७ वैशाख २०८१ शुक्रबार
अन्य

चिटिक्क विश्वविद्यालय

केही महिनाअघिसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाताभित्र जताततै फोहोर थियो । बाटो छेउछाउ प्लास्टिक र  कागजजन्य फोहोरका थुप्रा मात्र थिए ।  

विश्वविद्यालय केन्द्रीय क्याम्पसको मूल भवनलाई घेर्ने फलामे बार कतै भाँचिएका त कतै फुटेका थिए । विश्वविद्यालय हाताभित्रका विभिन्न संकायको पढाई हुने भवन वर्षौ मान्छे नबसेको ‘भूत बंगला’ जस्ता देखिन्थे । भवनको रङ खुइलिएको थियो । 

क्याम्पसका भित्तामा जताततै विद्यार्थी संगठनका भित्ते लेखन र वर्षाै अघिदेखिका पर्चा पोस्टर टाँसिएका थिए । विश्वविद्यालय पुग्ने जोसुकैलाई लाग्थ्यो–कुनै पुरानो भग्नावशेष पुगेजस्तो । 

विद्यार्थीको पहलमा प्रिन्सिपल कार्यालयबाट त्रिवि क्याम्पसको मूल भवनलगायत अन्य भवनका भत्किएका बार मर्मत गरी उठाइएका छन् । विभिन्न भवनको प्राङ्गण घेराका वर्षौंदेखि ढलेर प्रयोगमा नरहेका ढोका मर्मत गरी प्रयोगमा ल्याइएका छन् । 

अहिले भने कीर्तिपुरस्थित विश्वविद्यालय परिसर परिवर्तन भएको छ । मुलुकको जेठो सरकारी विश्वविद्यालय क्याम्पस पसिसर सुन्दर भएको छ । 

क्याम्पसको बाहिरी रूप लोभलाग्दो बन्दैछ । विश्वविद्यालय एमबिएस अन्तिम वर्षमा अध्ययनरत माधव अधिकारी भन्छन्–‘भित्रका समस्या समाधान नभए पनि बाहिरी रूप भने आकर्षक बनेको छ ।’ उनी अहिले विश्वविद्यालय सुन्दरताको नमुना बनेको बताउँछन् ।
 
वर्षौंदेखि विश्वविद्यालयको दिक्कलाग्दो अवस्था बदल्ने प्रयास गरेका हुन्, त्यहाँका विद्यार्थीले । गत वर्ष मंसिर तेस्रो सातादेखि केन्द्रीय क्याम्पस पढ्ने केही विद्यार्थीले विश्वविद्यालय परिसरको सरसफाइ थालेका थिए । हरेक साता सरसफाइ गरिरहेका उनीहरूलाई जब प्रिन्सिपल कृष्ण आचार्यले साथ दिए तब क्याम्पसको रूप नै फेरियो । 

व्यवस्थापन केन्द्रीय विभाग अध्ययनरत वरुण ज्ञवालीको नेतृत्वमा विद्यार्थीले ‘क्लिन टियु, ग्रीन टियु’ नामक अभियानमार्फत विश्वविद्यालय परिसर सरसफाइ गरेका थिए । सरसफाइ गर्न सुरु भएको अभियान अहिले विश्वविद्यालयका शैक्षिक गुणस्तर तथा नीतिगत व्यवस्था सुधार गर्ने विभिन्न अजेन्डासहित ‘विश्वविद्यालय सुधार अभियान’मा परिणत भएको छ । सरसफाइलाई समेत निरन्तरता दिने यो अभियानको नारा ‘हाम्रो टियु, राम्रो टियु’ तय गरिएको त्रिवि केन्द्रीय क्याम्पस विद्यार्थी समाजका संयोजक योगेन्द्रप्रसाद लामिछानेले बताए । 

‘सेमेस्टर प्रणालीले पठनपाठनलाई नियमित बनाइसकिएको छ भने विद्यार्थीको अभियनले क्याम्पसको वातावरण सुन्दर बनाएको छ,’ लामिछानेले भने, ‘नीतिगत तथा नियुक्तिको बेथिति र आर्थिक अनुशासनमा रहेको विसंगतिलाई छोडेर हेर्ने हो भने क्याम्पसमा निकै सुधार भएको छ ।’

विद्यार्थीले सरसफाइ गर्न थालेपछि विश्वविद्यालय क्याम्पस क्षेत्र लगभग प्लास्टिक र कागजजन्य फोहोर मुक्त भइसकेको प्रिन्सिपल कृष्ण आचार्यले बताए ।

क्याम्पस परिसरको सबै फोहोर विद्यार्थीले छ महिनायता उठाउँदै आएका छन् । ठाउँठाउँमा फोहोर हाल्न चोयाका डोका राखिएका छन् । ‘मानिसले फोहोर फाल्ने भाँडो नभएर नै बाटामै फोहोर फाल्दा रहेछन्, हामीले डोका राखेपछि डोकामै फोहोर फाल्ने गरेका छन्,’ विद्यार्थी अभियन्ता ज्ञवालीले भने, ‘फोहोर व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले हामीलाई डस्टबिन दिने भनेको छ, केहि समयपछि राम्रा डस्टबिन राखिने छन् ।’

विद्यार्थीले सुरुमा धेरै समयदेखि क्याम्पस वरपर थुपारिएका फोहोर सफा गरे । त्यसपछि क्याम्पस भवनका भित्ताका फोहोर सफा गरे । विद्यार्थीका संगठनले घडी भवनअघि राखेका सूचना पाटीको मर्मत र सरसफाइ गरी चिटिक्क पारिएको छ । 

