७ वैशाख २०८१ शुक्रबार
अर्थ

सजिलो छैन लेकसाइडलाई

लेकसाइडमा रम्दै स्वदेशी र विदेशी पाहुना । तस्बिर सौजन्य : उमेश पुन

पोखरा – गृहमन्त्री जनार्दन शर्माले ‘गृह प्रशासन सुधार मार्गचित्र’ सार्वजनिक गर्दै लेकसाइडसहित मुख्य पर्यटकीय क्षेत्र चौबिसै घन्टा खुला रहने मंगलबार राजधानीमा घोषणा गरे । पर्यटकीय क्षेत्र चौबिसै घन्टा खुलाउने भन्दै मन्त्रीस्तरबाट पहिलोपटक घोषणा भए पनि स्थानीय तहमा यसअघि नै बारम्बार प्रयास भएका थिए । 

स्थानीय सुरक्षा निकायका प्रमुखले यसअघि नै लेकसाइड चौबिसै घन्टा खुलाउनुपर्ने भन्दै त्यसका लागि पहल गर्ने बताउँदै आएका थिए । तर, बारम्बार उब्जेको यो विषय कार्यान्वयन हुन सकेको थिएन । पर्याप्त सुरक्षा व्यवस्था नभएको भन्दै व्यवसायीले अघिल्ला घोषणा कार्यान्वयन गर्न सकेका थिएनन् । गृहमन्त्रीको घोषणाले सुरक्षा व्यवस्था अहिलेको तुलनामा केही चुस्त हुनेमा विश्वस्त भए पनि लेकसाइडलाई चौबिसै घन्टा खुला राख्न निकै चुनौतीपूर्ण रहेको व्यवसायीको भनाइ छ।

सरकारी मात्र नभई व्यावसायिक क्षेत्रमै चुनौती रहेको उनीहरु बताउँछन् । पर्याप्त र दक्ष जनशक्ति अभाव, पर्यटक आगमनमा उतारचढाव, आन्तरिक व्यवस्थापनमा कमजोरी, कामदार व्यवस्थापन, पोखरासँग  पर्यटकको पहुँच अभाव मुख्य चुनौती रहेको व्यवसायीको भनाइ छ । जसले लेकसाइडलाई चौबिसै घन्टा खुलाउन सहज नभएको उनीहरु बताउँछन् । 

‘पर्यटकीय क्षेत्र चौबिसै घन्टा सञ्चालन गर्नु निकै राम्रो हो । तर, अहिलेको परिस्थितिमा लेकसाइडलाई चौबिसै घन्टा खुला राख्न सहज छैन,’ रेस्टुरेन्ट व्यवसायी वैभव पौडेल भन्छन्, ‘सरकारले सुरक्षा व्यवस्था त मिलाउला । तर, व्यवसायीका आफ्नै समस्या छन्, जुन निकै अप्ठेरा छन् ।’ दक्ष जनशक्ति अभाव, पाहुना आगमन नबढ्दा आम्दानी घट्नु, कामदार व्यवस्थापन मुख्य समस्या रहेको उनले बताए । राति अबेरसम्म पनि पोखरामा पाहुना भित्रिने वातावरण मिलाउन सकेमात्र चौबिसै घन्टा खोल्नुको औचित्य हुने उनले बताए । 

पौडेलका अनुसार अहिले लेकसाइडका रेस्टुरेन्ट राति १२ बजेसम्म खुल्छन् । होटलमा बुकिङ गरेका पाहुना भने कुनै पनि बेला भित्रिन सक्छन् । तर, अधिक रेस्टुरेन्ट मध्यरातपछि बन्द हुन्छन् । मध्यरातपछि रेस्टुरेन्ट बन्द हुनुमा पाहुना अभाव रहेको उनले बताए । ‘पाहुना भए हामीले ढिलासम्म खोल्न सक्थ्यौं। तर, मध्यरातमा रेस्टुरेन्ट आउने पाहुना हुँदैनन्, अनि कर्मचारी राखेर मात्र अर्थ रहँदैन,’ उनले भने, ‘अहिले त राति ११ बजेपछि प्रहरी नै रेस्टुरेन्ट बन्द गराउन आइपुग्छ ।’

