६ वैशाख २०८१ बिहीबार
खेल

नवयुग र फुपुल्हामु वर्ष खेलाडी

काठमाडौं- पल्सर स्पोर्टस अवार्ड–२०७२ का ९ मध्ये ६ विधाको अवार्ड फुटबलले जितेको छ। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा स्ट्राइकर नवयुग श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी पुरुष रजुडोकी फुपुल्हामु खत्री महिलातर्फ विजेता बनेका छन्। फुटबलकै अञ्जन विष्ट उत्कृष्ट युवा खेलाडी चुनिँदा बालगोपाल महर्जनले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते।

पूर्व राष्ट्रिय खेलाडी एवं फिफा रेफ्री श्रीराम रञ्जितकार लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए। अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मरणोप्रान्त स्पेसल अवार्ड प्रदान गरिएको छ।

पारा एथलिट अवार्डबाट तेक्वान्दोकी सीता भण्डारी सम्मानित भइन्। टेबलटेनिसकी नविता श्रेष्ठले सबैभन्दा बढी एसएमएस भोेटिङ र फेसबुकलाइकका आधारमा पिपुल्स च्वाइस अवार्ड जितिन्।

गतवर्ष बंगबन्धु गोल्डकप र १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने फुटबल टोली वर्षको उत्कृष्ट टिमबाट सम्मानित भएको छ।

अघिल्लो वर्ष फुटबलमा नेपालले प्राप्त गरेका दुई ठूला सफलता बंगबन्धु गोल्कडप र १२ औं दक्षिण एसियाली खेलकुदमा यु–२३ मा स्वर्ण पदक जित्दा महŒवपूर्ण भूमिका निर्वाह गरेका नवयुगले आफ्नै टोलीका गोलकिपर विकेश कुथु, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका वीरबहादुर महरालाई पछाडि पारेका थिए।

नेपाली टोलीले बंगबन्धु गोल्डकप जित्दा नवयुगले ४ गोल गरे, त्यसमा उनले माल्दिभ्सविरुद्ध ह्याटि्रक गरेका थिए। राष्ट्रिय टोलीबाट ह्याटि्रक गर्ने पहिलो खेलाडी बनेका आर्मीका नवयुगले १२ औं सागमा सबैभन्दा बढी दुई ह्याटि्रकसहित ७ गोल गरेका थिए। आर्मीलाई लिगमा दोस्रो बनाउँदा १४ गोल गरेपछि उनीले राष्ट्रिय टोलीमा मौका पाएका थिए। आर्मीले झापा गोल्डकप र मदन भण्डारी गोल्डकप जित्दा दुवैमा उनी उत्कृष्ट फरवार्ड बनेका थिए।

नवयुगले अवार्ड जितेपछि भने,'सबै जितको हकदार थिए। म भाग्यशाली रहेँ। सबै समर्थकलाई धन्यवाद दिन चाहन्छु। अवार्ड जितेर जिम्मेवारी बढेको छ भने अझै राम्रो गर्ने हौसला मिलेको छ।'

१२ औं सागमा स्वर्णसहित गत वर्षमात्र ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी जुडोकी फुुपुले उसुकी निमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजाकेसी र तेक्वान्दोकी रेजिना कार्कीभन्दा उत्कृष्ट ठहरिन्। सागमा जुडोलाई स्वर्ण दिलाउने पहिलो महिला बनेकी फुपुले अल ओपन बुढापेस्टमा स्वर्ण, हङकङ ओपन जुनियर जुडोमा च्याम्पियनसिपमा रजत तथा मकाउ ओपन जुनियर च्याम्प्यिनसिप र हंगेरी ओपनमा कांस्य जितेकी थिइन्। अर्को महिना ब्राजिलमा हुने रियो ओलम्पिकमा पनि उनले नेपालको प्रतिनिधित्व गर्दैछिन्।

स्वर्गीय पिताप्रति अवार्ड समर्पित गर्दै फुपुले आफ्नो खेलजीवनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। 'कडा मिहिनेत र सबैको साथले म यहाँसम्म आउन सफल भएको छु। आउने दिनमा अझै राम्रो गर्ने हौसला मिलेको छ,' उनले भनिन्,'ओलम्पिकमा पनि राम्रो गर्ने प्रयास गर्नेछु। मलाई सधैँ साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।'

