coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोशनीको चुनौतपूर्ण यात्रा

नेपालगन्ज- रोशनी सोनीलाई एसएलसी परीक्षामा बाँके प्रथम हँुदा एकातिर हर्ष छ भने अर्कोतिर उच्च शिक्षाबारे चिन्ता थपिएको छ। नेपालगन्ज–५ गणेशपुरस्थित एबीसी आवासीय उच्च माध्यामिक विद्यालयकी छात्रा रोशनी ३ दशमलव ९० ग्रेड अंक ल्याएर जिल्लाकै पहिलो भएकी हुन्। ‘एसएलसीको नतिजा आएपछि हिजो आफ्नो ग्रेड अंक मात्रै थाहा पाएकी थिएँ, आज दिउँसो जिल्ला टप भएको खबर थाहा पाउँदा धेरै खुसी भएँ,’ शुक्रबार उनले भनिन्। आफूले गरेको मेहेनत अनुसार नतिजा आएको उनको भनाइ छ। 
रोशनीको सिम्बोल नम्बर ०६७६५३० ‘जे’ हो। जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिशिअ गोरखबहादुर थापाले जिल्लाको एसएलसी नतिजा हेर्दा रोशनी पहिलो स्थानमा आएको पुष्टी गरे। ‘रोशनीबाहेक जिल्लामा अरु कसैको नतिजा यति धेरै आएको छैन,’ उनले भने। १६ वर्षीया रोशनीका बुबा सुनचाँदी कारिगढका रूपमा दैनिक ज्याला, मजदुरी गर्छन्। परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा कसरी पढ्ने भन्ने बारे उनी चिन्तित छिन्। ‘मेरो त साइन्स लिएर एमबिबिएस पढ्ने इच्छा छ,’ उनले भनिन्, ‘घरको अवस्था हेर्दा गाह्रो छ, छात्रबृत्तिबाट पढ्न पाइयो भने मात्र मेरो इच्छा पूरा होला।’ नेपालगन्ज–१४ भवानीवाग निवासी रोशनी नर्सरी कक्षाबाट उक्त विद्यालयमा भर्ना भएकी हुन्। हरेक कक्षामा प्रायः पहिलो स्थानमा आउँथिन्।
आफ्नो सिंगो समुदाय र आफन्तमा कसैले पनि छोराछोरीलाई कक्षा १० भन्दामाथि नपढाएको अवस्थामा बुबाआमाको सहयोगले पढ्ने अवसर मिलेको उनी बताउँछिन्। ‘हाम्रा धेरैजसो आफन्तले कक्षा १० पढिसकेपछि छोरालाई कारिगढ र छोरीको बिहे गरिदिन्छन्,’ उनले भनिन्, ‘मेरो पनि बिहे गरिदिने कोसिस भएकै हो, तर बुबाआमाले कसैको कुरा सुन्नु भएन, मैले पनि पढाइमा मात्रै ध्यान दिएँ।’ उनी परिवारको एक्ली सन्तान हुन्। स्कुलका प्रिन्सिपल र शिक्षकको हौसला र मार्गदर्शनले एसएलसीमा यो स्थान ल्याउन सफल भएको रोशनी बताउँछिन्। 
हरेक रात पाँच घण्टा मात्र सुत्ने गरेकी उनी बाँकी समय अध्ययनमै बिताउँथिन्। अध्ययनमा रोशनीले गरेको कडा मेहेनत देखेर उनका बुबाआमा डराउँथे। ‘धेरैका अभिभावक छोराछोरीले नपढेको कुरा कम्प्लेन गर्न आउनु हुन्छ, तर रोशनीका अभिभावक चाहीं छोरीले धेरै पढ्न थाली, स्वास्थ्यमा खराबी आउँला भन्ने डरले सम्झाइदिनु अनुरोध गर्नुहुन्थ्यो,’ प्रिन्सिपल शशी स्वाँरले भनिन्। उनै छात्रा जिल्ला प्रथम आउँदा आफ्नो पनि सपना साकार भएको स्वाँरले बताइन्। 
‘रोशनी सानै कक्षादेखि 'ट्यालेन्ट' थिइन्, उनको कक्षा ९ को नतिजा देखेर मैले नै अब तिमीले बाँके टप गर्नुपर्छ है भनेर हौसला दिइरहें, आज परिणाम त्यही भयो, हाम्रो पनि इज्जत राखिन्,’  स्वाँरले थपिन्। मेहेनत गर्ने जुनसुकै विद्यार्थीले पनि राम्रो नतिजा ल्याउन सक्ने उनको भनाइ छ। 
रोशनीलाई छात्रबृत्तिमा उच्च शिक्षा अध्ययन गराउन आफूले पहल थाल्ने स्वाँरले परिवारलाई आश्वासन दिएकी छन्। ‘ऊ मेरो स्कुलमा नर्सरीदेखि पढेको बच्चा हो, उसलाई रोजेकै विषयमा उच्च शिक्षा पढाउन म पहल गर्छु,’ उनले थपिन्। छोरी जिल्ला प्रथम आएको खबर सुन्दा आफू धेरै खुसी भएको रोशनीका बुबा सन्तोष सोनीले बताए। उनले भने, ‘मैले दैनिक मजदुरी गरेर पढाएको थिएँ, छोरीले अहिले हाम्रो इज्जत राखिन्, अब उच्च शिक्षा पढाउने मात्रै चिन्ता हुने भयो।’ मधेसी समुदायमा अझै पनि छोराछोरी पढाउन नचाहनेको जमात भए पनि आफूले छोरीको पढाइलाई कहिल्यै समस्यामा नपारेको उनले बताए।
 

प्रकाशित: ४ असार २०७३ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App