८ वैशाख २०८१ शनिबार
समाज

छोराछोरी  सरकारी स्कूल नपढाउने शिक्षकको तलव रोकिने

फाइल फोटो

जाजरकोट – यहाँको एक गाउँपालिकाले  सरकारी  विद्यालयमा कार्यरत शिक्षकहरुले  आफ्ना छोराछोरीहरु सामुदायिक विद्यालयमा भर्ना नगरे  तलव नै  रोकिदिने  निर्णय  गरेको छ ।

जिल्लाको कुसे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र कार्यरत सबै शिक्षकहरूले  आफ्ना छोराछोरीलाई  सरकारी विद्यालयमा पढाउनै पर्ने बाध्यात्मक निर्णय गरेको हो ।

गत असार ६ गते  बसेको गाउँ कार्यपालिकाको बैठकले  गाउँपालिका भित्रका विद्यालयहरुको अवस्था सुधार गर्न र शिक्षकहरुलाई  विद्यालयप्रति जिम्मेवार बनाउन  यस्तो निर्णय गर्नु परेको वताइएको  छ।  आफू सरकारी विद्यालयमा पढाउने र छोराछोरीलाई  निजि विद्यालयमा पढाएर  सामुदायिक विद्यालयप्रति कुनै चासो  नराख्ने शिक्षकको व्यवहारका कारण  शैक्षिक गुणस्तर बिग्रिएको भन्दै गाउँपालिकाले त्यस्तो निर्णय गरेको जनाएको छ ।

शिक्षकहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा नपढाएकै कारण विद्यालयप्रति कुनै जिम्मेवारी बोध नगरेको भन्ने जनताको व्यापक गुनासो आएपछि गाउँपालिकाले  यस्तो कठोर निर्णय गरेको  बताइएको  छ । 
आफ्ना छोराछोरीलाई कुनै पनि हालतमा  सरकारी विद्यालयमा पढाउनै पर्ने  सो नगरे  तलव पनि  कुनै पनि हालतमा नदिने  कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वताए । लगातार ५ वर्ष सम्म  तलव रोकेर भए पनि  यो निर्णय  कार्यान्व्यन गराएरै छोड्ने  बस्नेतले बताए । शैक्षिक विकृतिको रुपमा आफ्ना छोराछोरी निजीमा पढाउने र विद्यालयमा जिम्मेवारीपूर्वक काम नगर्ने परीपाटी बढेकोले  यस्तो निर्णय गर्नु परेको  उनले बताए । जस्तो सुकै अप्ठेरो  परिस्थिति आएपनि  जनताको साथ लिएर यो निर्णय कार्यान्वयन गराएरै छाड्ने उनले प्रतिबद्धता गरे ।

जिल्ला वाहिर  घर भएर गाउँपालिका विद्यालयमा कार्यरत शिक्षकहरुले पनि आफ्ना छोराछोरी  सरकारी विद्यालयमा पढिपरहेको प्रमाण पेस गर्न पर्ने नियम  बनाउने  बस्नेतले बताए । 

कुसे गाउँपालिकाको  निर्णयलाई  आम जिल्लावासीले  स्वागत गर्दै  निकै  राम्रो निर्णय भएको प्रतिक्रिया दिएका छन् । 

गाउँपालिकाको निर्णयलाई  सफल रुपमा  कार्यान्वयन गराउन आफूहरुले  खुलेर सहयोग गर्ने स्थानीयवासीको  प्रतिवद्धता छ ।   जिल्ला शिक्षा अधिकारी  ललितविक्रम सिंहले  कुसे गाउँपालिकाको निर्णयले  जिल्ला भरी नै शैक्षिक गुणस्तर कायम गराउनका लागि  ठूलो सहयोग गर्ने बताए ।
कुसे गाउँपालिकाको निर्णयलाई अन्य गाउँपालिका र नगरपालिकाले पनि  सिको गरेर साथ दिनुपर्ने  वताए । 

विद्यालयमा नियमित नपढाउने, आफू सरकारी विद्यालयमा पढाउने   छोराछोरीलाई महंगा बोर्डिङमा पढाएर  जिल्लाको शैक्षिक अवस्था बिगार्नेलाई कुसेगाउँपालिकाको निर्णयले  ठीक पार्ने कुसे गाउँपालिका  वडा नं ९का स्थानीय निराजन आरसीले बताए । 

उनले  अव सरोकारवाला निकायले कडाइका साथ अघि नबढेसम्म  सुधारको काम अघि बढ्न नसक्ने  बताए। 
 

प्रकाशित: १५ असार २०७४ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App