coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

छाँगामा भविष्य खोज्दै

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका भक्तबहादुर बिक सानैदेखि प्रकृतिसँग नजिक हुन चाहन्थे । पौडीलगायत साहसिक खेलमा रुचि राख्ने उनले सन २०१३ मा काठमाडौबाट क्यानोनिङ एक्सप्लोर गर्न पोखरा पुगेको टोलीलाई भेटे । 

भक्तको साहसिक खेलप्रतिको लगाव देखेपछि काठमाडौबाट गएको टोलीले उनलाई  क्यानोनिङ सम्बन्धी तालिम दियो । त्यसभन्दा पहिले उनले क्यानोनिङबारे सुनेका समेत थिएनन् । त्यसैले नयाँ अनुभव हुने भए पनि उनी क्यानोनितर्फ आकर्षित भए । ३/४ वर्षयता उनको अधिकांश समय बाँदरसमेत जान नसक्ने अप्ठेरा छाँगामा बित्छ । 

क्यानोनिङ पथप्रदर्शक बनेका उनले क्यानोनिङ गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको साहसिक खेल खेल्ने सपना सहज ढंगले पूरा गरिदिन्छन् । औपचारिक शिक्षा १२ कक्षासम्म अध्ययन गरेका उनी अहिले यहीँ क्षेत्रमै रमाउन थालेका छन् । पहिले रहर र लहडले यस क्षेत्रमा प्रवेश गरेका भक्तका लागि अहिले क्यानोनिङ नै जीवन जिउने माध्यम बनेको छ । ‘पहिले नयाँ खेल भएकाले रहरले यस क्षेत्रमा लागेँ । तर, अहिले क्यानोनिङमै अव्यस्त भइरहेको छु,’ उनले भने ।  

काभ्रे, तिमालका दर्विन्द्र तामाङले छाँगामा भविष्य खोज्न थालेको एक दशक पुग्यो । नेपालमा क्यानोनिङ सुरु हुने बेलादेखि नै यस क्षेत्रमा भविष्य खोज्न सुरु गरेका उनी सन् २००७ देखि निरन्तर यसै क्षेत्रमा सक्रिय छन् । व्यवस्थापनमा स्नातक उनी साहसिक यात्रा गर्न रुचाउँछन् । दर्विन्द्र एडभेन्चरलाई नसाको संज्ञा दिन्छन् ।  उनी भन्छन्, ‘यो एउटा नसा हो, लत बस्यो भने छाड्न गाह्रो छ ।’ 

क्यानोनिङ पथप्रदर्शककै रूपमा उनले नेपालबाहेक जापान, फ्रान्स, स्पेन र स्वीजरल्याण्डको पनि अनुभव संगालेका छन् । हालसम्म विभिन्न मुलुकमा गरी झण्डै ७० क्यानोनिङमा पथप्रदर्शकको काम गरिसकेको उनी बताउँछन् । दर्विन्द्र क्यानोनिङ पथप्रदर्शक मात्र होइनन्, यससम्बन्धी तालिम दिने तथा ट्रेकिङ गर्ने तथा दुर्घटनामा परेका गाडीको रेस्क्यु गर्नेलगायत काम समेत गर्छन् । कास्कीका भक्त बिकलाई क्यानोनिङ पथप्रदर्शक बनाउने श्रेय पनि यिनैलाई जान्छ । भक्त भन्छन्, ‘गुरुकै सहयोग र प्रेरणाले यस क्षेत्रमा रमाइरहेको छु ।’ भक्त र दर्विन्द्र जस्तै झण्डै दुई दर्जन क्यानोनिङ गाइडले नेपाल क्यानोनिङ एसोसियसनको सहकार्यमा नेपालका विभिन्न छहराको एक्प्लोर गर्ने तथा क्यानोनिङ गराउने काम गर्दै आएका छन् । 

चुनौतीपूर्ण पेशा  
क्यानोनिङमा सहभागी हुनेका लागि यो साहसिक र रमाइलो खेल हो । तर, पथप्रदर्शकका लागि भने यो चुनौतीपूर्ण पेशा हो । डोरीको सहायताले लामोसमयसम्म पानीको छाँगोमा टिकिरहनु आफैमा चुनौतीपूर्ण हो । त्यसमाथि प्रतिकूल मौसम, ढुंगा खस्नेलगायत समस्याले पथप्रदर्शकमाथि चुनौती सिर्जना गरिदिन्छ । ‘हामी आफू मात्र सुरक्षित भएर हुँदैन, हाम्रो मातहतमा क्यानोनिङ गर्नेको सुरक्षा सबैभन्दा ठूलो विषय हो,’ दर्विन्द्र भन्छन् ।
 