उनका अनुसार अहिले रेस्टुरेन्टमा आठ घन्टाको दरमा दुई ‘सिफ्ट’मा कामदार रहन्छन् । चौबिसै घन्टा खुलाउँदा बढाएर तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गर्नुपर्छ । पाहुना अभाव भएर आम्दानी घटिरहेका बेला कामदार बढाउँदा व्यवसायीलाई आर्थिक भार थपिने उनले बताए । ‘पाहुना आएर आम्दानी बढाउन सकेमात्र तेस्रो सिफ्टमा कामदार बढाउँदा उपयुक्त हुन्छ । पाहुना नआउने, कामदारमात्र थपेर आर्थिक बोझ बोक्न व्यवसायी तयार छैनन्,’ उनले भने, ‘त्यसैले अब पाहुना भित्रिने वातावरण बढाउनुपर्छ । आगमन उकास्न सकेमात्र व्यावसाय थेग्न सकिन्छ । अहिलेकै अवस्थामा तेस्रो सिफ्ट कर्मचारी थपेर रेस्टुरेन्ट चलाउन व्यवसायी तयार छैनन् ।’ दुई सिफ्ट चलाउँदा ३५ जना कामदारले पुग्नेमा तेस्रो सिफ्ट पु¥याउँदा कम्तीमा १० जना कामदारको भार व्यवसायीले बोक्नुपर्ने उनले बताए ।
 
पौडेलको अनुभवमा चौबिसै घन्टा खुलाउँदा रेस्टुरेन्ट व्यवसायी खुसी भए पनि होटल व्यवसायी दुःखी हुनेछन् । कारण–होटलमा बसेका पाहुनालाई रेस्टुरेन्टमा हुने आउजाउ र हल्लाले बाधा पार्नेछ । ‘होटलमा बसेका पाहुना राति सुत्ने हुन्छन् । शान्त मनले सुत्न चाहेका ती पाहुनालाई रेस्टुरेन्टको हल्लाले ‘डिस्टर्ब’ गर्नेछ,’ उनले भने, ‘होटल र रेस्टुरेन्ट जोडिएर सञ्चालित छन् । जसले रेस्टुरेन्टको बाधा होटललाई पर्नेछ, त्यसबाट पाहुना बिचलित हुनेछन्, त्यसैले होटल व्यवसायी सहमत हुने देखिन्न ।’

होटल बाराहीका म्यानेजर राजकुमार केसी ठूला होटलले अहिले नै चौबिसै घन्टा सेवा दिएको बताउँछन् । होटल खुले पनि होटलभित्रै सञ्चालित रेस्टुरेन्टमा भने राति अबेर आएका पाहुनाले चाहेको खाना नपाउने उनले बताए । ‘राति अबेर आउँदैमा पाहुना भोकै बस्नुपर्ने होइन, तर सामान्य अवस्थामा जस्तो चाहेको खाना राति अबेर आउने पाहुनाले पाउँदैनन्,’ केसीले भने, ‘चौबिसै घन्टा एकैनासको सेवा कसैले दिन सक्दैन । विदेशमा पनि अबेर रातको भिन्दै ‘मेनु’ हुन्छ ।’

ठूला होटलले रातभर सीमित सुविधा दिए पनि लेकसाइडमा सबै होटलले अबेर आउने पाहुनालाई सेवा दिन नसकेको उनले बताए । ‘साना होटलले राति अबेर खानासमेत दिन सक्दैनन्,’ उनले भने, ‘त्यसैले होटलभन्दा पनि अब चौबिसै घन्टा रेस्टुरेन्ट खुलाउन सक्नुपर्छ ।’ 
केसीका अनुसार चौबिसै घन्टा एकैनासको सेवा दिन कामदार व्यवस्थापनमा निकै समस्या छ । ‘सिफ्ट अनुसार कामदार पाइँदैनन्, जस्तो पायो उस्तै कामदार राखेर पाहुनाले राम्रो सेवा पाउँदैनन्, असक्षम कामदार राख्दा होटललाई नोक्सान हुन्छ,’ उनले भने, ‘अहिले सबैभन्दा बढी दक्ष कामदारकै समस्या छ । कामदार राख्यो, काम सिक्छन्, अनि विदेश जान्छन्, त्यसले चुनौती बढाएको छ ।’ चौबिसै घन्टा खुलाउँदा कुनै पनि प्रकृतिका पाहुना आउन सक्ने भएकोले सुरक्षा व्यवस्था चुस्त हुनुपर्ने उनले बताए । 

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्वअध्यक्ष गोपिबहादुर भट्टराई अहिलेकै अवस्थामा लेकसाइडलाई चौबिसै घन्टा खुलाउन धेरै सुधार गर्नुपर्ने बताउँछन् । उनका अनुसार अहिले भइरहेको सिसिटिभी र सौर्य सडकबत्ती बढाउनुपर्छ । त्यसबाहेक अबेर पोखरा भित्रिने पर्यटकलाई गन्तव्यसम्म पुग्न नगर यातायातको सुविधा थप्नुपर्छ । अहिले राति अबेर पोखरा भित्रिने पाहुनाले लेकसाइड पुग्दा निकै महँगो दरमा ट्याक्सी चढ्नुपर्छ । त्यस्तै, पाहुना आगमन पनि अहिलेको तुलनामा बढाउनुपर्ने उनले बताए । 