उत्कृष्ट युवा खेलाडी चुनिएका अञ्जनले नवयुगसँगै बंगबन्धु गोल्डकप र १२ औं साग तथागतवर्ष पहिलोपटक आयोजित साफ यु–१९ च्याम्पियनसिपमा नेपाललाई सफलता दिलाउन पनि महŒवपूर्ण जिम्मेवारी पूरा गरेका थिए।यु–१९ साफमा ३ गोल गरेका अञ्जनले बंगबन्धुको फाइनलमा बहराइनविरुद्ध र सागमा सेमिफाइनलमा माल्दिभ्सविरुद्ध गोल गरेका थिए। अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा स्तरीय प्रदर्शनका कारण उनले स्पेनको मार्बेला युनाइटेडबाट युरोपमा उमेर समूहको आमन्त्रण प्रतियोगिता खेल्ने अवसरसमेत पाएका थिए।

उनले उसुकी साग स्वणधारी निमा घर्तीमगर, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी गौरिका सिंह र क्रिकेटका सन्दिप लामिछानेलाई उछिनेका थिए।

'खुसी लागेको छ। यो अवार्डले नयाँ पुस्तालाई म पनि गर्न सक्छु भन्ने भावना जाग्नेछ,' अञ्जनले भने,'गतवर्ष यु–१९ र राष्ट्रिय टिमबाट राम्रै गरेको थिएँ। तीन स्वर्ण पदक जित्दा अवार्ड जित्छु भन्ने आशा थियो।'

प्रशिक्षक महर्जन नेपालले भदौमा साफ यु–१९ र माघमा बंगबन्धु गोल्डकप जित्दा दुवै टोलीका प्रशिक्षक थिए। हाल बंगलादेशमा ब्रदर्श युनियन सम्हालिरहेका महर्जनसँगै यु–२३ च्याम्पियन बनाउने फुटबलकै राजुकाजी शाक्य, क्रिकेटका जगत टमाटा, उसुका प्रकाश महर्जन र जुडो दलबहादुर गुरुङ मनोनयनमा परेका थिए। नेपाली टोलीको मुख्य प्रशिक्षणको जिम्मेवारी पाएको पहिलो प्रतियोगितामा नै महर्जनले टोलीलाई विजयी बनाएका थिए। बंगलादेशमा रहेका महर्जनको तर्फबाट उनकी पत्नीले अवार्ड ग्रहण गरेकी थिइन्।

पिपुल्स च्वाइस अवार्डमा कुल २ लाख ८६ हजार ५ सय २१ एसएमएस मत र ११ हजार ६ सय फेसबुक लाइक हुँदा राष्ट्रिय टेबलटेनिस खेलाडी नविता विजयी भएकी हुन्। नविताले १ लाख ५० हजार ५ सय ११ मतपाएकी थिइन्। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले फेसबुकमा४ लाइकलाई १ मत मानेको थियो। दोस्रो भएकी भलिबल प्रतिभा मालीले १ लाख १६ हजार ९ सय २६ भोट पाएकी थिइन्। नविताले विजेता घोषणा हुँदा आफू आत्तिएको बताइन्। 'म खुसीको बयान गर्न सक्दिनँ। मनोनयनमा पर्दा नै गर्व लागेको थियो,' उनले भनिन्, 'त्यो मनोनयनले नेपालमा टेबलटेनिसको प्रमोसन भएको छ। आउने खेलाडीलाई पनि यसले मोटिभेट गरेको छ। अझै राम्रो गर्न प्रेरणा मिलेको छ।'

यसै वर्ष लोकप्रिय विधालाई पिपुल्स च्वाइसमा परिवर्तन गर्दा भलिबल भने पछाडि परेको छ। यसअघि भलिबलले चारपल्ट उपाधि जितेको थियो। भलिबल खेलाडी मञ्जु गुरुङ, सिपोरा गुरुङ, रमिला तण्डुकार र सरस्वती चौधरीले लोकप्रियको अवार्ड जितेका थिए।

यसपल्ट मनोनयनमा नविता र प्रतिभासँग नवयुग, सन्दीप र भारोत्तोलनकी तारादेवी पुन थिए।

पुरुष, महिला र पिपुल्स च्वाइसका विजेता खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गरे भने अन्य विधाका विजेताले जनही ५० हजार नगद पुरस्कार पाएका थिए।

हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा, एआइपिएस एसिया अध्यक्ष मोहम्मद कसिम, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, खेलकुद मन्त्रालय सहसचिव चूडामणि पौडेल, एभिन्युज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकार, द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल, अन्नपूर्ण पोस्टका सम्पादक युवराज घिमिरे, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद सदस्यसचिव केशव विष्ट, एनपिजिएका महासचिव दीपक आचार्य, होटल रोयल सिंगीको अध्यक्ष टासी घले, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सूर्य नेपालका ब्रान्ड म्यानेजर रजत थापाले अवार्ड प्रदान गरेका थिए।

प्रकाशित: ७ श्रावण २०७३ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App