‘मंसिरमा हामीले सुरु गर्दा प्रिन्सिपल अफिसकै बाहिरपट्टि सरसफाइ गर्न हामीलाई निकै समय लाग्यो,’ ज्ञवालीले भने, ‘त्यहाँ रक्सीका खाली बोतल, फुटेका सिसा, प्लास्टिकका खानेकुराका खोलको डंगुर निस्कियो, अहिले पूरै सफा भइसकेको छ ।’ 

विद्यार्थीको सरसफाइ अभियानको १३ औं हप्ता विश्वविद्यालय प्रिन्सिपल अफिसले पनि सहयोग गर्यो । ‘विद्यार्थीले आफैं गरेर देखाएपछि प्रशासनको बल्ल चेत खुल्यो,’ प्रिन्सिपल आचार्यले भने, ‘हामीले पनि विश्वविद्यालय सुन्दर बनाउन काम गर्न थाल्यौं ।’ 

विद्यार्थीको पहलमा प्रिन्सिपल कार्यालयबाट त्रिवि क्याम्पसको मूल भवनलगायत अन्य भवनका भत्किएका बार मर्मत गरी उठाइएका छन् । विभिन्न भवनको प्राङ्गण घेराका वर्षौंदेखि ढलेर प्रयोगमा नरहेका ढोका मर्मत गरी प्रयोगमा ल्याइएका छन् । 

त्रिविको कान्ति छात्रावास बसी अध्ययन गरिरहेका विद्यार्थी माधव अधिकारीले भने, ‘मूल भवनकै भत्किएका ढोकाबाट पसेर क्याम्पसको आँगनमा गाई चरिरहेका हुन्थे, अहिले ढोका र बार बनेपछी यहाँको बिरूवाको संरक्षण भइरहेको छ ।’ 

गएको चैतमा घडी भवन परिसरमा लगाइएका बिरुवा हुर्किंदै छ । धूपी, कपूर, तेजपात, असारे फूलका ६९ वटा बिरुवा ल्याई वृक्षरोपण गरिएको संयोजक लामिछानेले बताए । विद्यार्थी र क्याम्पस प्रशासनले संरक्षण गरिरहेको ती बिरूवाले क्याम्पस प्राङ्गणलाई निकै सुन्दर पार्कमा परिणत गरेको छ । विद्यार्थी त्यहाँ बसेर सुस्ताउने, छलफल र अध्ययन गर्न मन पराउने भइसकेको संयोजक लामिछानेले बताए । उनले भने, ‘पहिले राखिएका बेन्चका काठ जति हराएर फलाम मात्र बाँकी थिए । अहिले फलामका बेन्च पजि बनाइएका छन् ।’ 

ठूलो क्षेत्रफलमा फैलिएको विश्वविद्यालयका विभिन्न क्याम्पस तथा कार्यालय भवन नचिनेर विद्यार्थी हैरान हुन्थे । अहिले त्रिवि परिसरका कार्यालय र क्याम्पस भवन जाने प्रथप्रदर्शक चिह्न चोकचोकमा राखिएका छन् । संकेत चिन्हले गर्दा प्रशासनिक तथा अन्य भवन खोज्दा हुने हैरानी कम भएको विद्यार्थी संयोजक लामिछानेले बताए । त्यस्तै सबै क्याम्पस तथा कार्यालयका थोत्रा साइनबोर्डलाई नयाँ बोर्डले विस्थापित गरेका छन् । 

पछिल्लो समय विश्वविद्यालयको यो परिवर्तनले विद्यार्थी निकै खुसी छन् । विद्यार्थी रज्जु फसिकवले भनिन्, ‘रंगरोगन गरेर चिटिक्क क्याम्पस, सफा बाटाघाटा, हरियाली फूलबारी र पार्क देख्दा पहिलेकै विश्वविद्यालय होइन कि जस्तो लाग्छ ।’

विद्यार्थी र विश्वविद्यालय मिलेर गरे धेरै परिवर्तन हुनसक्ने उदाहरण यो अभियान बनेको संयोजक लामिछानेको भनाइ छ । स्वच्छ वातावरण र सुन्दर क्याम्पस भएपछि विद्यार्थी र शिक्षक समेत पढ्ने पढाउने जाँगर बढेको उनले बताए ।

विश्वविद्यालयको बाहिरी रूप परिवर्तन भइसकेको र भित्री पक्ष सुधार गर्न अब दबाव दिइने उनी बताउँछन् । समाजले विश्वविद्यालयको नियुक्तिमा हुने राजनीतिक भागबण्डा र हस्तक्षेप अन्त्य, अनुसन्धानका लागि लगानी वृद्धि, विश्वविद्यालयमा हुने गरेका आर्थिक अनियमितताको अनुसन्धान, छात्रावासको सुधारलगायत विभिन्न एजेन्डा लिएर अभियान थालेको छ ।

‘विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउन यसको बाहिरी र भित्री वातावरण दुवै उत्तिकै महत्त्वपूर्ण छ,’ संयोजक लामिछानेले भने, ‘बाहिरी वातावरण सुधारको प्रयास सफल भइसकेको छ, अब नीतिगत सुधारको एजेन्डामा विद्यार्थी र क्याम्पसबीच छलफल गर्छौं ।’

प्रकाशित: १९ असार २०७४ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App