‘व्यवसायीका थुप्रै चुनौती छन् । तर, राज्यले सुरक्षाको शतप्रतिशत ग्यारेन्टी लिनुपर्छ । अनि कुनै पनि समयमा पाहुनालाई पोखरा भित्रिन सक्ने वातावरण बनाउनुपर्छ,’ भट्टराई भन्छन्, ‘व्यवसायीले पनि इमान्दारी प्रस्तुत गर्नुपर्छ ।’ व्यवसायीले आन्तरिक सुरक्षा, कर्मचारीको व्यवस्थापन गर्न सक्नु सबैभन्दा बढी चुनौती रहेको उनले बताए । ‘लेकसाइडलाई चौबिसै घन्टा खोल्ने भनेर यसअघि पनि स्थानीय तहमा निर्णय भएको हो, तर, कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘एकजना सुरक्षा प्रमुखले गरेको निर्णय अर्काेले कार्यान्वयन नगर्दा पनि लागू नभएको हो । राज्यले साँच्चै चाहेको हो भने लागू हुनसक्छ । तर, अहिलेकै अवस्थामा नभई ब्यापक सुधार गर्नुपर्छ ।’

व्यवसायीका लागि आचार संहिता लागू गरेर कसैलाई अवरोध नहुने गरी सञ्चालन गरेमात्र चौबिसै घन्टा खोल्नुको औचित्य हुने उनले बताए । ‘कुनै पनि बेला पाहुना आउन सक्छन् भन्ने वातावरण बनाइदिनुपर्छ । अहिलेको अवस्थामा पाँच बजेपछि पोखरामा बाहिरबाट पाहुना कमै भित्रिन्छन्,’ उनले भने, ‘हवाईजहाज र बसबाट आउने पाहुना पाँच बजेसम्म अधिकांश आइसक्छन् ।’

काठमाडांैका पाहुना कुनै पनि बेला पोखरा आउन सक्ने गरी सहज पहुँच विस्तार गरेमात्र चौबिस घन्टाका लागि पाहुना हुनेछन् । नत्र पाहुना अभाव खेपेरै व्यवसायीले कर्मचारी थपेर व्यवसाय चलाउन सक्दैनन् ।’ उनले राति अबेरसम्म पोखरामा हवाई उडान हुने र काठमाडौं, बुटवल, चितवनदेखि सुविधासम्पन्न बस सेवा दिन सकेमात्र पाहुना बढ्ने बताए । त्यसले चौबिसै घन्टा पर्यटकीय क्षेत्र सञ्चालनमा सहजता हुने उनले बताए । 

भूकम्प र नाकाबन्दीका कारण खस्किएको पाहुना आगमन अझै सोचेजति बढ्न नसकेको बेला चौबिसै घन्टा पर्यटकीय क्षेत्र खुला राख्न खोज्दा सहज नरहेको उनको भनाइ छ । ‘हामीले चौबिसै घन्टा खोल्नुको विरोध गरेका छैनौं । तर, सञ्चालन सहज हुँदैन, केहीदिन खुलाएर बन्द गर्नुपर्ने अवस्था आए त्यसले नराम्रो सन्देश फैलाउँछ,’ भट्टराईले भने । 

पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया पनि चौबिसै घन्टा खोल्न सहज नभएको बताउँछन् । ‘चौबिसै घन्टा खोल्नुपर्ने गरी पोखरामा पाहुना छैनन्,’ उनले भने, ‘अहिलेको पाहुना आगमन दरमा व्यवसायी आर्थिक भार थेग्न सक्दैनन् ।’ पोखरामा कस्ता प्रकृतिका पाहुना आउँछन भन्ने पनि हेर्नुपर्ने उनले बताए । ‘चौबिसै घन्टा खुल्दा कति पाहुना थपिन्छन्, त्यो अध्ययन गर्नुपर्छ । पोखरा साहसिक गतिविधिमा रम्न आउने पाहुनाको गन्तव्य हो रात्रिजीवन रुचाउनेका लागि होइन,’ थपलियाले भने, ‘नेपाल रात्रि जीवनका लागि चिनिएको गन्तव्य होइन । रातिमा पनि घुम्न सकिन्छ भन्ने सन्देश जानु नराम्रो होइन, तर, स्वदेशी वा विदेशी बढी कसले सुविधा खोजेका छन् भन्ने हेर्ने हो ।’

निश्चित कार्यविधि, कडा मापदण्ड र आचार संहिता बनाएर सञ्चालन गर्न सकिने उनले बताए । अत्यन्त ठूलो संख्यामा पाहुना आउने र उनीहरुलाई दिउँसोमा मात्र सेवा दिएर नसक्ने अवस्था आउमा मात्र रात्रि सेवा दिन आवश्यक हुने थपलियाको भनाइ छ । 

 

प्रकाशित: १५ असार २०७४ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App