७ वैशाख २०८१ शुक्रबार
अन्य

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

जनकपुर- जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार, बुधबार बिहान ८:३० देखि बिहीबार बिहान ८:३० सम्म ११८.२ मिलिलिटर वर्षा भएको छ।

यो २४ घण्टामा भएको वर्षाको पछिल्लो तथ्यांक हेर्दा झन्डै १२ वर्षयताको सर्वाधिक वर्षा हो। त्यसो त वर्षाको दर मापन हिसाबले २४ घण्टा भनिएपनि बिहीबार बिहान करिब २ बजेदेखि ५ बजेसम्म (३ घण्टा) अविरल झरी परेको थियो। सोही झरीले जनकपुरको अधिकांश भाग डुवानमा परेको छ।

‘बिहीबार बिहान ८ः३० बजेसम्म पछिल्लो २४ घण्टामा ११८.२ मिलिलिटर वर्षा भएको छ। यो वर्षकै सबैभन्दा बढी वर्षा हो,’ मौसम पूर्वानुमान शाखा प्रमुख झाले भने, ‘गतवर्ष २४ घण्टामा सर्वाधिक ८७.२ मिलिलिटरमात्रै वर्षा भएको थियो।’

केही वर्षअगाडिमात्रै जनकपुर आएकाले झाले यकिनसाथ दाबी गर्न नसकेपनि सम्भवतः ०६१ साल यता बिहीबारको वर्षा ठूलो हुनसक्ने बताए। ‘८/१० वर्षअगाडिको यो रेकर्ड हुनसक्छ,’ झाले भने, ‘जुलाई महिनाको १५ तारिखका दिन ३३९.५ मिलिलिटर वर्षा भएको थियो।’ झाले जनाएअनुसार, सन् २००४ को जुलाई १५ तारिखका दिन धेरै वर्षा भएको स्थानीय वयोवृद्ध रामकेवल यादवले बताए।

अस्पतालदेखि बस्ती सबै डुवानमा

बिहीबार बिहान भएको अविरल वर्षाले जनकपुर अञ्चल अस्पतालदेखि अधिकांश सरकारी कार्यालय र बस्ती डुवानमा परेका छन्। अञ्चल अस्पतालको इमर्जेन्सी र बहिरंग विभागमा करिब आधा फिटसम्म पानी जमेको थियो भने अस्पताल परिसरमा २ फिटसम्म पानी दिनभर जमिरहेको थियो।

जनकपुर प्रवेशद्वार पिराडी चोक, थापा चोक, मिल्स एरिया, भानु चोक, कदम चोक र अस्पतालअगाडि दिनभर पानी जमिरह्यो। अधिकांश सडक नहरजस्तै बने।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय, भूमिसुधार कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला पशुसेवा, वन, तथ्यांक विभागलगायत कार्यालय डुवानमा परेका छन्।

खासगरी अञ्चल अस्पतालपछाडिको बस्ती, देवी चोक क्षेत्र, किशोरी नगर, आनन्द नगर, बलुवा टोल, बैकुण्ठनगर, रजौललगायत बस्तीका झन्डै हजारभन्दा बढी घरमा पानी जमेको छ।

एशियाली विकास बैंकको ऋण अनुदानमा निर्माण हुन लागेको मुख्य नाला खनिएको र नगरपालिकाले नियमित सफाइमा ध्यान नदिएका कारण बस्ती डुवानमा परेको स्थानीयको गुनासो छ। ‘३ वर्षदेखि ढल निर्माणको चर्चा चलेपनि बर्सातको मुखमै आएर काम सुरु गरेपछि बस्ती डुवानमा परेको हो,’ स्थानीय बेचन साहले भने, ‘मौसमअनुकूल सडक र नाला निर्माणको कार्य सुरु नहुनुका साथै नगरपालिकाले जिम्मेवारी वहन नगर्दा पनि नागरिक समस्यामा परेका छन्।’

जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले भने बिहीबार बिहानको अविरल वर्षापछि स्काभेटर प्रयोग गरी ढल निकासको वैकल्पिक मार्ग खोल्न सुरु गरेको बताए।

प्रकाशित: ७ श्रावण २०७३ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App