८ वैशाख २०८१ शनिबार
राजनीति

दार्जिलिङमा सुरक्षाकर्मीको गोलीले ३ को मृत्यु

शनिबार दार्जिलिङ जज बजारस्थित तृणमूल कंग्रेसको कार्यालयमा गरिएको आगजनी। तस्बिर स्रोत: खबरम्याग्जिन

इलाम- अलग गोर्खाल्यान्ड राज्य माग गर्दै भारतको पश्चिम बंगालमा आन्दोलनरत गोर्खामाथि सुरक्षाकर्मीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ। शुक्रबार राति सोनादामा सुरक्षाकर्मीले चलाएको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का कार्यकर्ता टासी भोटियाको मृत्यु भएको थियो।

                घटनाको विरोध गर्दै गोर्खाल्यान्ड समर्थकले शनिबार दार्जिलिङमा निकालेको र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा थप २ जनाको मृत्यु भएको हो । गोर्खाल्यान्ड समर्थकसँग भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तुङसुङका सुरज सुन्दासको मृत्यु भएको छ । दुवै घटनाको विरोधमा दार्जिलिङकै सिंहमारीमा भएको प्रदर्शनमा पुनः सुरक्षाकर्मीले गोली चलाउँदा रोपवेका समीर गुरुङको मृत्यु भएको आन्दोलनरत गोर्खा जनमुक्ति  मोर्चाले जनाएको छ । दुवैको घाँटी र टाउकामा गोली लागेका दुवैको घटनास्थलमै मृत्यु भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि पनि खुकुरी प्रहार गरेका थिए । तर, हताहतीको यकिन विवरण आउन बाँकी नै रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

                शुक्रबार राति ११ बजेतिर सोनादामा औषधि किन्न पसल जाँदै गोर्खाल्यान्ड समर्थक टासीलगायतका युवा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले गोली चलाउँदा टासीको घटनास्थलमै मृत्यु भएको गोरामुमो नेता निरज जिम्बाले जानकारी दिए। ‘स्थानीयले टासीको शव प्रहरी थानाअघि राखेर बंगालका सुरक्षाकर्मीविरुद्ध नाराबाजी गरेका छन्,’ उनले भने, ‘सिआरपी (सेन्ट्रल पुलिस रिजर्भ फोर्स)ले निर्दोष युवकमाथि अनाहकमा गोली चलायो।’          टासीको मृत्युपछि शनिबार दार्जिलिङलगायत क्षेत्रमा पुनः तनाव बढेको हो । प्रदर्शन नियन्त्रण गर्न दार्जिलिङमा पुनः सेना सडकमा आएको छ । बिहान ११ बजेतिर सुरु प्रदर्शनले आर्ट ग्यालरी, दार्जिलिङ बजारलगायत क्षेत्रमा तनाव बढाएपछि साँझ ४ बजेतिर सेना सडकमा आएको थियो । त्यसपछि पनि टियर ग्यास प्रहार गर्ने, गोली चल्ने गरेका दृश्य देखिएको तर घटनाको विस्तृत विवरण आइनसकेको पत्रकार मनोज बोगटीले शनिबार साँझ बताए । उनले भने, ‘सिआरपी (सेन्ट्रल पुलिस रिजर्भ फोर्स) ले दार्जिलिङमा पत्रकारहरूलाई समाचार संप्रेषण गर्नसमेत दिएको छैन ।’ प्रदर्शनक्रममा दार्जिलिङगायत क्षेत्रमा सरकारी सवारी र भवनसमेत जलाइएका छन् ।

                आक्रोशित स्थानीयले केही महीनाअघि राखिएका बजार क्षेत्रका सिसी टिभी तोडफोड गरेका छन्। दार्जिलिङस्थित डिएसपी र ट्राफिक पुलिस कार्यालयभित्रबाट विभिन्न सामग्री निकालेर प्रदर्शनकारीले आगो लगाइदिएका छन् । जज बजारस्थित तृणमूल कंग्रेसको कार्यालयमा पनि आगो लगाइएको छ । पश्चिम बंगाल मुख्यमन्त्री ममता बेनर्जीले भने सोनादामा भएको गोलीकाण्डलाई ‘दुर्घटना’को संज्ञा दिएकी छिन् । ‘दार्जिलिङको घटना प्रायोजित हो, यसको सम्बन्ध अन्तर्राष्ट्रियस्तरमा छ,’ उनले भनेकी छिन्, ‘पहाडमा खाद्यान्न लैजान दिनुपर्छ, स्कूल खोल्नुपर्छ । त्यहाँ ‘दार्जिलिङको स्थिति सामान्य भए चाँडै बैठक बोलाउने छौं ।’

                गोर्खाल्यान्ड आन्दोलनलाई नै लिएर भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा महिना दिनअघि ३ जनाको मृत्यु भएको थियो । राज्य सरकारले कुनै अधिकार नदिएको भन्दै गोर्खा जनमुक्ति मोर्चाआबद्ध गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) का सभासद्ले यसअघि नै पद त्यागेर आन्दोलन गरिरहेका छन् । ‘हाम्रो अहिलेको एकमात्र माग गोर्खाल्यान्ड नै हो, अन्य कुनै विषयमा छलफल गर्दैनौं,’ मोर्चा महासचिव रोशन गिरी भन्छन्, ‘सरकारले हामीमाथि अन्धाधुन्दा गोली चलाइरहेको छ ।’

                भाषाको विषयलाई लिएर दार्जिलिङमा ८ जुनयता दिनहुँ तनाव भइरहेको थियो । शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको मोर्चाले १५ जुनमा अकास्मात् आमहड्ताल आह्वान गरेपछि अहिलेसम्म खुल्न सकेको छैन । आन्दोलनकारीको अनिश्चितकालीन आमहड्तालका कारण दार्जिलिङसहित, मिरिक, कालेम्पोङ, डुवर्सलगायत क्षेत्र ठप्प छन् । बन्दका कारण यातायात, बजार, पसल, होटल, स्कुल, उद्योग, कलकारखाना लगायत सबै ठप्प छन् । १४ र १५ मा पनि यहाँका चिया मजदुरले सेवा–सुविधा वृद्धको माग राख्दै आमहड्ताल गरेका थिए । बन्द जारी रहेका बेला प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्तामाथि जुन १७ मा गोली प्रहार हुँदा मोर्चाका ३ कार्यकर्ताको मृत्यु भएको थियो ।

 

 

 

प्रकाशित: २४ असार २०७४ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App