७ वैशाख २०८१ शुक्रबार
कला

‘प्रेममा कमजोर भएँ’

सन् २०११ कि मिस नेपाल मलिना जोशी पछिल्लो समय फिल्म अभिनयमा सक्रिय छन् । उनले अभिनय गरेका ‘ऋतु’, ‘विनर’,  ‘झुम्की’ प्रदर्शनमा आइसकेका छन् भने ‘संरक्षण’, ‘लीला’, ‘रानी’ आदि फिल्म प्रदर्शनको संघारमा छन् । सुरुका केही फिल्ममा काम गर्दाका तीता अनुभवले यो क्षेत्र नै छाड्ने सोचमा रहेकी मलिनाले पछिल्लो समय भने अभिनयमा ‘इन्जोए’ गर्न थालेको अनुभव सुनाइन् ।

कडा तर तार्किक विचार राख्ने मलिनाले पहिलो पटकको प्रेम र ब्रेकअपका बारेमा  नागरिकका सामीप्यराज तिमल्सेनासँग खुलेर कुरा गरिन् । सोही कुराकानीका मुख्य अंश :

भर्खरै ‘संरक्षण’ फिल्मको  ट्रेलर सार्वजनिक भयो तर तपाईं प्रशस्त देखिनुहुन्न ? मेकरसँग सम्बन्ध बिग्रेको हो कि रणनीति हो ?
सायद रणनीति हो । मेकरसँग मेरो राम्रो सम्बन्ध छ । तपाईंलाई बताइदिउँ ‘संरक्षण’ नै त्यो पहिलो फिल्म हो जसबाट मैंले अभिनयका लागि पहिलो अफर पाएकी थिएँ । तर, विविध कारणले उतिबेला फिल्म नबनेपछि ‘ऋतु’बाट डेब्यु गर्न पुगें ।

कति अगाडिको कुरा हो ? ‘ऋतु’ पछि तपाईंले थप दुई तीन फिल्म गरिसक्नुभयो ?
‘अपवाद’को प्रिमियरको बेला हो । मलाई यो फिल्मका निर्देशक पूर्णेन्दु झाले प्रिमियरमा देखेर फिल्मका लागि प्रस्ताव गर्नुभएको थियो । फिल्ममा म अलका नाम गरेकी पत्रकारकोे भूमिकामा छु । मलाई पनि भूमिका चित्त बुझ्दो लागेर हुन्छ भनेकी थिएँ । तर, त्यो भन्दा पहिला ‘ऋतु’ गर्न पुगें ।  

कसरी ?
मैले ‘संरक्षण’ गर्न लागेको ‘ऋतु’का निर्माताले  पनि थाहा पाउनु भएछ । फ्रेस फेसको खोजीमा मसम्म आइपुग्नु भयो । स्क्रिप्ट पढ्दा फिल्मको मै हुँ कि जस्तो लाग्यो । त्यसपछि फिल्म खेल्न राजी भएँ ।

पहिलादेखि नै फिल्ममा रुची थियो ? 
थियो । म दुनियाँको अगाडि आउन चाहन्थें । ताजमा रुचि थियो । त्यो पूरा भइहाल्यो । सधैं अगाडि रहने रुचिको विकल्प फिल्म नै लाग्यो । त्यही भएर फिल्ममा छु ।

 तर, तपाईंलाई फिल्म त खासै फापेको देखिएन नि ?
कसरी ?

तपाईंले अभिनय गरेका फिल्म खासै चलेका छैनन् ? तपाईंलाई ‘अनलक्की’ हिरोइनको ट्याग पनि झुन्ड्याइन्छ ?
फाइन ... ल म अनलक्की भएँ रे ? अनमोल केसीलाई छाडेर लक्की को हो मलाई देखाउनुस् त ... । फेरि, मेरो जम्मा दुईटा फिल्म रिलिज भएको छ । अनि नेपालमा वर्षमा कतिवटा फिल्म साँच्चिकै हिट हुन्छ ? केही अनलाइनमा करोड कमाएको समाचारको कुरा गर्ने हो भने ‘विनर’ले पनि करोड कमाएको समाचार आएको थियो । ‘ऋतु’ले पनि विदेशबाटै लगानी उठाएकोे छ । यस हिसाबले हेर्दा त मेरा दुवै फिल्म हिट छन् । 

तर, पनि तपाईं बीचमा यो क्षेत्रबाट दिक्क हुनुहुन्थ्यो नि ?
हो दिक्क थिएँ, यहाँको काम गर्ने शैली देखेर । यो क्षेत्रबाट टाढिने कि भन्ने सोचे पनि बनाएकी थिएँ ।

केले फर्कायो त तपाईंलाई ?
दुईटा कारण छ । एउटा त यही बीच मैले ‘रानी’ फिल्ममा काम गरें । यो फिल्मले सुटिङ पनि रमाइलो हुँदोरहेछ भन्ने महसुस गरायो । दोस्रो, एउटा फिल्ममा गरेको गल्ती अर्कोमा सच्याउने लोभ हुँदो रहेछ । 

व्यक्तिगत कारणले पनि त डिस्टर्ब हुनुहुन्थ्यो क्यारे ?
मतलब ?

