coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बेहुलीझैं  भित्र्याइँदै जनप्रतिनिधि, हार बिर्संदै पराजयी

इलामको रोङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्न गाउँपालिका कार्यालयको गेटमा बसेका पञ्चकन्या । तस्बिर : भीम चापागाईं

इलाम – धुपी–सल्लाको हरियो गेटमा टाँगिएको ब्यानरमा लेखिएको छ– नवनिर्वाचित जनप्रतिनिधिलाई हार्दिक स्वागत गर्दछौं । गेटको दुवै छेउमा फूलमालासहित उभिएका छन् पञ्चकन्या । कुनै विवाह, उत्सव वा ठूलो चाडमा झैं सजाइएको घरजस्तो देखिन्छ वरिपरि । आँखा झिमिक्क नगरी बाटो हेरेर ‘नयाँ पाहुना’ कुरिरहेको छ एउटा ठूलो हुल ।

रोङ गाउँपालिका कार्यालय परिसरमा बुधबार भेला भएका स्थानीय निकै हौसिएका देखिन्थे । करिब दुई दशक खाली रहेको स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि धेरैले विकास र समृद्धिका सपना साटिरहेका थिए । कोही भन्दै थिए– अब गाउँगाउँमा सडक पुग्ला, बिजुली पुग्दा, मोबाइलमा पटकपटक ‘हेल्लो हेल्लो’ भन्दा पनि नसुनिएर फोन नै काट्नु नपर्ला, एकैपटक ‘हेल्लो’ गरेपछि बोली बुझिएला । दुई नातिनातिनासहित हुलमा मिसिएकी ८०–८५ वर्ष उमेरकी देखिने लोपोन्मुख लाप्चा समुदायकी वृद्धा नागरिक संवाददातासँग सोध्दैथिइन्, ‘अब हाम्रो महिनावारी खर्च (वृद्धभत्ता) कति पुर्‍याउँछन् रे बाबु ?’

बालबच्चादेखि वृद्धवृद्धासम्मको प्रतीक्षा भंग गर्दै दौरासुरुवाल र ढाकाटोपीमा ठाँटिएर आइपुगे नवनिर्वाचित गाउँपालिका अध्यक्ष समशेर राई । सँगै आइपुगे उपाध्यक्ष चन्द्रकला राईसहित ६ वटा वडाका वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्य । आफ्ना जनप्रतिनिधिलाई पञ्चकन्याले गेटमै फूलमाला टक्र्याए । इलामका सिडिओ जनकराज दाहाल, स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्कालगायत जिल्लाका गन्यमान्यले पहिलै नमस्कारको सम्मान र बधाई पनि दिए । जनप्रतिनिधिको मुहार उजेलियो । तर, उनीहरूभन्दा उजेलिए र गद्गद भए रोङ गाउँपालिकावासी ।

तामझामसाथ आयोजना गरिएको जनप्रतिनिधिको ‘शपथ ग्रहण समारोह’ निकै वर्षपछिको पर्खाइ थियो रोङवासीको । मेची राजमार्गले छोएको भए पनि सञ्चार सम्पर्कका हिसाबले निकै दुर्गम छ रोङ गाउँपालिका । चाहेका बेला फोन लाग्दैन, लागिहाले पनि सुनिँदैन । कतिपय टोलमा खानेपानी, सिँचाइ, सडक, पुलपुलेसा नहुँदा सास्ती बेहोरिरहेका स्थानीय बासिन्दा गाउँमा जनप्रतिनिधि आउँदा हर्षित थिए । ‘२० वर्षपछि हामीले नजिकका आफ्ना नेता पाएका छौं,’ स्थानीय गोपाल निरौलाले भने, ‘गाउँको विकास काठमाडौंका नेतालाई जिताएर मात्र नहुने रहेछ । छिमेकीको खानेपानी, बाटो, पुल, सिँचाइको अवस्था कस्तो छ भन्ने त छिमेकी जनप्रतिनिधिलाई नै धेरै थाहा हुन्छ नि !’

गाउँवासीका दर्जनौं सपनाका अगाडि अध्यक्ष समशेर, उपाध्यक्ष चन्द्रकला र वडाध्यक्षहरूले निर्वाचन अधिकृतबाट शपथ लिए । वडा सदस्यले पनि गाउँपालिका अध्यक्षबाट शपथ लिए । नवनिर्वाचित जनप्रतिनिधिको समूहलाई रोङ गाउँवासी, जिल्लावासी, कर्मचारी र उनकै दलका प्रतिनिधि मात्र होइन, गाउँपालिका अध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेका बृहस्पति खतिवडा, माओवादीका नवराज कट्टेललगायले पनि खुलेर बधाई तथा शुभकामना दिए । खतिवडाले सबैका अगाडि भने, ‘चुनावी प्रतिस्पर्धाको नतिजा जस्तो भए पनि सबैले सँगसँगै हिँड्नुपर्छ ।’ 

अध्यक्षकै अर्का प्रतिस्पर्धी कट्टेलले रोङ गाउँपालिका अध्यक्षमा निर्वाचित राईको जितलाई उनको मात्र नभई सबै दलको जितका रूपमा लिनुपर्ने बताए । खतिवडा र कट्टेलको भनाइको समर्थनमा हलमा सहभागी सयौंले तालीको वर्षा गराइहाले । 

