८ वैशाख २०८१ शनिबार
खेल

सातौं राष्ट्रिय खेलमा ३२ खेल

काठमाडौं- पूर्वाञ्चलमा मंसिरमा हुने तय गरिएको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्णय गरेको छ।  राखेप सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको  राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले खेल संख्या तय गरेको थियो।

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत रहेका शारीरिक सुगठन, पौडी र ट्राथलन आयोजना भइसकेकाले बाँकी खेल आयोजना गर्ने निर्णय गरेको राखेपले जनाएको छ।

एथलेटिक्सअन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा सातौं राष्ट्रिय खेलकुदमा म्याराथन बाहेकका स्पर्धामा प्रतिस्पर्धा हुनेछ। त्यस्तै बैठकले खेलाडी दर्ता साउन २५ देखि भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मंसिर ३ गतेलाई ताकेको छ।

राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो। बजेटको समस्या र मधेश आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भएपनि सातौं राष्ट्रिय स्थगित भएको थियो। २०७२ सालमा सातौं राष्ट्रिय पहिलो पटक मंसिर ११ देखि १८ तथा दोश्रो पटक फागुन १८ देखि २३ गते हुने भनिएको थियो।

सरकारले जेठमा सार्वजनिक गरेको बजेटमा राष्ट्रिय खेलकुदका लागि २० करोड रुपैया छुट्टाएको थियो।  

प्रकाशित: ७ श्रावण २०७३ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App