फर्काइयो दुईसय वर्षे इतिहास (फोटो फिचर)

शनिबार, २४ असार २०७४, १३ : ४८ भीम चापागाईं


इलाम  – नेपालको पूर्वी सीमा टिस्टा नदीसम्म पुगेका बेला नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको २ सय वर्ष पुरानो निसान इलाममा स्थापना गरिएको छ । सुगौलीको सन्धिपछि इलाम  भित्र्याइएकाे सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षअघि यहाँबाट काठमाडौं सारिएको थियो ।

सेनाको ‘शक्तिको स्रोत’ मानिने निसान नेपाली सेनाका कायममुकायम प्रधानसेनापति रथी बलदेवराज महतले सदरमुकामको माइस्थान मन्दिरमा स्थापना गरे । निसान लिएर दुई हेलिकप्टरमा आएका महतसहितका सैनिक उच्च अधिकारीले ऐतिहासिक ‘सम्पत्ति’ निसान स्थापना गर्दा हजारौं सर्वसाधारणको सहभागिता रह्यो । ठूलो टुँडिखेलबाट र्‍याली र बाजागाजसहित इलाम चोकबजार, मालापथलगायत परिक्रममा गराइ निसानलाई माइस्थान मन्दिर पुर्‍याइएको थियो । 

मन्दिरमा स्थापना गर्ने बेला नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपादेवी’ र ‘निसान भगवती’ मान्दै पूजापाठसमेत गरेको थियो । बोकाको बलिसहित गरिएको पूजापाठपछि निसान स्थापना गरिएको हो । सशस्त्र द्वन्द्वका समयमा ‘असुरक्षा’को कारण देखाउँदै निसान काठमाडौं सारिएपछि स्थानीयले धेरैपटक विरोध जनाएका थिए । संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तसमेत निसान स्थापना समारोहमा सहभागी भए ।

निसान नेपाली सेनाको गणको प्रतीक हो । निसान विशेष किसिमको झन्डाको रूप हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणताका गठन गरेको श्रीनाथ पल्टन नेपालमा पहिलोपटक पत्थरकला (बन्दुक) चलाउने पल्टन मानिएको र त्यही पल्टनको प्रतीक भएकाले निसानलाई अमूल्य सम्पत्तिका रूपमा मानिन्छ । इलामका इतिहासकार युद्धप्रसाद वैद्य भन्छन्, ‘इलामका लागि निसान गौरवको विषय हो, जसले हामीलाई टिस्टा पुगेको सुखद् अनुभूति दिन्छ ।

सिक्किमले कब्जा गरेको इलामको टिस्टासम्मको भाग फिर्ता गराउन पृथ्वीनारायण शाहले तत्कालीन सेनाप्रमुख अभिमानसिंह बस्नेत र पारथ भण्डारीलाई निर्देशन दिएका थिए । त्यसैअनुरूप, गंगानन्द आचार्य र विश्वामित्र उपाध्यायलाई सिक्किमे राजाकहाँ दूत पठाउँदा र १८३१ साल असोज १ मा सिक्किमे राजाले इलामको भूमि फिर्ता गर्ने सन्धिपत्रमा हस्ताक्षर गरेको इतिहास छ ।

त्यही हस्ताक्षरपछि नेपालको पूर्वी सीमा टिस्टा कायम भएपछि  टिस्टाको नागरी (हाल दार्जिलिङको नागरी कमान) मा सेनाले निसान राखेको इतिहासकार वैद्यद्वारा लिखित पुस्तकमा उल्लेख छ । ‘१८४४ सालमा नेपाल–सिक्किम युद्ध हुँदा सिक्किमको पहाड–र मधेस (महानदीसम्म नेपालको सीमा पुगेको थियो,’ पुस्तकमा उल्लेख छ, ‘यो विजयमा श्रीनाथ पल्टनको बहादुरीको भूमिका थियो ।’ 

१८७० देखि १८७२ सम्म चलेको नेपाल–अंग्रेज युद्ध १८७२ फागुन १० मा सुगौलीको सन्धिसँगै समाप्त भएपछि अहिलेको पूर्वी सीमा सिंहलीला पर्वतको पानीढलो र मेची नदी कायम भएको हो । सन्धिपछि नेपाली सेना फर्केर इलामको पूर्वी करफोक आउँदा निसान करफोकमै थियो । तर, भारतीय सीमाको नजिक पर्ने भएकाले त्यहाँबाट अझ पश्चिम साविक नामसालिङ गाविस ल्याएर राखियो । त्यसको केही समयपछि अहिलेको इलाम सदरमुकाममा निसान ल्याएर राखेको इतिहास छ । हरेक दसैंको फूलपातीमा सेना र सर्वसाधारणले निसान पूजा गर्ने र फूलपाती  भित्र्याउने चलन थियो । चैते दसैं र अन्य दर्जनौं अवसरमा ठूलो समूहले निसानको सामूहिक पूजा गर्ने चलन थियो ।

तर, सेनाले सशस्त्र द्वन्द्वका बेला २०५९ वैशाख २६ मा यो निसान काठमाडौं सारेको थियो । निसान फिर्ता ल्याउन इलामबासीले पटक–पटक माग गरेका थिए । २०७३ मंसिरमा १२ मा नेपाली सेनाको जंगी अड्डामा विशेष अनुरोध गरेपछि भने निसान इलाम पुनः फर्काउने निर्णय भएको थियो । 

‘निसान यहाँ आउनु इलामको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति थपिनु हो,’ संविधानसभाका पूर्वअध्यक्ष नेम्बाङले निसान स्थापनापछि आयोजित समारोहमा भने, ‘म इलाम आउँदा हरेक चोटी माइस्थान आएर निसान दर्शन गरी फर्किन्थें, निसान काठमाडौं लगिएपछि चाहिँ आजै हो यो आँगन टेकेको ।’

तस्बिरहरू सबै : भीम चापागाईं 













यसमा तपाईको मत

अन्य समाचार

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...

नेवारी सिर्जनालाई ‘पिपल्स च्वाइस अवार्ड’

पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेस्रो संस्करण आइतबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । ने.सं. ११३३ देखि ने.सं. ११३७...

‘मिस युनिभर्स’मा नग्मा

‘मिस युनिभर्स’मा नग्मा

अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन्...

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार...