ। ‘युवाहरुको भविश्य स्वदेशमै सुनिश्चित हुने देश बनाउने जनप्रतिनिधी चाहिएको छ।'
निर्वाचन कार्यालय कैलालीका अनुसार गत संविधान सभा निर्वाचन पछि कैलालीमा मात्र ६९ हजार ६ सय १९ मतदाता थपिएका छन। कैलालीमा अहिले ४ लाख ३ हजार २ सय ८० मतदाता छन्।
प्रकाशित: १३ असार २०७४ १४:०४ मंगलबार