नवनिर्वाचित अध्यक्ष पनि चुप लागेर, गमक्क परेर बसेनन् । खतिवडा र कट्टेललाई स्टेजमै बोलाएर खादा ओढाउँदै सम्मान गरे ।  धन्यवाद र आउँदो राजनीतिक यात्राका लागि धन्यवाद दिए । ‘यो जित न मेरो मात्रै हो, न कांग्रेसको मात्रै,’ उनले भावुक हुँदै भने, ‘यो सारा गाउँपालिकावासीको जित हो र देशको पनि ।’ उनले १० वर्षसम्म सशस्त्र द्वन्द्वमा गुज्रिएको समय, त्यसपछि जनप्रतिनिधिविहीन अवस्था गरी करिब २५ वर्षदेखि थुप्रिएको जनप्रतिनिधिको जिम्मेवारी आफ्नो काँधमा आएको अनुभव गरेको बताए । उनले भने, ‘हामी अब कुनै दलका होइनौं, सबै गाउँवासी र देशका प्रतिनिधि भएका छौं ।’

असार १४ मा सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आएपछि जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको शपथ लिने क्रम चलिरहेको छ । दुई दशकपछि भएको स्थानीय निर्वाचनबाट आएका जनप्रतिनिधिलाई कार्यालयमा भित्र्याउन कर्मचारीदेखि दलका नेता–कार्यकर्ता र सर्वसाधारणको सहभागिता पनि उत्तिकै छ । 

त्यतिमात्र होइन, जो पराजित भएका छन्, उनीहरूले समेत निर्वाचित जनप्रतिनिधिलाई धमाधम फूलमाला लगाएर बधाईसँगै शुभकामना दिइरहेका छन् । इलाम नगरपालिकाको मेयर पदमा विजयी महेश बस्नेतलाई मेयरका प्रत्यासी हिमालय कर्माचार्यले औपचारिक रूपमा बधाई दिए । जनप्रतिनिधिको शपथ ग्रहण समारोहमा पुगेका नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका कर्माचार्यले हात मिलाएर अंकमाल गर्दै मेयर बस्नेतलाई ‘बधाई छ, बधाई’ भन्दा नगरसभाको हल तालीले गुन्जियो । 

पूर्वमेयरद्वय बस्नेत र कर्माचार्यको २० वर्षपछिको ठ्याक्कै उही संयोगले पनि धेरैको ध्यान खिच्यो । कर्माचार्य २०४३ सालमा इलाम नगरपालिकाको मेयर भएका थिए भने बस्नेत २०५४ सालमा । २० वर्षअघिको स्थानीय निर्वाचनमा बस्नेतले कर्माचार्यलाई ७३ मतले पराजित गरेका थिए । अहिले पनि बस्नेत र कर्माचार्यकै प्रतिस्पर्धा दोहोरिँदा बस्नेतले १७ सय ६५ मतले कर्माचार्यलाई पराजित गरेका हुन् । 

संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङले समेत गृहजिल्ला इलाम आएर नेकपा एमालेका जिल्ला सचिवसमेत रहेका मेयर बस्नेतलाई बधाई र शुभकामना दिए । 

माईजोगमाई गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जितबहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराईलाई पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गरी बधाई दिँदा अध्यक्षका निकटतम प्रतिद्वन्द्वी सिटी शेर्पा जिल्लामै चर्चित छन् । एमालेबाट अध्यक्ष–उपाध्यक्षसहित अधिक पदमा विजय हासिल गरेका जनप्रतिनिधिलाई कांग्रेसले औपचारिक बधाई र शुभकामना दिएपछि यसको प्रशंसाले सामाजिक सञ्जालसमेत भरिएका छन् । जिल्लाकै माई नगरपालिकामा एमालेबाट मेयरमा विजयी दीपक थेबे र उपप्रमुख विष्णुमाया आचार्यसहितका जनप्रतिनिधिलाई मेयरका प्रत्यासी कांग्रेसका विष्णु कार्कीले पनि उसैगरी बधाई र शुभकामना दिए । कांग्रेसका युवा नेता कार्कीको यो कार्यलाई पनि सकारात्मक सिकाइका रूपमा लिइएको छ । एकपछि अर्काे स्थानीय तहका जनप्रतिनिधिलाई पराजित उम्मेदवारले फूलमाला र अबिरसहित बधाई र शुभकामना दिनुलाई जिल्लामा ‘लोकतन्त्रको सफल अभ्यास’को संज्ञा दिइँदैछ । निर्वाचनलाई साँच्चिकै लोकतन्त्रको गहनाका रूपमा अथ्र्याइँदैछ ।

 दुई दशकपछि आएका जनप्रतिनिधिका लागि स्थानीय तहमा रहेको भौतिक सुविधाअनुसार कार्यकक्ष व्यवस्थापन गरिएको छ । जनप्रतिनिधिका कार्यालय सिँगारिएका छन् । रङरोगन गरिएको छ । जनप्रतिनिधिलाई उच्च सम्मानसाथ स्थानीय तहमा आसीन गराउन सदरमुकाम मात्र होइन, दुर्गमका गाउँले पनि उत्तिकै जोसका साथ लागिपरेका छन् । सदरमुकामको पुरानो शिक्षा कार्यालयलाई सिँगारेर जनप्रतिनिधि राख्ने व्यवस्था मिलाइएको छ । साविक गाविसका कार्यालय पनि सिँगारिएका छन् । साँघुरो भवन भएका कार्यालयमा केही समस्या रहे पनि विस्तारै सहज बनाउने योजना रहेको ती कार्यालयका कर्मचारीको भनाइ छ । 

प्रकाशित: २५ असार २०७४ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App