आफूसँग क्यानोनिङ गर्नेलाई पनि सुरक्षित ढंगले साहसिक यात्रा गराउनु निकै गाह्रो हुने उनको अनुभव छ  । छाँगामा बसेर क्यानोनिङ गराउने पेशा विमान चलाउने भन्दा कठिन पेशा भएको दर्विन्द्र र भक्तको अनुभव छ । उनीहरू भन्छन्, ‘हामीले यस्तो पेशामा भविष्य खोज्दै छाँै, जहाँ थकाई लागेका बेला आराम गर्छु र भोक लाग्यो खान्छु भन्न पाइँदैन ।’ बिहान क्यानोनिङ सुरु भएदेखि बेलुका नभएसम्म उनीहरूसँग आराम गर्ने र खाना खाने समय नै हुँदैन । 

छाँगामा भविष्य खोज्नेले प्राविधिक रूपमा सामना गर्नुपर्ने चुनौती त छँदैछन् । कतिपय अवस्थामा स्थानीय बासिन्दा पनि उनीहरूका लागि चुनौती बनिदिन्छन् । दर्विन्द्र भन्छन्, ‘कतिपय स्थानमा अध्ययनपश्चात क्यानोनिङका लागि सबै तयारी पनि पूरा भइसकेको हुन्छ । तर, स्थानीयले कुरा नबुझिदिने वा अवरोध सिर्जना गर्न खोज्दा समस्या सिर्जना हुन्छ ।’ पाँच घण्टामा दुई सय जनासम्मलाई क्यानोनिङ गराउने उनीहरू सबै किसिमका चुनौतीलाई परास्त गर्दै कुशलतापूर्व क्यानोनिङ सम्पन्न गराउँदा भने आनन्द महसुस हुने उनीहरूको भनाई छ ।  चुनौतीपूर्ण पेशामा कसरी टिकिरहेका छन् त उनीहरू ? प्रश्न झर्न नपाउँदै दविन्द्रले जवाफ फर्काए, ‘यु आर हिअ स्टे हिअ अर्थात् तिमी यहीँ छांै र यही हुनुपर्छ’ भन्ने नाराले हामीलाई यसमा टिकिरहन प्रेरणा दिन्छ । हामीले नै यो क्षेत्रलाई छाड्यौं भने अरुलाई कसरी आकर्षित गर्ने ?’ उनले उल्टै प्रश्न गरे ।
  
परिवारको चिन्ता      
क्यानोनिङ पथप्रदर्शक दर्विन्द्र हुन् वा भक्त, यस क्षेत्रमा भविष्य खोज्न चाहँदा परिवारले सहजै अनुमति दिएको होइन । दर्विन्द्रलाई त क्यानोनिङ र परिवारमध्ये एउटा रोज्न भनिएको थियो । विगत सम्झदै उनी भन्छन्, ‘यो क्षेत्रमा करियर खोज्ने मेरो निर्णयप्रति परिवारको स्वीकृति थिएन, मेरो परिवारले क्यानोनिङमा भविष्य खोज्ने भए फर्किएर घर नआउनु भनिएको थियो ।’ 

भक्तको पनि त्यस्तै अनुभव छ । उनले क्यानोनिङ सुरु गर्दा कठिन पेशा रोजेको भन्दै आमा आत्तिएर बेहोस भएकी थिइन् । ‘घरमा बुबाआमा, दाजुभाउजुले यो पेशा नगर्न सुझाउनु हुन्थ्यो । तर, मैले अडान लिए पनि सुरुमा आमा बेहोस नै हुनुभयो,’ विगत सम्झदै उनले भने । अग्ला झरनामा भूतप्रेतको बास हुने भन्दै उनलाई यो पेशा नरोज्न परिवारले निकै दबाब दिएको थियो । 

पछिल्लो समय क्यानोनिङलगायत साहसिक खेलबारे व्यापक प्रचारप्रसारले गर्दा विदेशीसँगै स्वदेशी पर्यटकसमेत यसतर्फ आकर्षित हुन थालेका छन् । सुरुमा जोखिम मात्र हुने ठानेर अनुमति नदिने उनीहरूको परिवारले अहिले भने बुझ्न थालेको  छ । क्यानोनिङसँगै अन्य साहसिक यात्रामा समेत सहभागिता जनाउने उनीहरू अब भने यो पेशा छाड्नै नसक्ने अवस्थामा पुगेका छन् । 

उनीहरू भन्छन्, ‘नेपालबाट अवसरको खोजीमा विदेश जानेको भीड छ । तर, नेपालमै भएको अवसर सदुपयोग गर्ने पक्षमा कोही देखिँदैनन् । हामीले त्यही अवसरलाई समाउने कोसिस गरिरहेका छाँै ।’ आफ्नो कामबाट प्राप्त हुने प्रोत्साहनले नै यो क्षेत्रमा लागिरहने प्रेरणा मिलेको बताउने यी दुई जना भन्छन्, ‘नेपालका कुनाकाप्चामा रहेका झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै आम्दानीको स्रोतका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ । सबैको सहयोग मिल्यो भने एक दिन हामीले क्यानोनिङलाई पर्यटक आकर्षित गर्ने प्रमुख क्षेत्रका रूपमा विकास गर्नेछाँै ।’ 

प्रकाशित: १७ असार २०७४ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App