८ वैशाख २०८१ शनिबार
राजनीति

को को छन् देउवाका सारथि

काठमाडौं – जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । तर, पार्टीको मूल कमान्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कँदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समूह बनाउन सकेका छैनन् ।

देउवाले आफ्नो सहयोगी समूह बनाउन नसक्दा राज्य र पार्टी सञ्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छिन् । एक हिसाबले भन्ने हो भने प्रधानमन्त्री देउवाको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर उनै आरजु देखिएकी छन् । स्थानीय तहको दोस्रो चरण निर्वाचनअन्तर्गत गृह जिल्ला डडेल्धुरामा टिकट वितरणमा पनि आरजु हाबी हुँदा कांग्रेसले त्यहाँ पराजय भोग्नुपर्‍याे। 

त्यति मात्र होइन, सल्लाहकार तथा सहयोगीको टोली नभएकै कारण देउवा विभिन्न सार्वजानिक कार्यक्रममा हाँसोको पात्र हुन थालेका छन् । त्यसमध्ये पछिल्लो सप्तरीको घटनालाई लिन सकिन्छ । प्रधानमन्त्री देउवा बाढीपीडितको अवस्था बुझ्न शुक्रबार सत्ता साझेदार र विपक्षी दलका सांसदसहित सप्तरी पुगे । प्रभावित क्षेत्रको अवलोकनपछि उनले राहतको प्याकेज घोषणाका लागि आफ्नो भाषण पढ्नुपर्ने ठाउँमा पूर्व सिँचाइमन्त्री उमेश यादवले दिएको ज्ञापनपत्र पढ्न थाले जसमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानमा नदी नियन्त्रणका नाममा भ्रष्टाचार भएको र त्यसको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग थियो । प्रधानमन्त्रीले ज्ञापनपत्र पढ्न थालेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारीले ‘अर्को प¥यो हजुर’ भन्दै सम्झाए ।  एक हिसाबले भन्ने हो भने भरपर्दो सल्लाहकार र सहयोगी नहुँदा प्रधानमन्त्री देउवा  हाँसोको पात्र भएका हुन् । तैपनि उनले सचिवालय र सहयोगी समूह गठन गर्न सकेका छैनन् । 

आखिर यतिखेर प्रधानमन्त्री देउवालाई कसले सहयोग गरिरहेका छन् ? मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्दा पनि भतिज भानु देउवा र वीरेन्द्र मल्ल मात्रै उनको सहयोगीका रूपमा छन् । यद्यपि, उनीहरूलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भने गरिएको छैन । दुवैले पार्टी सभापतिको सचिवालयकै हैसियतमा काम गरिरहेका छन् भने संसदीय दलका नेताको निजी सचिवको जिम्मेवारीमा नियुक्त केशवराज जोशीले पनि सचिवालयको काममा सहयोग गर्दै आएका छन् । 

प्रधानमन्त्री देउवालाई विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँणसहितका नेताले राजनीतिक विषयमा सहयोग गर्दै आएका छन् । एउटा समय निधिलाई देउवाको ‘माउथ पिस’ को उपमा दिने गरे पनि पछिल्लो पटक प्रहरी प्रमुखको नियुक्तिको विषयलाई लिएर सम्बन्ध केही चिसिन पुगेको छ । यद्यपि, सत्ता साझेदारी, मन्त्रालय बाँडफाँटसहितका विषयमा निधि नै दलीय छलफलमा छन् । निधिलाई अर्थमन्त्रीसमेत रहेका अर्का नेता कार्कीले सहयोग गरिरहेका छन् ।

नेविसंघ अध्यक्ष हुँदै पार्टी राजनीतिमा आफ्नो छुट्टै छवि बनाएका निधि पार्टीभित्र र अन्तरपार्टी छलफलमा उत्तिकै सक्रिय छन् । देउवाले आफ्नो सल्लाहकार समूहमा सहभागी गराएको अवस्थामा परराष्ट्र सल्लाहकारको जिम्मेवारी निर्वाह गर्ने तयारीमा पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत छन् । महत देउवाका प्रिय पात्र पनि हुन् । महत स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रचारका लागि देउवासँगै सुदूरपश्चिमका विभिन्न जिल्लासमेत पुगेका थिए । 

बीपी कोइरालाले पत्याएका नेता हुन् ज्ञानेन्द्रबहादुर कार्की । गणेशमान सिंह हुँदै निरन्तर देउवा क्याम्पमा रहेका र अहिले अर्थमन्त्रीसमेत रहेका कार्की पछिल्ला दिनमा देउवासँग नियमित छलफलमा जुट्ने नेता हुन् । भद्र र कम बोल्ने कार्कीले उनलाई पार्टीभित्र र बाहिरको राजनीतिक अवस्थाका विषयमा सल्लाह र सहयोग गर्दै आएका छन् ।

देउवाले अर्को भर गर्ने नेता हुन्, रमेश लेखक । कानुनी पृष्ठभूमि भएका लेखकसँग संवैधानिक र कानुनी रूपमा मात्र नभएर राजनीतिक वार्ता र छलफलमा पनि सहभागी गराउने र छलफल गर्ने गरेका छन्, देउवाले ।

त्यस्तै, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, महालक्ष्मी उपाध्याय, एनपी साउद, रमेश रिजाल, मीन विकसहितका नेताहरूलाई पनि देउवा कोटरीका रूपमा हेर्ने गरिएको छ । पछिल्लो समय ‘क्याम्प’ परिर्वतन गरेका विश्वप्रकाश शर्मालाई देउवाले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्ने तयारीमा रहेको निकटहरूको दाबी छ । त्यस्तै प्रेस सल्लाहकारमा बद्री सिग्देलको नाम चर्चामा रहे पनि आधा दर्जन बढी सक्रिय छन् । 

प्रकाशित: २५ असार २०७४ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App