अभिनेता अनुपविक्रम शाहीसँगको प्रेम अनि ब्रेकअप ?
मैले कहिलै प्रेममा छु भनें र ?

आज भन्नुस न त । तपाईंले नभने पनि धेरैलाई थाहा छ तपाईंहरू दुई जना प्रेममा हुनुहुन्थ्यो ?
मिडियामा पहिलोपल्ट यो विषयमा कुरा गर्दैछु । नाउ आइ फिल लाइक टकिङ । हो, एक समय र अनुप र म प्रेममा थियौं । तर, सबैकुरा सोचे जस्तो हुँदारहेनछ । इट्स ओभर नाउ ।

 तर, चर्चा त विवाहसम्मको थियो नि ? फेसबुकमा तपाईंले एक समय लेखेको स्ट्याटसले यही संकेत गथ्र्यो ?
हेर्नुस्, अब त्यो डिटेलमा नजाउँ । के–के सोचिएको थियो, के–के योजना थिए ? ती कुरा नगरौं । अहिले अनुप जी फिल्ममा राम्रो गरिरहनु भएको छ । म पनि गरिरहेकी छु । खाटा बसेको घाउ किन कोट्याउनु ... ?

 तपाईंको कुरा सुन्दा लाग्छ, एकदमै माया गर्नुहुन्थ्यो एक अर्कालाई ? फेरि के भएर छुट्यो ?
भने नी डिटेलमा नजाऊँ । मन मिलेन, विचार मिलेन छुट्टियौं । हाम्रो प्राथमिकता फिल्मको संवाद जस्तै ‘ऋतुसँगै बदलियो भनौं न’ ।  एक समय विश्वास गरेको मानिसको माया त लागिहाल्छ नि ? नशा लागे जस्तो हुँदोरहेछ । के गरिरहेकी छु ? कता गइरहेकी छु ? केही थाहा नहुने ? म त त्यो बेला आफूलाई एकदमै कमजोर महसुस गर्न थालेकी थिएँ । यही बेला हाम्राबीचमा केही इस्यु आए । मैंले आफूलाई रिलेसनसिपबाट अलग गराउने निर्णय लिएँ ।

हल्ला थियो, तपार्इंहरूका बीचमा कोही तेस्रो व्यक्तिको प्रवेश भएको थियो ?
त्यसमा अरूको के दोष ? ठाउँ त हामीले नै दियौं नि हैन र ? आफैं कमजोर भएपछि अरूलाई के दोष दिनु ?

आजभोलि कस्तो छ तपार्इंहरूको सम्बन्ध ? 
एकदम ठिक छ । हामीले कमिटेड सम्बन्धको मात्र अन्त्य गरेका हौं । आज पनि हामी राम्रो साथी हौं । अनुपले हाम्रो सम्बन्धकोा अन्त्य  चाहेको थिएन । उसले आफ्नो जिऊमा मेरो नामको ट्याटु खोपेको छ । अचेल पनि त्यही टाटु देखाएर जिस्काउने गर्छ । म भन्छु– मैंले खोपाएको छैन । म तिमीलाई माया गर्दिन भैगो नि त ? हामीले सँगै ‘रानी’ मा पनि काम गरेका छौं । नर्मल सम्बन्ध छ ।

 प्रसंग बदलौं, मलिनाले भविष्यकोे बारेमा के सोचिरहेको छ ?
पहिलो त म ४–५ वर्ष फिल्ममा काम गर्छु । बल्ल त मैले फिल्म इन्जोए गर्न थालेँ । डान्स सिकिरा’छु । अभिनयमा राम्रो गर्ने प्रयास गरिराछु । जतिन्जेल गर्छु, अभिनय गर्छु । फास्ट फुडको चेन खोल्ने पनि चाहना छ । अनि, बाबा ममीलाई आफ्नै पैसामा वल्र्ड टुर गराउने सपना छ । 

अनि विवाह ?
त्यो पनि मेरो लिस्टमा छ नै । जुन दिन यो मान्छेसँग संसार घुम्न रमाइलो हुन्छ भन्ने लाग्छ त्यो दिन विवाह गर्छु ।

प्रकाशित: १५ असार २०७४ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App